हत्याहिंसा, लुटपाट र हतियारले मधेश आक्रान्त

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

मधेशका जिल्लाहरुमा अपराधको ग्राफ घट्न सकेको छैन । एकैदिन ६ जनासम्मको हत्याको खबरले दैनिकजसो जनजीवत त्रसित हुने गरेको छ । समाजमा ससाना रिसइबीले हत्या गर्ने क्रम बढेको छ । अर्कातिर हतिबार बोकेर हिँड्ने क्रम झन बढेको छ । महिला हत्याका घटना पनि उस्तै छन् । समाजमा कारबाहीको डर घट्दै गएकाले अपराध बढेको पाइएको छ ।

जाली नोटको कारोबार, भन्सार छलीका सामान ओसारपसार गर्नेहरुले पनि हतियार निर्बाध बोकेर हिँडिरहेका छन् । भारतीय नागरिक खुलेयाम हतियार बोकेर जालीनोटको कारोबार गरिरहेका छन् भने गढीमाई मन्दिरमा मेलामा गएका दर्शनार्थी लुट्ने गिरोह पनि सक्रिय देखिएको छ । उसो त लागुऔषधले युवापुस्तालाई उस्तै दपेटेको छ । कतिसम्म भने लागुऔषधको नशामा साथीको प्रेमिकासँग भेट गर्न नपाइएको रिसमा समूह नै मिलेर साथीको हत्या भएको छ । अर्कातिर अवैध यौनसम्बन्धले पनि हत्याका घटना बढिरहेका छन् ।

कात्तिकका केही घटनाहरु हेरौँः

कात्तिक १९ गते
घटना १ः
सर्लाही, गोडैता नगरपालिका–१२ बाट नलकटुवा पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने ६ राउन्ड गोली, एकहजार दरका २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोलीसहित २ जना पक्राउ परेका छन् । भारत, बिहार सीतामढी मेजरगंज थाना बसबिटा ग्रामपञ्चायत रसुलपुर गाउँका २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल पक्राउ परेका हुन् । भारतबाट नेपालको मधुवनी आउँदै गरेका उनीहरू हतियार र नक्कली नोटसहित पक्राउ परेका हुन् ।

कात्तिक १९ गते
घटना २ः
रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले रक्सी भट्टीमा छापा मार्दा पेस्तोल र गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बिओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको कमाण्डमा गएको गस्ती टोलीले राजदेवी नगरपालिका–९, ब्रहमपुरी गाउँस्थित संजीव सिंहले सञ्चालन गरेको भट्टी पसलमा चेकजाँच गर्दा शौचालयबाट पेस्तोलसहित गोली बरामद गरेको हो ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंका अनुसार गस्ती टोलीले भट्टी पसलमा रहेको शौचालयमाथि एकथान नलकटुवा पेस्तोल, ८ एम एम को ३ थान गोली र १ थान खोका बरामद गरेको थियो । हतियारसँगै भारत, बिहार समस्तीपुर जिल्ला खैदी ग्रामपञ्चायत वडा नम्बर ५ घर भई भिनाजु नाता पर्ने संजीव सिंहले सञ्चालन गरेको भट्टी पसलमा बस्दै आएका ४२ वर्षीय राजेश सिंहलाई पक्राय गरेको छ ।

कात्तिक १८ गते
घटना ३ः
बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका—१६ का शम्भु राय, सन्दीप राय र पर्सा पकहाँमैनपुर गाउँपालिका– ५ का पवन यादव छन् । मन्दिरमा आएका दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । पछि मेलामा जडान गरिएको सिसिटिभीमा हेर्दा तीनै जनालाई पहिचान गरी सोही आधारमा पक्राउ गरिएको हो । मन्दिरमा अहिलेसम्म चार दर्शनार्थीको सिक्री चोरी भएको छ र सबै चोर पक्राउ परेका छन् ।

कात्तिक १७ गते
घटना ४ः
पर्साको रामनगरीबाट किशोरीको शव बरामद भएको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीबाट किशोरीको शव बरामद भएको हो । उनी रामबाबु सहनीकी १७ वर्षीया छोरी निजिमा कुमारी सहनी रहेकी पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।

कात्तिक १७ गते
घटना ५ः
बारा, महागढीमाइ नगरपालिकामा भएको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । महागढीमाइ नगरपालिका वडा नम्बर–१ मा धारिलो हतियार प्रहार गरी भएको हत्या प्रकरणमा मृतक श्रीनारायण प्रसाद यादवकै गाउँले सुफाइ चौधरीलाई पक्राउ गरेको हो । चौधरी मृतक यादवको खेत जोतखन गर्ने व्यक्ति हुन् ।

कात्तिक १२ गते
घटना ६ः
महोत्तरीमा अनुहार जलेको अवस्थामा महिलाको शव फेला परेको छ । पिपरा गाउँपालिका–७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अन्दाजी २५–३० वर्षकी महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार मृतकको पहिचान भएको छैन । अनुहारमाथि सल राखेर जलाइएको शवको प्रकृति हेर्दा महिलाको हत्या भएको देखिन्छ ।

