रूपनगरमा ‘राष्ट्रका लागि दुई घण्टा योगदान’ कार्यक्रम

[mashshare]

अनिल पोखरेल
राजविराज ।
दार्चुलाका एक युवा कर्मभूमि सप्तरीका जनताको सेवामा जुटेका छन् । आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदले सप्तरी, रूपनगरका जनताको निशुल्क स्वास्थ्य परीक्षण गरेर नयाँ वर्ष २०८१ को सुखद आरम्भ गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र, रूपनगरका आँखा स्वास्थ्य कार्यकर्ता अनिलले राष्ट्रका लागि दुई घण्टा योगदान भन्ने मूल भावका साथ रूपनगर चोकमा रक्तचाप, मधुमेह जाँच, दृष्टि परीक्षण, बिएमआइ, लगायत स्वास्थ्य अवस्थाबारे निशुल्क परामर्श दिने अभियान शुरु गरेका हुन् ।

रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले नागरिकको सेवा आफैँबाट शुरु गरौँ भन्ने राष्ट्रका लागि दुई घण्टा योगदान कार्यक्रमको उद्घाटन गरे । एक जनाको रक्तचाप परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्दै प्राध्यापक गजुरेलले भने, ‘दुर्गम दार्चुलाबाट आएको केही दिनमै तराईको समाज, हावापानी र परिस्थितिसँग घोलिएर रमाउने युवा अनिल प्रति सप्तरीवासी हामी आभारी भएर मात्र पुग्दैन । यिनको समाज सेवामा हामी पनि हरेक तवरले सहयोगी बन्न सक्नु पर्छ ।’ उनको पवित्र सेवाका लागि प्राध्यापक गजुरेलले तीन हजार रुपियाँ सहयोग हस्तान्तरण गर्दै भोलिका दिनमा पनि सकेको मद्दत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मधेश प्रदेशका गृह मन्त्री राजकुमार लेखीले रक्तचाप र आँखा जाँच गराएर अनिल साउदको सेवा भावको प्रशंसा गरे । उक्त अवसरमा कञ्चनरूप नगरपालिकाका पहिलो नगर प्रमुख बसन्त मिश्रले पनि स्वास्थ्य परीक्षण गराए । नयाँ बर्ष २०८१ को पहिलो शनिबारदेखि, हरेक शनिबार बिहान ६ बजे देखि ८ बजेसम्म, दुई घण्टा, रूपनगर चोकको प्रतीक्षालयमा बसेर रक्तचाप, सुगर जाँच, दृष्टि परीक्षण र स्वास्थ्य अवस्था बारे परामर्श सेवा दिने बताउने अनिल साउदलाई यस्ता महत्वपूर्ण स्वास्थ्य परीक्षण सेवाबाट सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन र सम्भावित जोखिमबाट बच्न मद्दत पुग्ने विश्वास छ ।

आफू बसेको ठाउँका आमाबुबाको सेवा गर्न पाउँदा आनन्द लागेको बताउने यी कर्मठ युवा परिपक्व प्रौढ शैलीमा कुरा गर्छन् । उनी भन्छन्, ‘सक्ने सहयोग हामी सबैले एक अर्कालाई गर्ने हो भने समाज सकारात्मक लयमा हिड्नेछ र मानवताका व्यवहारले हाम्रो जिन्दगी सरल बन्नेछ । यही आदर्श बोकेर छुट्टीको दिन, हरेक शनिबार, बिहान दुई घण्टा स्वास्थ्य सेवा दिने र यसबाट आम जनतामा स्वास्थ्य बारे चेतना फैलिने विश्वास लिएको छु ।’ राष्ट्रका लागि दुई घण्टा योगदान कार्यक्रम पहिलेको कर्मभूमि रामेछाप जिल्लामा एक वर्ष सफलतापूर्वक चलाइसकेका र हाल उक्त कार्यक्रम त्यहाँको नगरपालिकाले निरन्तरता दिइरहेको बताउने अनिल सरुवा भएर रूपनगर आएका हुन् ।

रामेछापबाट तीन महिना अघि सप्तरीको रूपनगर आएका यी उत्साही युवा सूक्ष्म अनुसन्धान समेत गर्ने रहेछन् । यो ठाउँमा मधुमेह र उच्चरक्तचाप भएका मान्छेहरू अत्यधिक रहेछन् भन्ने जानकारी दिँदा यी स्वास्थ्य कार्यकर्ता गम्भीर बन्छन् । उनको सूक्ष्म अध्ययनका अनुसार यस्ता नसर्ने रोग र त्यसको जोखिमबारे मानिसमा चेतना पनि कम छ । उनी भन्छन्, ‘उच्च रक्तचापको औषधि अस्पताल गएको बेला खाएको र औषधि सकिए पछि खान छोडेका, डाक्टरले औषधि खानुपर्छ भने पनि नखाने आमाबुबाहरू थुप्रै हुनु हुन्छ, रूपनगर क्षेत्रमा । यस्ता धेरै जना सँग भेटेर कुराकानी गरे पछि यो शनिबार कार्यक्रम शुरु गरेँ ।’

राष्ट्रका लागि दुई घण्टा योगदान कार्यक्रमलाई कानूनी रूपमा मर्यादित र सेवाग्राहीहरूको विश्वसनीयता समेतका लागि कञ्चनरूप नगरपालिकाबाट सञ्चालन अनुमति समेत लिएका छन् अनिलले । रक्तचाप आदि जाँच्न खर्च नलागे पनि मधुमेह परीक्षणमा लाग्ने खर्च आफ्नै तलबबाट जुटाउने सुर कसेका यी युवाको होस्टेमा हैँसे गर्ने मनकारीहरू अघि सरेका छन् । पाँच सय जनाको मधुमेह परीक्षण गर्न बीस हजार रुपियाँ जति खर्च लाग्ने अनुमान अनिलको छ । सेवाको यो अभियानबारे आफ्नो फेसबुकमा लेखे पछि उनलाई सहयोग गर्नेहरूको ओइरो लाग्यो । ‘अहिलेलाई चाहिने खर्च जुटिसक्यो अब पैसा नपठाउनुस्’ उनी फेसबुकमा भन्छन् ‘पछि चाहियो भने फेरि जुटौँला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button