सञ्चार क्षेत्र सबलीकरणको प्रयास गरिनेछः मन्त्री

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफ्नो तर्फबाट हरेक प्रकारले प्रयास गरिने बताएका छन् । मन्त्री भएपछि सञ्चारकर्मीसँगको अन्तक्रियामा मन्त्री लेखीले सञ्चार क्षेत्रको सबलीकरणविना लोकतन्त्र र संघीयताको सरलीकरण हुन नसक्ने बताउदै यसका लागि हरेक प्रकारले प्रयास गरिने बताए । केही दिनमा विभिन्न सञ्चारमाध्यमको अवलोकन गरेर देखिएका समस्या मन्त्रालयगतबाट हुने समाधानका लागि सहजीकरण गर्न तयार रहेको उनले बताए ।उनले लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण रहेकाले संघीयता सबलीकरणमा मिडियाले भूमिका खेल्न जरुरी रहेको बताउँदै समस्याग्रस्त मिडियाले सबल संघीयताका लागि वकालत गर्न नसक्ने भएकाले यसको विकासमा आफ्नो ध्यान जाने बताए ।

उनले भने, ‘आफ्नो मन्त्रालय मात्रै होइन, राज्यको कुनै पनि निकायमा मिडियाको सहज पहुँच हुनपर्छ, यसैका लागि लोकतन्त्र आएको छ, त्यसमा कतै कहीँबाट कमजोरी हुनुहुँदैन ।’ प्रदेश सरकार, मन्त्रिपरिषदको निर्णय सार्वजनिक नहुनु निकै दुःखद विषय भएको बताउँदै यसका लागि समेत मन्त्रिपरिषद्मा कुरा राखेर भए पनि समस्या समाधान गर्ने प्रयास गरिने उनले बताए । उनले भने, ‘अहिलेको जमानामा पनि यस्तो प्रश्न उठ््नु गम्भीर हो, हामी लोकतन्त्रको जमानामा छौँ, जहाँ पादरर्शीताको कुरा महत्व हुन्छ ।’ मन्त्री लेखीले सञ्चारकर्मीलाई सूचनाको सहज पहुँचका लागि हरेक प्र्रकारले प्रयास गरिने बताउँदै मन्त्रालयका कर्मचारीसँग बसेर यस विषयमा देखिएका समस्या समाधानमा प्रयास रहने बताए ।

मन्त्री लेखीले प्रहरी प्रशासनबाट सञ्चारकर्मीमाथि हुने गरेको व्यवहारमा सुधारका लागि समेत प्रयास गरिने बताउँदै यसका लागि मन्त्रालयले सञ्चारसम्वद्ध संस्था र प्रहरी प्रशासनका जिम्मेवार निकायबीच छलफल गरिने बताए । उनले प्रहरीले सञ्चारकर्मीलाई गर्ने हिंसात्मक व्यवहारमा सुधार आउनेसमेत बताए । उनले विगतमा मन्त्रालयका सचिव र मन्त्रीले लिँदै आएको सुराकी भत्ता खारेज गरेको बताउँदै त्यो प्रक्रियामा रहेको बताउँदै मन्त्रालय कुनै पनि किसिमले आर्थिक अनुशासन विपरीत काममा नलाग्ने बताए ।

मन्त्री लेखीले भने, ‘सञ्चार पेशा मर्यादित बनाउन प्रयास र सहयोग रहनेछ ।’ उनले मधेश प्रदेश अन्य प्रदेश भन्दा मानव सूचकांकमा निकै कमजोर रहेको बताउँदै यसलाई सुधार गरेर मधेश प्रदेशलाई सबल बनाएर जनताको घरघरमा संघीयता अनुभूति पुर्याउन आवश्यक रहेको बताए । उनले संघीयताले जनताको जीवनस्तरमा धेरै सुधार गरेको बताउदै यसलाई अझ बलियो बनाउन आवश्यक रहेको बताए । उनले सबल संघीयताले मात्रै सबल प्रदेश कल्पना गर्न सकिने र त्यसले जनतालाई वास्तविक संघीयताको अनुभूति दिलाउन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button