दुई वर्ष पुराना केमिकलबाट उपचारपछि छापा

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ

[mashshare]

वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंज, वाणिज्य कार्यालयलगायतका प्रतिनिधि सहभागी संयुक्त अनुगमनमा कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ३३ प्रकारका ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको भेटिएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् ।

मधेशदृष्टि
वीरगंज ।
शेयर हस्तान्तरणका विषयलाई लिएर पारिवारिक झमेलामा मुछिएको नेशनल मेडिकल कलेजमा अर्को बदमासी भेटिएको छ । कलेजले उपचारक्रममा प्रयोग गरिरहेको केमिकल दुई वर्ष पुरानो अर्थात् दुई वर्षअघि नै म्याद सकिएको पाइएको हो । वीरगंज महानगरसहित सरोकारवाला ठूलो समूहले गरेको अनुगमन र छापामा कलेजको यस्तो बदमासी पाइएपछि दुई जना त पक्राउ नै परेका छन् ।

कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको भेटिएको हो । वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा यस्तो बदमासी गरेको पाइएपछि प्रबन्ध निर्देशक र ल्याब प्रमुखसमेत पक्राउ परेका छन् । संयुक्त अनुगमन टोलीले मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ प्रकारका केमिकल र रिएजेन्टसहित प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले मेडिकल कलेजको ल्याबमा छापा मारेर मेडिकल कलेजसँग सम्बन्धित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे ।

पर्सा प्रहरीका अनुसार मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका हुन् । संयुक्त अनुगमनमा वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंज, वाणिज्य कार्यालयलगायतका प्रतिनिधि सहभागी थिए ।

वीरगंज महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य सचिव विपीनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशाला निरीक्षणमा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको बताए । ‘संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट जफत गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ,’ उनले भने, ‘केमिकल तथा रिएजेन्ट गरेर करिब ३३ प्रकृतिका भेट्टिएका छन् ।’

सदस्य सचिव लालदासले प्रयोगशालामा प्रयोग हुने केमिकल नै म्याद गुज्रेको पाइएपछि आउने रिपोर्टमै विश्वासनीयता नहुने गरी कलेजको उपचारमै प्रश्नचिह्न उब्जिएको बताए । ‘केमिकल तथा रिएजेन्टको पोटेन्सियल नै कमजोर भएपछि रिपोर्टको नतिजामा प्रत्यक्ष असर पर्ने देखिन्छ,’ उनले भने, ‘कोही मधुमेहको परीक्षण गर्न जानुभयो, तर म्याद गुज्रिएको रिएजेन्ट प्रयोग गरेपछि कस्तो नतिजा आउँला ?, मानिसको जनस्वास्थ्यको सवालमा यस्तो हेलचेक्क्राइ गर्नुहुँदैन ।’

सदस्य सचिव लालदासले प्रयोगशालामा भेट्टिएको केमिकल तथा रिएजेन्ट दुई वर्षदेखि म्याद गुज्रिएको भेटिएको जानकारी दिए । पक्राउ परेका दुई जनालाई पर्सा प्रहरी कार्यालयमा बयान लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । संयुक्त अनुगमन टोलीले जफत गरिएका म्याद गुज्रिएका केमिकल र रिएजेन्ट कानुनी प्रक्रिया पूरा गरेर नष्ट गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button