मधेशदृष्टि
राजविराज ।
सांसदले पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीण प्रताप अधिकारीलाई कार्यालयमै हातपात गरेको भन्दै कर्मचारी विरोध प्रदर्शनमा उत्रिएका छन् । मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री तथा जनमत पार्टीका नेता महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख अधिकारीलाई दुव्र्यवहार गरेका थिए ।
यादवलाई कारबाही माग गर्दै कार्यालयका कर्मचारी अनिश्चितकालीन पेन डाउनमा उत्रिएका छन् । कर्मचारीले विज्ञप्ति जारी गर्दै सांसद यादवमाथि कारबाही नहुन्जेल कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने र कालोपट्टी बाँधेर विरोध जनाउने निर्णय गरेको पूर्वाधार कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
घटनापश्चात त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएकाले सुरक्षित वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् । दोषीउपर कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ । दुईवटा योजनाको चिट्ठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले हातपात गरेको कार्यालयका प्रमुख अधिकारीको भनाइ छ । त्यसअघि मधेश प्रदेशका सांसद सकिल मियाँले पनि कार्यालयमा आएर गालीगलौज गर्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुई वटा योजनाको चिट्ठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले आफूलाई हातपात नै गरेको कार्यालयका प्रमुख अधिकारीले बताएका थिए । निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्वीकार गरेका छन् । उनले प्रदेश सरकारको योजनाको चिट्ठी दलालमार्फत बिक्री वितरण गर्न थालेपछि आफू आवेशमा आएको बताए । उनले हातपात नगरेको, हल्का ठेलेको मात्रै बताए ।