
मधेशदृष्टि
रौतहट ।
रौतहटस्थित सरकारी तथा सामुदायिक विद्यालयहरूले परीक्षालाई व्यवस्थित गर्दै आएका छन् । सम्बन्धित विद्यालयका शिक्षकहरुले आआफ्नो स्वविवेक अनुसार परीक्षा सञ्चालन गर्ने हुँदा सो विद्यालय बाहेक कतै कुनै निकायबाट अनुगमन निरीक्षण समेत हुने गरेको थिएन । तर यस पटक गुजरा नगरपालिका अन्तर्गत संचालित आधारभूत तह (कक्षा ८)मा नगर स्तरीय वार्षिक परीक्षाको दृश्य छुट्टै देखिएको छ ।
मेयर सन्तलाल चौधरीको सुझाव र यूवा, खेलकुद तथा शिक्षा शाखाका अधिकृत शिव मंगल साहको सक्रियताले केन्द्रमा कक्षा ८ को परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन गरिएको छ । नगर क्षेत्रभित्रका १२ वटा विद्यालयका ६०१ जना परीक्षार्थीलाई मात्र ३ वटा परीक्षा केन्द्रमा राखेर बिहीबारदेखि परीक्षा सञ्चालन गरिएको शिक्षा शाखा अधिकृत शिव मंगल साहले जानकारी दिए ।
परीक्षा हलमा प्रवेश गर्नु अघि केन्द्रमा खटिएका प्रहरीको रोहवरमा विद्यालय कर्मचारीले परीक्षार्थीले चिट, गाईड, गेसपेपर, किताब लुकाएर लागिरहेको छ, छैन गेटमै चेक गर्ने र परीक्षा अवधिभर प्रहरीले केन्द्रको सुरक्षा गरिरहेको अधिकृत साहले बताए । प्रत्येक परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष, एकजना सहायक केन्द्राध्यक्ष अन्य शिक्षक सहयोगीको अलावा सुरक्षाका लागि २ जना प्रहरी खटाइएको छ ।
त्यसैगरी परीक्षा अवधिमा उपमेयर रतना लामा, प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारी, शिक्षा शाखा, नगर शिक्षा संयोजक लगायतको छुट्टाछुट्टै टोलीले परीक्षा मर्यादित बनाउन पटकपटक अनुगमन गरिरहेको छ । परीक्षा सम्पन्न हुनासाथ उत्तरपुस्तिका सुरक्षीत र ब्यवस्थित तरिकाले नगर शिक्षा शाखाको जिम्मा गइरहेको छ भने त्यसको जाँच नगरपालिकाको समन्वयमा गरेर नयाँ सत्र सुरु हुन अघि नतिजा प्रकाशित गर्ने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारीले बताए । यसरी व्यवस्थित र मर्यादित तरिकाले सम्पन्न हुने कक्षा ८ को परीक्षाको नतिजा राम्रो ल्याउन सफल हुने विद्यालयलाई नगद ५० हजार रुपैयाँदेखि उत्कृष्ट विद्यालयलाई ३ लाख रुपैयाँसम्म नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको मेयर सन्तलाल चौधरीले बताए ।
रौतहट जिल्लाको १८ स्थानिय तह मध्ये कक्षा ८ को परीक्षा मर्यादित र व्यवस्थित गर्ने पहिलो नगरपालिका गुजारा रहेको उनको दाबी छ । गुजरा नगरपालिका जस्तै रौतहटका अन्य पालिकाले पनि परीक्षालाई आधारभूत तहदेखि नै व्यवस्थित र मर्यादित बनाएमा विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज हुने उनीहरुको बुझाइ छ ।






