सहकार्य गर्दै मधेशका तीन दल

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
लोसपामा एउटा समूह अलग्गिएको अवस्था र सत्तागठबन्धनमा परिवर्तित राजनीतिक घटनाक्रमपछि मधेशका तीन दल सहकार्य गरेर अघि बढ्ने विषयमा सहमत देखिएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सहकार्य गरेर अघि बढ्ने मनस्थितिमा पुगेका हुन् ।

तीनै अध्यक्षले समसामयिक मुद्दा तथा समस्या समाधानका लागि सहकार्यमा सहमत भएको भनेर संयुक्त विज्ञप्ति जारी गरेका छन् । ‘वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै निम्नलिखित बुँदालाई प्राथमिकतामा राखी दीर्घकालीन समाधानका लागि शतत् प्रयत्नशील रहने प्रणका साथ हामी जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल तथा तराई–मधेश लोकतान्त्रिक पार्टी छलफल तथा सहकार्य गर्न सहमत भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधानको रक्षार्थ, समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, तराई–मधेशका साथै सम्पूर्ण देशमा समृद्धि र सुशासनको लक्ष्य प्राप्ति, विद्यमान सबै प्रकारका विभेद अन्त्य, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण र देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन सहकार्य गर्ने भनेर जारी सातबुँदे विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, उद्योगधन्धा तथा कलकारखाना स्थापित गर्दै रोजगारी सिर्जना र गृणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चितता पनि विज्ञप्तिमा समेटिएको छ । उनीहरूले उल्लेखित विषयमा सहमत अन्य दललाई पनि सहकार्यका लागि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button