
मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले देशलाई अगाडि बढाउन नसक्ने नेतृत्वलाई कुर्सी ओगटेर बस्ने छुट नरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् । त्यसक्रममा उनले छिमेकी मुलुकभन्दा हामी धेरै चिजमा धनी भए पनि विकासमा अझै पछाडी रहेको बताए । नेपाल जुन चिजमा धनी छ त्यसकै उत्पादन महंगो रहेको रहेको उल्लेख गर्दै उनले भने, ‘नेपालमा उखु जति पनि छ तर, यहाँ चिनी महङ्गो छ ।’
सांसद साहले जुन देशमा उखु छैन त्यही देशमा चिनी सस्तो हुने, जहाँ उखुको भण्डार छ त्यो देशमा चिनीको महंगो हुने ? भन्दै प्रश्न उठाए । नेपाल जंगलै जंगलको देश भएको तर, विदेशी काठ अयात गर्नुपर्ने वा आउने अवस्था रहेको भन्दै सांसद साहले सरकार गम्भीर बन्नुपर्ने सुझाव दिए ।
त्यसैगरी, बिहीबारको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले मन्त्रिपरिषद्मा दलित र मुस्लिमको प्रतिनिधित्व नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद खानले नेपालमा ४० लाख बढी दलित र १५ लाख बढी मुस्लिम समुदाय रहेको उल्लेख गर्दै २२÷२५ जनाको मन्त्रिपरिषदमा एउटा पनि दलित र मुस्लिम समुदायको समुदायको प्रतिनिधित्व हुन नसकेको बताए । उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘के तपाईंले लागू गर्न खोज्नुभएको समानुपातिक समावेशी सिद्धान्त यही हो ?’






