
मधेशदृष्टि
जनकपुरधाम ।
संघीय सरकारमा नयाँ गठबन्धनमा जोडिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारमा मुख्यमन्त्री र केन्द्र सरकारमा दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ । केन्द्र सरकारमा जसपाले स्वास्थ्य मन्त्रालय र वन मन्त्रालय लिने सहमति बनेको हो । यसका लागि जसपाले मन्त्रीहरुको टुंगो लगाउने तयारी गरेको छ । यस्तै, मधेश प्रदेश सरकारमा पनि जसपाकै मुख्यमन्त्रीमा निरन्तरता दिन गठबन्धन तयार भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएका छन् । बुधबार बसेको समाजवादीको सचिवालयको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालयमा मन्त्री पठाउने निर्णय गरेको छ । समाजवादीले स्थायी कमिटी सदस्य भानुभक्त जोशी र युवा नेता धनबहादुर बुढालाई मन्त्रीमा सिफारिस गरेपछि नेकपा एमाले–नेकपा माओवादी गठबन्धन पनि तत्कालका लागि बहुमतसिद्ध सावित गर्न सफल भएको छ ।
यता, जनता समाजवादी पार्टी (जसपा) को बुधबारको कार्यकारिणी समिति बैठक भने सरकारमा पठाउने मन्त्रीका विषयमा कुनै निर्णय नगरी सकिएको छ । सोमबारदेखि लगातार बसिरहेको कार्यकारिणीको तेस्रो बैठक मन्त्री छनोट नगरी सकिएको हो । बैठकमा सहभागी नेताका अनुसार गठबन्धनमा सहभागी हुने निर्णय गर्दा भागबण्डाको विषय पनि टुंग्याउन सुझाव दिइएको, तर अध्यक्ष उपेन्द्र यादवले सहभागी हुने मात्रै निर्णय गरेको भनेर बैठकमा नेताहरूले असन्तुष्टि जनाएपछि अध्यक्ष यादवले सबैलाई जवाफ दिएका थिए । मंगलबार बसेको बैठकमा पनि अहिलेकै अवस्थामा सरकारमा जान हतार हुने र मधेश प्रदेश सरकार आफ्नो हातबाट गुम्ने भन्दै नेताहरूले गठबन्धनको सुनिश्चितता हुन दिनुपर्ने राय अध्यक्ष यादवलाई दिएपछि सरकारमा जाने मन्त्रीका विषयमा निर्णयमा पुग्न समय लागेको हो ।
बुधबार बसेको बैठकमा भने मन्त्रिपरिषद्मा पठाउने नेताको नाम चयन गर्नुभन्दा पहिले मधेश प्रदेशको सरकार र संघीय सरकारमा पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने बारेमा अन्तिम निर्णय गर्नुपर्ने सुझाव नेताहरुले दिएपछि जसपाले मधेश प्रदेश सरकारको बटमलाइन राखेको थियो । गठबन्धनले बुधबार नै मन्त्रीहरुको शपथको तयारी गरिरहँदा थप छलफलका लागि समय नभएपछि मन्त्रीबारे कुनै निर्णय नगरी अध्यक्ष उपेन्द्र यादव, नेताहरु राजेन्द्र श्रेष्ठ, मनिष सुमन र रकम चेम्जोङ छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार पुगेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार अधिकांश सांसद र कार्यकारिणी सदस्यले अहिलेकै परिस्थितिमा सरकारमा सहभागी हुन नहुने धारणा राखेपछि जसपाले सरकारमा सहभागी हुने निर्णयसँगै मधेश प्रदेशमा मुख्यमन्त्रीमा निरन्तरता र मन्त्रालयका विषयमा पहिला प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । बुधबार नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने भएपछि गठबन्धनलाई मधेश प्रदेश सरकारमा सुविधाजनक बहुमत पुग्ने भएकाले जसपा अब सरकारमा जाने तयारीमा छ । अध्यक्ष यादवले अर्को बैठक बोलाएर सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग भएको छलफलबारे ब्रिफिङ गरेर मन्त्री टुंग्याउने भएका छन् । गठबन्धनमा विभिन्न मन्त्रालयमा भागवण्डा हुनेक्रममा स्वास्थ्य मन्त्रालय र वन मन्त्रालय जसपाको भागमा परेको छ । कार्यकारिणी बैठकमा नेताहरुको कुरा सुनेपछि अध्यक्ष यादव भने सरकारमा जाने सम्भावना कम रहेको जसपाले जनाएको छ ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल सरकारमा प्रवेश गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालका लागि अब सुविधाजनक बहुमत पुगेको छ भने नेपाली कांग्रेसले सरकार बनाउनका लागि समाजवादीलाई गरेको आग्रह पनि असफल भएको छ । अब सरकारका लागि चाहिएको बहुमत भन्दा बढी नै मत सरकारसँग रहनेछ । एमालेको ७६, माओवादीको ३२, रास्वपाको २१, जसपाको १२ र नेकपा एसको १० सिटसहित सरकारसँग अब १ सय ५१ सदस्यको साथसहित बहुमतमा गठबन्धन सरकार रहने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन सक्ने भएका छन् । उनको सरकार सुरक्षित हुने भएको छ ।
पन्ध्रपटक मन्त्रिमण्डल विस्तार
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार एक वर्ष १२ दिनमा पन्धौँपटक विस्तार भएको छ ।
पहिलोः २०७९–०९–११
दोस्रोः २०७९–१०–३,
तेस्रोः २०७९–१०–१४,
चौथोः २०७९–१०–२३
पाँचौँः २०७९–११–१४
छैठौँः २०७९–११–१६
सातौँः २०७९–१२–१७
आठौँः २०८०–०१–०३
नवौँः २०८०–१–५
दशौँः २०८०–१–२०
एघारौँः २०८०–१–२४,
बाह्रौँः २०८०–२–९
तेह्रौँः २०८०–४–२९
चौधौँः २०८०–११–२१
पन्ध्रौँः २०८०–११–२३
एसको इन्ट्रिले जसपाको सरकार सुरक्षित
मधेश प्रदेश सरकारमा दाबी गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश प्रदेश सरकार संघ सरकारमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेसँगै सुरक्षित भएको छ । अब मधेश प्रदेश सरकारलाई सुविधाजनक बहुमत पुग्ने भएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादी पार्टी पनि सम्मिलित भएपछि मधेश प्रदेश सरकारमा गठबन्धनलाई बहुमत पुगेको हो । मधेश प्रदेशको १ सय ७ सदस्यीय प्रदेश सभामा वर्तमान गठबन्धनमा नेकपा एमालेको २४, नेकपा माओवादी केन्द्रको ९, जसपाको १९ प्रदेश सभा सदस्य छन् । यस्तै, नेकपा एकीकृत समाजवादीको ६ सदस्य छ । सरकारका लागि ५४ सदस्य आवश्यक पर्नेमा गठबन्धनसँग ५८ मत पुगेको छ । यसमा सभामुख नेकपा एमालेको एक घट्दा पनि ५७ हुन्छ भने एकजना स्वतन्त्र सांसद पनि जसपा निकट भएकाले सरकार सुविधाजनक बहुमतमा रहनेछ ।
जनमत सरकारबाट बाहिरिएपछि केहीदिन अघि मात्रै तेस्रोपटक विश्वासको मत लिएका जसपा संसदीय दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई यसपटक लोसपा नहुँदा पनि बहुमत पुगेको छ । यद्यपि अहिलेको मधेश सरकार गठबन्धनमा लोसपा पनि सामेल छ, उसले सरकारलाई समर्थन दिने या नदिनेबारे केही बताएको छैन । नेकपा एकीकृत समाजवादी गठबन्धनमा नआउँदासम्म संकटमा परेको जसपा नेतृत्वको प्रदेश सरकार सुरक्षित भएपछि जसपा केन्द्र सरकारमा पनि जाने भएको छ र मन्त्री टुंगो लगाउने गृहकार्यमा जुटेको छ ।






