‘भन्दै नभनेको विषयमा कोही परिचालित भएर लेखे’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
आफूले बोल्दै नबोलेको विषयलाई केही सञ्चारमाध्यमले स्वार्थका साथ काल्पनिक समाचार बनाएर प्रकाशित गरेको भन्दै पूर्व वडा सचिव भिखारी यादवले आपत्ति जनाएका छन् । वीरगंज उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव समेत रहेका यादवले आफूले कहिल्यै पनि नभनेको विषयलाई ‘सिधाकुरा’ अनलाइनले कल्पना गरेर समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका हुन् ।
सोमबार बिहान उनको निवास पुगेका सञ्चारकर्मीसँग यादवले भने, ‘भन्दै नभनेको विषयलाई बनावटी ढंगले ‘डिमाण्डका आधार’मा जथाभावी लेखेको पाएँ ।’

आफूलाई कसैले कुनै पनि अफर नगरेको र कसैले कुनै प्रकारको धाकधम्कीसमेत नदिएको भन्दै उनले सिधाकुराले उसको स्वार्थका लागि आफूलाई प्रयोग गर्न प्रयास गरेको स्पष्ट पारे । आइतबार सिधाकुराले ‘वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर’ शीर्षकमा सामग्री प्रकाशित गरेपछि यादवले आपत्ति जनाएका हुन् ।

जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार र जसपा नगर अध्यक्ष ईश्वर यादवले आफूलाई पैसाको प्रलोभन दिएको भन्दै तत्कालीन पञ्जिकरण अधिकारीसमेत रहेका भिखारी राय यादवको हवाला दिँदे समाचार प्रकाशित गरेको थियो ।

तत्कालीन पञ्जिकरण अधिकारीसमेत रहेका यादवलाई कुनै पनि प्रलोभन तथा धम्की नदिएको भन्दै चारै जना सोमबार आरोप खण्डन गर्दै पञ्जिकरण अधिकारीको घर प्रहरीसहित पुगेका थिए । तत्कालीन पञ्जिकाधिकारी यादवले आफूलाई कसैले पनि प्रलोभन र धम्की नदिएको भन्दै सिधाकुराले बनावटी र कपोकल्पितरुपमा आफूलाई उसका स्वार्थका लागि दुरुपयोग गरेर समाचार प्रकाशित गरेको बताए । उनले भन्दै नभनेको विषयलाई मनगढन्ते रुपमा प्रकाशित गरेर आफूलाई अनावश्यक विवादमा ल्याउने सञ्चारमाध्यमलाई मानहानीको मुद्दा दायर गरिने र सञ्चारमाध्यमले सन्तुलित भएर समाचार प्रकाशन, प्रसारण गर्न पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button