
मधेशदृष्टि
काठमाडौँ ।
दुर्गा प्रसाईका अंगरक्षकले सर्वोच्च अदालत परिसरमा हतियारसहित प्रवेश गरेको विषयले संसदीय समितिमा प्रवेश पाएको छ । आज (बुधबार) को राज्य व्यवस्था समितिमा दुर्गा प्रसाईले इजाजत लिएर राखेको उक्त हतियारका विषयमा सांसदहरुले प्रश्न उठाएका हुन् । सत्तारुढ दल नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले दुर्गा प्रसाईंसँग भएको उक्त हतियार बारे प्रश्न उठाउँदै भने, ‘सर्वोच्च परिसरमै दुर्गा प्रसाईंका बडिगार्डको हतियार भेटियो । दुर्गा प्रसाईलाई त्यस्तो हतियार राख्ने अधिकार कहाँबाट आयो ?’
त्यसक्रममा सांसद पन्तले यस्ता हतियार कति जनालाई दिइएको छ भन्दै प्रश्न गरे । उनले भने, ‘प्रसाईलाई जुन हतियार दिइयो त्यो हेर्दा यसमा पुनर्विचार गर्नुपर्ने देखियो । त्यो नीति परिमार्जन गर्ने केही छ कि छैन ?’ व्यक्तिले हतियार राख्नेबारे सरकारको नीति स्पष्ट पार्न सांसद पन्तले गृहमन्त्री रवि लामिछानेसँग आग्रह समेत गरे ।
बैठकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले व्यक्तिगत सुरक्षाका लागि स्वचालित हतियार किन चाहियो भन्दै प्रश्न उठाए । उनले भने, ‘यो देशमा दुर्गा प्रसाईं जस्तो एउटा नागरिकलाई स्वचालित हतियारको सुरक्षा किन चाहियो ? राष्ट्रपतिको सुरक्षामा कस्ता हतियार छन् । स्वयम् गृहमन्त्रीको सुरक्षामा त्यस्ता हतियारको प्रयोग भएको छ कि छैन ?’
उनले यस्तो लाइसेन्स किन दिइयो ? लाइसेन्समा उल्लेखित हतियार नै हो वा फरक परेको छ ? नागरिकको व्यक्तिगत सुरक्षाका लागि यस्तो हतियार आवश्यक छ कि छैन ? भन्दै प्रश्न गरेका थिए । बैठकमा सांसद श्रेष्ठले रूसको मस्कोमा भएको आतंकवादी हमलाको स्मरण गराउँदै यसलाई सामान्य रूपमा नलिन गृहमन्त्री रवि लामिछानेलाई आग्रह समेत गरे ।
मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईंका बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का यही चैत ५ गते सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ परेका थिए। उनीहरूका साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने गोली बरामद गरिएको थियो। उनीहरुको साथबाट जर्मनीमा बनेको स्वचालित हतियार र त्यसमा लाग्ने १०० थान गोलीका साथै चार थान म्यागेजिन पनि बरामद गरिएको थियो ।
लाइसेन्ससहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुका परिवारले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमाथि मंगलबार अदालतले हतियार बोकेको विषय कानुनसम्मत् रहेको भन्दै प्रसाईंका बडीगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो ।






