
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले कार्यकारी अधिकार प्रयोग गर्दा मूल ऐन र कतिपय अवस्थामा संविधान नै संकुचित गर्ने प्रयास हुने गरेको भन्दै त्यसमा संसद सचेत हुनुपर्ने धारणा राखेका छन् । पूर्वसांसद मञ्च नेपालले जनकपुरधाममा गरेको ‘प्रदेशसभामा विधायिकी अभ्यास’ विषयक कार्यक्रममा उनले व्यवस्था बलियो बनाउन सबै तहका संसद र सरकारबीच सहकार्यको भावना जरुरी रहेको धारणा राखे ।
उनले हिजोको निर्देशनात्मक परिपाटीबाट सहकार्यको संस्कृतिमा जाँदा केही समस्या रहेको र संवैधानिक सर्वोच्चता, विधिको शासनको मान्यतानुसार सबैले इमान्दार प्रयास गर्नु पर्ने बताए । केन्द्रीकृत मानसिकताले समस्याको समाधान नहुने भएकाले सङ्घीयताको सबलीकरणका लागि सबै तहका संसद र सरकार मिलेर अगाडि बढ्न आवश्यक रहेको उनको तर्क छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ‘प्रदेशसभामा विधायिकी र गैरविधायिकी अध्यास’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै प्रदेशसभा अहिले पनि अग्निपरीक्षामा रहेको टिप्पणी गरे । उनले अग्निपरीक्षा उत्तीर्ण गर्ने दायित्व सबै तहका नेता, सांसद र सरोकारवालाको भए पनि प्रदेश संरचनाको नेतृत्वमा रहेकाले अझ बढी भूमिका खेल्नुपर्ने बताए ।
नेकपा एमालेका नेता परशुराम मेघी गुरुङले संसदीय समितिमा विधायिकी र गैरविधायिकी अभ्यासमा सभासद्हरूको भूमिका’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै कानुन निर्माण तथा त्यसको कार्यान्वयन गर्दा प्रदेशसभा सदस्यले देखाउने सक्रियताले सरकार तथा सदन दुवैले जनअपेक्षित भूमिका खेल्ने भएकाले गम्भीर बन्न आग्रह गरे । उनले संसद प्रदर्शनीस्थल र समितिहरू कार्यशालाको भूमिकामा रहने भएकाले त्यसको सही उपयोगमा ध्यान दिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले प्रदेशसभा वा संसद कार्यकारी भूमिका निर्वाह गर्ने सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने थलो भएकाले विधायिकी अधिकार प्रयोग गर्दा अर्थपूर्ण र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले ऐन निर्माण गर्दा प्रत्यायोजित अधिकारमा सांसदले ध्यान नपु¥याउँदा कार्यकारी अधिकार प्रयोग गर्ने दलले त्यसको दुरुपयोग गर्नेतर्फ सचेत रहनसमेत आग्रह गरे । कार्यक्रममा मञ्चका कार्यबाहक अध्यक्ष झलकनाथ वाग्ले, पूर्वसांसद गोविन्दबहादुर साह, शिला यादव, विष्णुबहादुर राउतलगायतले सरकारलाई संसदप्रति जवाफदेही बनाउने कुरा संसदमा खेल्ने भूमिकामा पनि निर्भर हुने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।






