लयमा फर्कँदै राजर्षिक जनक विश्वविद्यालय

[mashshare]

कर्मचारीको आठ महिनाको तलब निकासा
स्नातक तहमा छ विषयका कार्यव्रmम थपिँदै
विश्वविद्यालयमा ७५० विद्यार्थी अध्ययनरत
नयाँ शैक्षिक कार्यक्रममा २४९ आवेदन प्राप्त

वीरेन्द्र रमण
जनकपुरधाम ।
पदाधिकारीको गैरजिम्मेवारीपन, राजनीतिक हस्क्षेप र विद्यार्थीले विभिन्न कालखण्डमा चलाउने आन्दोलनले अस्तव्यस्त राजर्षि जनक विश्वविद्यालय लयमा फर्कन थालेको छ । नयाँ पदाधिकारी नियुक्तिपछि चुस्त व्यवस्थापनका कारण विश्वविद्यालयले लय लिन लागेको हो ।

नयाँ पदाधिकारी आएपछि विश्वविद्यालयमा कर्मचारीको आठ महिनाको बाँकी तलब निकासा गर्दै विश्वविद्यालयमा देखिएका समस्या सुधार गर्दै अगाडि बढ्न थालेपछि विश्वविद्यालयले गति लिएको छ । उपकुलपति अमर प्रसाद यादवले विश्वविद्यालयमा विगतमा सञ्चालन गर्दै आएको कार्यक्रमलाई यथावत राख्दै यो शैक्षिक सत्रदेखि स्नातक तहमा थप छ विषयका कार्यव्रmम सञ्चालन गर्ने जानकारी दिए । उनले आफू उपकुलपति बनेर आउँदा परीक्षाको परिणाम प्रकाशित नभएको, कर्मचारीले तलब नपाएको जस्ता समस्या देखिएको बताउँदै तत्काल समस्या समाधान गर्दै विश्वविद्यालय अगाडि बढेको बताए ।

उनले विश्वविद्यालयको आर्थिक वर्ष २०८०–८१ को प्रगति विवरण सार्वजनिक गर्दै विश्वविद्यालयले आव २०८१–८२ देखि स्नातक तहमा सूचना प्रविधि, कृषि विज्ञान, कम्प्युटर इन्जिनियरिङ, डिजिटल बिजनेस म्यानेजमेन्ट, पत्रकारिता तथा आमसञ्चार र एजुकेसन इन इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी जस्ता थप शैक्षिक कार्यव्रmम सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । उनले रौतहटको गौरमा साइन्स इन एग्रिकल्चर र ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) तथा बाराको महागढीमाईमा आङ्गिक आइटी क्याम्पस यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने जानकारी गराए ।

यादवले जग्गा अभावमा विश्विद्यालयले समस्या भोगिरहेको बताउँदै यसका लागि गुठी संस्थानसँग धनुषाको नगराईन नगरपालिकामा जग्गा व्यवस्था गरिएको जानकारी दिए । उनले जग्गा व्यवस्था भएसँगै अब भवन निर्माण कार्य अगाडि बढाइनेसमेत जानकारी दिए । नगराईन नगरपालिका फुलगामास्थित केन्द्रीय गुठी संस्थानसँग नौ बिघा १४ कट्ठा जग्गा लिजमा लिइएको छ भने चाँडै नै जग्गामा विद्यालयको आवश्यक सङ्कायका लागि निर्माण कार्य प्रारम्भ गरिने छ ।

गतवर्षदेखि महोत्तरीको गौशालामा स्नातक तहको सिभिल इञ्जिनियर विषयको ४८ सिटमा अध्ययन अध्यापन भइरहेको छ । साथै, मानविकी तथा कानून संकायअन्तर्गत दर्शनाचार्यको शैक्षिक कार्यक्रममा २० विद्यार्थी भर्ना भएका छन्, जसअन्तर्गत प्रथम सेमेस्टरको कक्षा अनलाइनबाट भइरहेको छ । यसैगरी, विश्वविद्यालयले परीक्षाफल प्रकाशन कार्यलाई पारदर्शी बनाउन अत्याधुनिक वेबसाइट निर्माण गरी विद्यालयलाई पूर्णरूपमा डिजिटलाइज बनाउन विभिन्न कार्य थालनी गरेको छ ।

अहिले विश्वविद्यालयद्वारा सञ्चालित कोर्समा ७ सय ५० विद्यार्थी अध्ययनरत छन् । आंशिक तथा स्थायी ६० प्राध्यापक र ५० कर्मचारी कार्यरत छन् । विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सूचना आह्वान गर्दा देशभरबाट २ सय ४९ आवेदन परेको जनाइएको छ । विश्वविद्यालयअन्तर्गत जनकपुरधाम र गौशाला इञ्जिनियरिङ क्याम्पस, महोत्तरीमा बिबिए, एमबिए, बिपिएच, बिएससी एमएलटी, बिसिए, बिएससी, सिएस आइटी, बिए, एलएलबी, बिई सिभिल तथा एमफिल इन्टर्न फेलोसिप यथावत् छन् भने विश्वविद्यालयका विभिन्न सङ्कायमा ७ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालय प्रख्यात विश्वविद्यालय र संस्थानसँग रणनीतिक साझेदार बनेको छ । सहकार्यहरुले विद्यार्थी र संकाय आदानप्रदान, संयुक्त अनुसन्धान परियोजना र अन्र्तराष्ट्रिय सम्मेलनको संयुक्त आयोजनालगायतका शैक्षिक समृद्धि हासिलमा सहयोग पुग्ने बताइएको छ । साथै, विश्वविद्यालयले अनुसन्धान अगाडि बढाउने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button