आईजीपीले खुलाए जिबी राई पक्राउ पर्न नसक्नुको कारण

[mashshare]

मधेशदृष्टि
काठमाडौँ ।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगीका मुख्य व्यक्ति जीबी राईलाई पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आज (बुधबार)को बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा आईजीपी कुँवरले जीबी राई पक्राउ गर्न सफल हुन नसकेको भए पनि प्रयास जारी रहेको बताए । उनले सूर्यदर्शन सहकारीसँग जोडिएका पाँच जना पुर्पक्षका लागि थुनामा रहेको र १५ जना फरार रहेको जानकारी दिए ।

बैठकमा आईजीपी कुँवरले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको बताए । उनले जीबी राई मलेसियामा रहेको र उक्त देशसँग सुपुर्दर्गी सन्धि नभएकाले ल्याउन समस्या भइरहेको बैठकमा जानकारी गराए । उनले भने, ‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ ।’ मलेसिया सरकारले सपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि परराष्ट्र मन्त्रालयमार्फत पठाइसकेको तर पत्र पुग्दा पनि सर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उनको भनाइ छ ।

सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीबी राई भएको उल्लेख गर्दै उनले भने, ‘सबै इस्यूको मुख्य जड त्यही (जीबी राई) हो भन्ने लाग्छ ।’ आईजीपी कुँवरले जीबी राईलाई नेपाल ल्याउने सम्बन्धनमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको बताए । आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको तर, त्यसमा तथ्य प्रमाण केही नभएको बताए ।

त्यस्तै, बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको दोहोर्याए । उनले भने, ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले थपे, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button