दरबार हत्याकाण्ड बाहिर ल्याउन लिङदेनको चुनौती

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरुलाई चुनौती दिएका छन् । राप्रपा पर्साद्वारा वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरुले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताए ।

उनले भने, ‘जब राजाको लोकप्रियता बढ्छ तब ठूला दलहरुले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन् ।’ उनले बारम्बार दरबार हत्याकाण्डसँग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरुले हिम्मत भए छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गर्न चेतावनी दिए । यदि दरबार हत्याकाण्डमा पूर्वराजा दोषी नै थिए भने दरबार हत्याकाण्डपछि शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालहरु पटकपटक प्रधानमन्त्री भएको बताउँदै आफुहरु पटकपटक प्रधानमन्त्री भएका बेला दरबार हत्याकाण्डको किन छानबिन भएन ? किन जेलमा हालेनन् ? भन्दै उनले प्रतिप्रश्न गरे ।

अध्यक्ष लिङदेनले गणतन्त्र र संघीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर राप्रपा जनताबीच आएको बताउँदै राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थन पनि प्राप्त भइरहेको दाबी गरे । अध्यक्ष लिङदेनले नेपालमा गणतन्त्र र संघीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए ।

उनले विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्वीकार्य नहुने बताउँदै गणतन्त्र र संघीयताले नेपालीको पहिचान, धर्म, भाषा, संस्कृति खतरामा पारेको दाबी गरे । पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवलशम्सेर जबरा, नेता रविन्द्र मिश्र, सांसद ज्ञानेन्द्र शाही, विणा जयसवाललगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button