
मधेशदृष्टि
जनकपुरधाम ।
जनपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न भएको छ । क्यान्सरको उपचारमा संग्लन चिकित्सकहरु बिचमा अनुभव आदन प्रदान गर्ने उदेश्यले छैटौँ क्यान्सर सम्मेलन शनिबार सम्पन्न भएको हो । सम्मेलनमा नेपालसहित भारत, अमेरिका लगायतका देशका चिकित्सहरुको उपस्थिति रहेको थियो । उनीहरुले क्यान्सर रोगको उपचार गर्दा हुने समस्या लगायतको विषयमा विचार विमर्श गरेका छन् । विनय तारा फाउण्डेसनका अध्यक्ष डा. विनय साहले सम्मेलन जनकपुरमा गर्नु अर्थपूर्ण रहेको बताउँदै भने, ‘नेपालको सबैभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशमा क्यान्सर उपचार केन्द्र छैन । हाम्रो लक्ष्य सबैलाई क्यान्सर उपचारको पहुँचमा बनाउनु हो ।’
दक्षिण एसियाको क्यान्सर उपचारलाई थप गुणस्तरीय बनाउने विषयमा समेत सम्मेलनमा छलफल भएको विनय तारा क्यान्सर ट्रस्टका अध्यक्ष समेत रहेका शिक्षण अस्पतालका क्यान्सर सर्जन डा.वाइपी सिंहले बताए । सम्मेलनमा अमेरिकाबाट भर्जिनिया क्यासोन क्लिनिकका क्यान्सर रोग विशेषज्ञ डा. डेभिड एबुलाफिया, अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्नियाका असिस्टेनट प्रोफेसर तथा फिजिसियन डा विप्लव यादव, सोनिया दुलाल, डा. सौगात पौडेल, डा.योगेन्द्र प्रसाद सिंह लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी भारतबाट राजीव गान्धी क्यान्सर इन्सिच्युट हेमाटो अन्कोलोजी तथा बोनम्यारो ट्रान्सप्लान्ट विभागका निर्देशक दिनेश बुरानी, अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स एम्सका प्राफेसरद्वय डा अल्पना शर्मा र डा सविता यादव सहभागी थिए । क्यान्सर एउटा घातक प्रकृतिको रोग हो, जुन शरीरको कुनै अंग वा तन्तुमा कोषिकाहरूको अनियन्त्रित वृद्विले गर्दा उत्पन्न हुन्छ र यो शरीरको अन्य भागमा समेत फैलिएर जान सक्छ । क्यान्सरका कारण सन २०१८ मा करिब ९६ लाखले ज्यान गुमाएको तथ्यांकहरूले देखाउँछ । क्यान्सर संसारकै मृत्युकोे दोस्रो ठूलो कारण हो । क्यान्सरमा पनि फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोेको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ ।
नेपालमा क्यान्सरको अवस्था प्रतिलाख ८१ जना र मृत्युदर लगभग ५५ जना रहेको छ । यसरी हेर्दा नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने र १५ देखि २० हजारको बर्सेनि मृत्यु हुने गरेको देखिन्छ । नेपालमा देखिएका मुख्य क्यान्सरहरूमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।