कात्तिक ८ गते
घटना ७ः
डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ३ स्थित चुरे क्षेत्रको ख्याकुबाट दुई थान बरुवा बन्दुक सहित एकजना पक्राउ गरेको छ । ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका कान्छामान जिम्बाको गोठमा दुई थान भरुवा बन्दुकसहित जिम्बालाई पक्राउ गरेको हो ।

कात्तिक ६ गते
घटना ८ः

डिभिजन वन कार्यालय बाराले नामुद काठ तस्कर फरार सूचीमा रहेका करैयामाई गाउँपालिका वडा नम्बर ५ तेतरियाका ४३ का श्याम पुकार सहनीलाई पक्राउ गरेको छ । बाराका एक जना पत्रकारलाई आफूबिरुद्ध समाचार तथा स्टाटस लेखेको भन्दै धम्काउँदै सामाजिक सञ्जालमा गालीगलौज गर्ने सहनी जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणबाटै पक्राउ परेका हुन् ।

कात्तिक ५ गते
घटना ९ः

जिल्ला प्रहरी कार्यालय सिरहाले गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद पक्राउ गरेको छ । उनीहरुले आफ्नै साथी कृष्ण कुमार महरालाई हत्या गरेको आरोप लागेको छ । असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१० शिवचौकमा दुर्गा पूजाको अवसरमा लागेको मेला हेर्न गएका बखत त्यहाँ अन्य साथीहरु भेटेर सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाए । सोही अनुसार मेला स्थानदेखि पूर्व खोला नजिक चौरमा गए । त्यहाँ उनीहरुले गाँजा र नाइट्राभेट ट्याब्लेट सेवन गरे । सोही क्रममा कृष्णले आफूले चिनेका महिला साथीलाई भेट्न बोलाए । त्यसपछि अन्य साथीहरुले आफूहरू पनि ती महिलालाई भेट्ने इच्छा जाहेर गरे । कृष्ण राजी भएनन् । कृष्णले साथीहरूको कुरा नमान्दा उनीहरू रिसाए र हत्या गर्ने योजना बनाए । अपराधबाट बच्नको लागि उनीहरूले गागन खोलाको पश्चिम पट्टीको डिलमा खाल्टो खनेर कृष्णको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेर फरार भए ।

कात्तिक २ गते
घटना १०ः
वीरगंज महानगरपालिका वडा नम्बर ३ छप्कैयाका विरेन्द्र साह सोनारको मृत्यु प्रकरणमा बारा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरेन्द्रकी श्रीमती मनिषा देवीलाई नै सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बारामा लगिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । सोनार असोज २७ गतेदेखि बेपत्ता भएका थिए । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ गण्डक नहर जोड्ने त्रिवेणी पुल नजिक फेला परेको शवको सोनारको भनेर कात्तिक १ गते पहिचान खुलेको हो ।

अवैध यौन सम्बन्धले निम्त्यायो हत्या

कात्तिक १ गते वीरगंज महानगरपालिका वडा नम्बर ३ छप्कैयाका विरेन्द्र साह सोनारको हत्यामा अवैध यौनसम्बन्ध कारण देखिएको छ । सोनार कात्तिक १ गते बिहान अन्दाजी ९ः३० बजे बारा प्रसौनी गाँउपालिका वडा नम्ब १ त्रिवेणीस्थित गण्डक नहरमा मृत फेला परेका थिए । उनको असोज २७ गते राति ९ः३० मा हत्या भएको थियो ।

पर्साको बहुदरामाई नगरपालिका वडा नम्ब ९ का २८ को विजय कुमार साहले सोनारको हत्या गरेको पुष्टि भएको छ । उनी कात्तिक ७ गते साँझ ५ बजे बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वास्थित दशगंजाबाट पक्राउ परेका थिए ।
वीरेन्द्रकी श्रीमतीसँग विजयको प्रेम सम्बन्ध रहेको र विवादमा विजयले पछाडिबाट गाम्छाले वीरेन्द्रको घाँटी कसेर हत्या गरी गण्डक नहरमा शव फालेको बयानमा स्वीकारे । यस्तै, बारा, महागढीमाई नगरपालिकाका नारायण प्रसाद यादवको घटनाका आरोपितलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, कात्तिक १२ गते महोत्तरीमा फेला परेको जलाइएको शव धनुषाको शहीद नगरपालिकास्थित यदुकाहाको निमुवा टोलकी २६ वर्षीया मालती मण्डलको भएकार अवैध यौनसम्बन्धले उनको पनि हत्या भएको पाइएको छ । उनको मटिहानी नगरपालिका–५ का राकेश नायकसँग विवाहेत्तर सम्बन्ध थियो । यही कारण श्रीमान्, श्रीमती मिलेर उनको हत्या भयो ।

कात्तिक १० गते भएको यादवको हत्यामा संलग्न महागढीमाई नगरपालिका वडा नम्बर १ सेमरा तेगछियाका सोथाई चौधरी भनिने बर्ष ६४ का सोथाई खाँ थारुलाई प्रहरीले पक्राउ गरेको हो । सोथाई खाँ थारूले भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसइबी तथा विवादका कारण हत्या गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button