तीन सय जनाको १५ करोड ठगी गर्ने पक्राउ

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर तीन सय भन्दा बढी व्यक्तिहरुबाट १५ करोड रुपैयाँ ठगी भएको घटना बाहिरिएको छ । कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्सलगायतका देश पठाइदिन्छु भनी तीन सयभन्दा बढी व्यक्तिबाट १५ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेकाहरूमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन विक र कास्कीकै पोखरा महानगरपालिका वडा नम्बर ८ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षीय पवन पन्त रहेको प्रहरीले जनाएको छ ।

फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा फेक आइडी प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भनी आकर्षक तलब, भत्तासहितको विज्ञापन गरी सम्पर्कमा आएकाहरूलाई ठगी गर्ने गरेका थिए । उक्त ठगीको सम्बन्धमा उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कार्यालयका कर्मचारीहरुको खातामा विदेश जान सम्पर्कमा आएका मानिसबाट रकम जम्मा गर्न लगाइ उक्त रकम चेकबाट निकालेर विभिन्न खातामा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

उनीहरूले भिसा प्रकृया चलिरहेकाले भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्टलगायतका नक्कली कागजात देखाइ टिकट र डलर साट्न पैसा लाग्ने भन्दै प्रति व्यक्ति पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँका दरले पैसा लिएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button