
सञ्जय मिश्रा
रौतहट ।
मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी जनक भट्टर्राईको निर्देशनपछि कटहरियास्थित अवैधरुपमा सञ्चालन हुँदै आएको जुवा नियन्त्रणमा भएको छ।
डिआइजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट डिएसपी वीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरियास्थित लालबकैया नदीको पुल छेउ पुगेपछि जुवाडेकोे भागाभाग भएको थियो।
पछिल्लो एकसातादेखि कटहरिया बजार भन्दा झण्डै दुई किलोमिटर पश्चिम लालबकैया नदीको पुल छेउ केराघारीमा लाखौँलाखको जुवा हुँदै आएको थियो । स्थानीय एकजना मेयर प्रत्यासीले प्रहरीदेखि पत्रकारसम्म सेटिङ मिलाएर आफ्नो मानिस हरिन्दर कुर्मीको रेखदेखमा जुवा खेलाइरहेका थिए । डिएसपी पासवानका अनुसार जुवा सञ्चालन गर्ने समूहले स्थानको झण्डै डेढदुई किलोमटर वरपर मानिस राखेर रेकी गर्न लगाएका थिए। उनीहरूले नै प्रहरीलाई हेरेर जुवाडेलाई मोबाइलबाट खबर गरेपछि भाग्न सफल भएको डिएस्पी पासवानले बताए ।
त्यस स्थानबाट कौडा खेलाउन प्रयोग हुने केही सामान बरामद भएको पासवानले जानकारी दिए । एक सातादेखि केराघारीमा दैनिक बिहान १० बजेदेखि बेलुकीसम्म जुवा खेलाउने काम भइरहेको थियो। त्यहाँ जुवा खेल्न सर्लाहीदेखि रौतहट र बारासम्मका नामुद जुवाडे आउनेगरेका थिए । त्यहाँ हुने जुवाबाट प्रहरी र पत्रकारका नाममा दैनिक १८ हजार रुपैयाँ उठाइने गरेको एकजना सहभागीले बताए । जुवा खेलाउने मेयर प्रत्यासीले जुवा खेलाउन जिल्ला प्रहरी कार्यालय रौतहटदेखि सशस्त्रका एसपी नजिकका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटसमेत मिलाएर मासिकरूपमा पैसा दिनेगरेको बताउँदै आएका थिए ।
जुवा खेल्ने खेलाउने नामले कुख्यात स्थानीय तहको पहिलो निर्वाचनमा सहभागी भएपछि उनले जुवा खेल्ने खेलाउने काम बन्द गरेका थिए । तर गत स्थानीय तहको निर्वाचनमा उनी पराजित भएपछि फेरि जुवा खेलाउने, तस्करीलगायत अबैध कामको लागि प्रहरीलाई मिलाउने अर्थात बिचौलियाको काम गर्दै आएका छन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी जनक भट्टराईले जुवा कौडा खेल्ने खेलाउने जो कोहीलाई पनि छुट नहुने कडा कारबाहीको चेतावनी दिएका छन् । उनले कटहरियामा भइरहेको जुवाबारे अनुसन्धानसमेत भइरहेको बताएका छन् ।






