मेरो उपन्यासका मधेशको कथा यथार्थमा आधारित छन्: कविता राई

[mashshare]

कविता राई, भोजपुरमा शिक्षिका छन् । गृहिणी हुन् । तर उनको गुरू उपन्यास बहुचर्चित छ । द्वन्द्वकालमा मारिएका शिक्षकको कथा पनि जोडिएको छ । भोजपुर बसेर मधेशका पात्र र परिवेश पनि उतारिएका छन् । मूलतः कविता लेखनमा परिचित राईले २०७८ को राष्ट्रिय कविा महोत्सवमा प्रथम स्थान हासिल गरिन् । राईसँग लेखनबारे गरिएको कुराकानीः

साहित्यका दुई ठूला राष्ट्रिय पुरस्कार: राष्ट्रिय कविता महोत्सव २०७८ र पहिचान पुरस्कार २०७९ जित्नु भयो । कसरी सम्भव भयो ?
हजुरहरूको पत्रिकामार्फत मेरा कुरा राख्ने अवसर दिनु भएकामा सर्वप्रथम धन्यवाद् । २०७८ को नेपाल प्रज्ञा प्रतिष्ठानबाट सञ्चालन हुने राष्ट्रिय कविता महोत्सव जितेकी हुँ । त्यो मेरो सानैदेखिको सपना थियो । तर २०७४/७५ देखि मात्र मैले कविता पठाउन थालेको हुँ । हरेक वर्ष कविता छनौट हुँदै आयो तर कुनै स्थान प्राप्त गर्न सकिनँ । २०७८ मा मेरो कविता प्रथम घोषित भयो । कोरोनाको समय थियो । घरैबाट फोरजी सेवा चलाएर मोबाइलबाट कविता वाचन गरेकी थिएँ । त्यस्तै यो साल मैले ‘गुरू’उपन्यासमा पहिचान पुरस्कार पाएकी हुँ । बेलायतमा स्थापना भएर नेपालमा वितरण हुने यो पुरस्कार निजी क्षेत्रबाट स्थापित ठूलो पुरस्कार मानिँदो रहेछ ।

भन्न खोजेको कति लेखक साहित्यकार दशकौँदेखि लेखिरहनु भएको छ । तर सबैलाई सम्मानित हुने अवसर कमै हुन्छ । तपाईँले यति छिट्टै यति धेरै उपलब्धी कसरी हासिल गर्नुभयो ?
ए, हजुर, मेरो एकजना दाजुले तँ भाग्यमानी छस्, जे ग¥यो त्यही सफल हुन्छ भन्नुहुन्छ । अहिले मैले त्यो कुरा सम्झन पुगेँ । कोही मान्छे सफल हुन्छ भने त्यो सफलताका लागि उसले अथक मेहनत गरेको हुन्छ । अरूलाई त्यत्तिकै सफल भयो भन्ने लाग्ने मात्र हो । साहित्य लेखनको सन्दर्भमा भने कोही लेखक साहित्यकारले नयाँ सिर्जना गर्नु, कृतिको रचना गर्नु नै ऊ सफल हो । पुरस्कार, मानसम्मान भन्ने पूरक मात्र हुन् । पुरस्कार पाउँछु भनेर मात्रै लेखिने पनि होइन । त्यसैले हरेक सर्जकले निरन्तर सिर्जना गरिरहनु पर्दछ ।

एउटा शिक्षिका अनि गृहिणी, भौगोलिक विकटता, इन्टरनेटको पहुँचमा उस्तै समस्या, कसरी सम्भव छ, लेख्न, लेखेका कुरा काठमाडौँसम्म पु¥याउन ?
यी समस्या यथार्थ मेरा भोगाइ हुन् । तिनै भोगाइले मलाई संघर्षशील बनायो । हरेक कुरा सोच र सपनाबाट नै सुरूवात हुने रहेछन् । आफ्नो जीवनको सपनाबाट कहिल्यै विचलित भइनँ । घाँस काट्दै उपन्यासको कथा मनमनै बनाउथेँ अनि घरको सबै काम सकेर रातभर लेख्थेँ । पानी भर्दै कविता मनमनै बनाउथेँ र फुर्सदमा कापीमा उतार्थेँ । नानीलाई स्तनपान गराउँदै आफ्ना लक्ष्य कल्पन्थेँ । हरेक समय आफ्नो सपनासँग खेल्ने बानी बसाएँ । मिडियासँग पहुँच, काठमाडौँसम्मको पहुँच हामी सुदूरगाउँमा बस्नेका लागि धेरै कठिन छ । अझै पनि त्यही कठिनतासँग लडिरहेको छु ।

