
वीरेन्द्र रमण
जनकपुरधाम ।
उच्च अदालत जनकपुरले रीतपूर्वक निवेदन नआएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता अभिराम शर्माको निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । मधेश आन्दोलनक्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
शर्मासहित अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भनिने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैद फैसला सुनाएको हो । फैसला आए लगत्तै उनीहरु फरार छन् । फरार रहेको अवस्थामा हुलाकमार्फत उच्च अदालत जनकपुरमा फैसलाविरुद्ध निवेदन दर्ता गर्न पठाएको थियो । तर अदालतले निवेदन रीतपूर्वक नआएका कारण दर्ता गर्न अस्वीकार गरेको छ । उच्च अदालत जनकपुरका उपरजिष्ट्रार एवम् प्रवक्ता सुशिलकुमार यादवले कुनै पनि निवेदन रीतपूर्वक आउनुपर्ने हो तर रीतपूवर्क नआएका कारण दर्ता नगरिएको जानकारी दिए ।
मधेश आन्दोलनक्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । उच्च अदालतले हुलाकमार्फत निवेदन दर्ता गर्न अस्वीकार गरेपछि शर्मा केही दिनमा अदालतमा आत्मसमर्पण गर्ने तयारीमा रहेको स्रोतले बताएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले घटनाको राजनीतिक र कानुनी दुवै हिसाबले लडिने बताए । उनले मधेश आन्दोलन राजनीतिक आन्दोलन भएकाले त्यसमा भएको घटना राजनीतिक रहेको बताउँदै अदालतले गरेको फैसलालाई आफूहरुले अस्वीकार गर्दै कानुनीरुपमा समेत लडाइँ लडिने बताए ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शर्माकोको सेवासुविधा प्रदेश सभाले रोकेको बताउँदै उनले म्याद थामे पुनरावेदन गर्ने अधिकार रहेको बताउँदै १० गतेसम्म पुनरावेदन नगरेको खण्डमा आफैँ फरार अभियुक्त हुने भएकाले १० गतेसम्म पुनरावेदन नगरिए प्रदेश सभा सदस्यबाट निलम्बन गरिने जानकारी दिए ।






