होलीको रंगमा रंगियो कञ्चनवन

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
तोरेसंग जेवौ हे किसोरी जी खेलब रंग अविर…
आइतबार बिहान मिथिला माध्यमकी परिक्रमामा सहभागी साधुसन्त महोत्तरीको सीतापुर भंगहास्थित कञ्चनवन पुगेका थिए । उनीहरु रंग–अबिर खेल्दै गीतमा रमाइरहेका थिए । यसो त विरक्त साधुसन्त रंग–अबिर र होली कमै खेल्ने गरेको पाइन्छ । तर यहाँका साधुसन्त मैथिली भाषाका गीतको भाकामा रमाउदै बिहानैदेखि कञ्चनवन अबिरमय बनाइरहेका थिए । परिक्रमामा सहभागी साधुसन्तदेखि सबै रंग–अबिरमा रमाएका छन् ।

परिक्रमामा सहभागी साधुसन्तलाई अन्य ठाउँमा विभिन्न फलफूल दिएर स्वागत गरिन्छ भने यहाँ आउने परिक्रमामा सभाागीलाई रंग–अबिरले स्वागत गरिएको थियो । त्रेता युगमा श्रीराम र जानकी विवाहपश्चात बिहार गर्दै मिथिलाका विभिन्न क्षेत्र भ्रमण गर्नेक्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ–अबिर खेलेको विश्वासमा यहाँ यो दिन ‘होरी उत्सव’ को परम्परा चलेको मानिन्छ ।

२०४१ सालदेखि परिक्रमामा सहभागी हुँदै आएका महन्थ विनोद दासले परिक्रमा कञ्चनवन पुग्दा साधुसन्तदेखि सबै मिलेर होली मनाएर आनन्द उत्सव मनाउने गरेको बताए । उनले अन्य ठाउँ भन्दा पनि यहाँ परिक्रमामा सहभागीले रंग–उमंगले गरिने स्वागतले यात्राको कष्टपूर्ण थकाइ बिर्सने गरेको बताए । प्रत्येक वर्ष झैँ यसवर्ष पनि परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीले एकअर्कालाई रंग–अबिर दलेर होली पर्व मनाएका हुन् । कञ्चनवनमा परिक्रमामा सहभागीले रंग–अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्व आगमन भएको मानिन्छ ।

परिक्रमा डोला कञ्चनवनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद् बताउँछन् । होलीमा मिथिलाञ्चलका अधिकांश मठमन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिको सहभागिता हुन्छ । कञ्चनवनमा मिथिला बिहारी र किशोरीजीको डोला लगेर बिसाइएपछि सर्वसाधारणले दर्शन र पूजाआराधना गरेर अबिर चढाउँछन् । यो विधि सम्पन्न भएसँगै होरी उत्सव मेलामा पुगेका सर्वसाधारणले यात्रीलाई आदरपूर्वक अबिर लगाइदिने क्रम सुरु हुन्छ । एकअर्कालाई अबिर लगाएर कल्याण र आनन्दको कामना गरिने यो पर्व उल्लाससाथ मनाइन्छ । साधु हीरा दासका अनुसार, हरेक ठाउँ भन्दा परिक्रमा कञ्चनवनमा उल्लास नै छुट्टै हुने गरेको छ । यस्तै, अर्का साधु ब्रम्हदेव दासले बिहानदेखि नै परिक्रमाबासी रंग–अबिर खेल्दै होली मनाउने छन् । त्यो क्रम मध्यराति १२ बजेसम्म चल्छ । बिहान हुनेबित्तिकै अर्को ठाउँ पुग्नु पर्छ । कञ्चनवनमा आउने श्रद्धालु होलीको गीत गाउँदै आनन्द मनाउने गर्छन् ।

फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थलसमेत रहेको छ । इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा भगवान राम र जानकीले होली पर्व मनाएको विश्वास गरिन्छ ।

कञ्चनवनको होलीको प्राचीनता देखेर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आइरहेको छ । फागुनको औँशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भूभाग साधुसन्तलगायत भक्तजनले पैदल यात्रा गर्दछन् । बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गर्ने चलन छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेको संख्या पनि उल्लेख्य छ ।

डोलाको पछि परम्परागत बाजागाजा, झाँकी किर्तनसहित मौलिक पहिरनमा लाखौँ नरनारी सहभागी हुने गर्छन् । लावा लस्करसहित मिथिलाको चारै स्थानका धार्मिकस्थल परिक्रमा गर्ने परम्परा छ । प्राचीन मिथिला राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानेर परिक्रमा गर्ने परम्परा छ । १५ दिने माध्यमिकी परिक्रमलाई नै मध्यमा परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ । र, जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुन्छ ।

साथै परिक्रमा यात्रीले परिक्रमा अवधिभर गृह प्रवेश नगर्ने र खुल्ला आकाशमुनि पाल टाँगेर वनबास जस्तै जीवन बिताउने गर्दछन् । १५ दिने यात्राक्रममा यात्रीले दिनरात मर्यादा पुरुषोत्तम राम र सीताको भजनकीर्तन र उनले आफ्नो जीवनमा मर्यादाविपरीत कुनै काम नगरेको जस्तै परिक्रमाबासीले पनि परिक्रमा घुम्दा बनाइएको नियम परिधिभित्रै रहेर यो यात्रामा सहभागी हुने यसको मुख्य विशेषता छ ।

मिथिला महात्म्यअनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइदैँ आएको छ । यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्नुपर्छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सीतामढी, बैजनाथधामका साधु उल्लेख्य रुपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्न स्थलबाट पनि साधुुसन्त सहभागी हुने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button