
मधेशदृष्टि
जनकपुरधाम ।
मधेशमा सबैभन्दा बढी स्थानयि तह प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा सञ्चालन भइरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम ठप्पसँगै सामाजिक सुरक्षा भत्तासमेत वितरण रोकिएको छ ।
मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये २ सय ४६ स्थानयि तह अझै निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालनमा छन् । ९ उपमहानगरपालिका, १ सय २६ नगरपालिका र १ सय ११ गाउँपालिका निमित्तले चलाइरहेका हुन् ।
उपमहानगरपालिकामा सहसचिव, नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत दरबन्दी भए पनि निमित्तका भरमा काम चलिरहेको स्थानीय तहमा मधेश अगाडि छ । मधेशका तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिकामध्ये तीन उपमहानगरपालिकामै उपसचिव, ७३ नगरपालिकामध्ये ५५ मा शाखा अधिकृत र ५९ गाउँपालिकामध्ये २० वटामा सुब्बाले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।