तपाईँको गुरू उपन्यासले मदन पुरस्कार पाउँछ भन्ने चर्चा पनि एकवृत्तमा थियो तर छनौट सूचीमा पनि पारिएन । के रहेछ कुरा ?
हो, केही पाठकमा यो आशा थियो । मदन पुरस्कार नपाए पनि छनौट सूचीमा पर्छ भन्ने पाठकले प्रतिक्रिया दिनुहुन्थ्यो । छनौट सूचीमा आएका किताबको अध्ययन गर्दा ‘गुरू’ उपन्यास पनि पर्नुपर्ने जस्तो चाहिँ मलाई पनि लाग्यो । तर हामी अपरिचित लेखकका किताब त्यहाँ पनि त्यति पढिन्न होला । अथवा जजको आँखामा किताब राम्रो नहुन सक्छ । साहित्यिक रचनाको मूल्याङ्कन हिसाबको सूत्र जस्तो पनि त हुँदैन ।

अन्य पुरस्कारका लागि पनि छनौट भएका थिए, के भयो ?
हजुर, हो, पहिचान पुरस्कारका अलवा पद्मश्री पुरस्कार र विमल गुरूङ स्मृति पुरस्कारका लागि पनि छनौट सूचीमा ’गुरू’उपन्यास छानिएको थियो ।

गुरू उपन्यासमा खास के छ ? पाठकले यो उपन्यास किन पढ्ने ?
हरेक पाठकको पढाइका आआफ्नै चाख हुन्छ । गुरू उपन्यास पढ्ने पाठकले किताब पढिसकेपछि निरास हुनुपर्ने छैन । विगत केही दशकअगाडिबाट हामीले भोग्दैआएका जीवनका यथार्थ, केही कल्पना, मायाप्रेम, राजनीति विविध स्वाद गुरू उपन्यासमा पाउनु हुनेछ । मधेशका कथा छ, दुःख र संघर्षका कथा छ । जीवन र मृत्युका कथा छ ।

उपन्यासमा लमजुङको शिक्षकको द्वन्द्वकालीन कुरा जोड्न के के कष्ट सहनु प¥यो ?
यो कथा उपन्यासको जटिल कथा पनि हो । किनकी यो राजनीतिक यथार्थ घटना थियो । कथा खोज्दै घटनास्थल गएको छ महिनापछि मात्र यो कथा लेखेको हुँ । यस कथाबारे केही दबाब पनि आएको थियो । तर बजारमा किताब आइसकेपछि सन्तुलित लेख्नु भएछ भन्ने प्रतिक्रिया आयो । उपन्यासमा आएका मधेशका सबै कथा यथार्थ घटनामा आधारित छन् ।

पछिल्लो समय के लेख्दै हुनुहुन्छ ?
उपन्यासको तयारीमा छु । एउटा ग्रामीण कथामा आधारित सिरियल लेख्न भनेर साथीभाइले भनेकाले लेख्ने अभ्यास गरिरहेछु ।

लेख्न कति सहज छ ? जनताका विषयबस्तु त आउनै छाडे, कुलीन घरानाको भद्दा मनोरञ्जन पो बिक्न थाल्यो त ?
लेखन पनि कतिपय अवस्थामा पैसा र पहुँचमा आधारित हुन थालिसक्यो नि त । लेख्न सजिलो विषय होइन र सबैले सक्ने कुरा पनि होइन । लेखक एक साधु बराबर छ । साधारण जनताका जनजीविकाका कुरा नलेखिएका होइनन् । महत्व कम पाउदै गएको आभास हुन्छ । कुलीन घरानाको कथा लेखिनु राम्रो हो । त्यो पनि बाहिर आउनु पर्छ । किन कि साहित्य एक दर्पण पनि हो । साहित्यले हरेक क्षेत्रका मान्छेले भोगेको जीवन दर्शन बोल्नु पर्छ ।

प्रगतिशील लेखनमा महिला सहभागिता के गरी बढाउने ?
त्यसै पनि लेखनमा महिला सहभागिता सीमित छ । प्रगतिशील लेखनका लागि गहिरो अध्ययन र साधना चाहिन्छ । जसका लागि समय छैन । अहिले टिकटक, फेसबुक, युट्युव आदिमा भाइरल हुने रोगले धेरैलाई सताएको छ । विशेष प्रशिक्षण, मिडियामा विशेष स्पेस दिएर प्रोत्साहित गर्न सकिन्छ ।

संस्कृति, सभ्यता, सम्पदा, इतिहास त गुगलमा सीमित भए । कसरी नयाँ पुस्तामा जगाउने ?
यो विषय जटिल बनेर जाँदैछ । सांस्कृतिक विचलन बढेको छ । राज्यस्तरबाट विशेष नीतिको अवलम्बन गरिनु पर्ने आवश्यकता देखिन्छ । भावनात्मक कुरा गरेर मात्र सम्भव छ जस्तो लाग्दैन ।

नयाँ लेखकहरूलाई के भन्नुहुन्छ ?
लेखक नयाँ र पुरानो हुन्छ जस्तो लाग्दैन । यद्यपि सबैले स्वस्थ ढंगले लेखनमा लागौँ । हाम्रा रचना सबैको मन जोड्ने दिशातिर अघि बढोस् । सामाजिक सांस्कृतिक रूपान्तरणमा बन्दुकभन्दा शक्तिशाली अक्षर हुन्छन् । यसको सही सदुपयोग गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button