गाउँ सभा गर्न जनप्रतिनिधिको दबाब, अध्यक्ष महतो पुगे सर्वाेच्च

[mashshare]

एसपी गौरब
सर्लाही ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका उपाध्यक्ष सहितका जनप्रतिनिधिहरुले गाउँ सभा गर्न गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग माग गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोसहित पाँच जना वडा अध्यक्ष र बहुमत कार्यपालिका सदस्यहरुले गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङसँग गाउँ सभा गर्न मिति तोकेर बैठक बोलाउन माग गरेका हुन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को सात महिना बितिसक्दा पनि गाउँ सभा नहुँदा चन्द्रनगर गाउँपालिकाको चालु आर्थिक वर्षको बार्षिक बजेट, नीति तथा कार्यक्रम बन्न सकेको छैन । ‘अहिले सम्म गाउँ समा नभएकोले अविलम्ब कार्यपालिकाको बैठक बोलाई गाउँ सभाको मिति तोक्नको लागि हामी कार्यपालिकाको बहुमत सदस्यहरूको जोरदार माग रहेकोले यो निवेदन गाउँपालिका अध्यक्ष समक्ष पेश गर्दछौँ ।’

फागुन ८ गते उपाध्यक्ष गीतादेवी सहित बहुमत गाउँकार्यपालिका र गाउँ सभा सदस्यहरुले पेश गरेको निवेदनमा उल्लेख गरिएको छ । सात वटा वडा रहेको गाउँपालिकामा १५ जना कार्यपालिका सदस्य मध्ये १२ जना र ३९ जना गाउँ सभा सदस्य मध्ये २९ जना उपाध्यक्ष गीतादेवीको पक्षमा रहेका छन् भने १ र २ नम्बरका वडाध्यक्षसहित तीन जना कार्यपालिका सदस्य र १० जना गाउँ सभा सदस्य अध्यक्ष महतोको पक्षमा रहेका छन् ।

सात महिना बित्दा पनि किन भएन गाउँ सभा ?
गाउँपालिकाका अध्यक्ष महतोले गाउँपालिकालाई गैरसरकारी संस्था जसरी चलाएर चरम भ्रष्टाचार गरेका कारण आफुहरुले अघिल्लो आर्थिक वर्षको हिसाब किताब स्पष्ट रुपमा सार्वजनिक नगर्दासम्म गाउँ सभा हुन नदिने अडान लिएको उपाध्यक्ष गीतादेवीको भनाई छ । अध्यक्ष महतो हिसाब किताब सार्वजनिक गर्नुको सट्टा भागि भागि हिडेका कारण चालु आर्थिक वर्षको सात महिना वितिसक्दा पनि गाउँ सभा हुन नसकेको उनको दाबी छ ।

‘गाउँपालिका अध्यक्ष महतोले हिसाब सार्वजनिक गर्नुको सट्टा भागि भागि हिडेका कारण चालु आर्थिक वर्षको सात महिना वितिसक्दा पनि गाउँ सभा हुन सकेन, जसका कारण गाउँपालिकाको विकास निर्माणका सबै काम प्रभावित हुनुका साथै सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरु र मासिक तलब भक्ता खाने कर्माचारीहरु प्रत्यक्ष मारमा परेका छन् ।’ उपाध्यक्ष गीतादेवीले भनिन् । अनौपचारिक छलफलमा गाउँपालिका अध्यक्ष महतोले हिसाब बुझाउन तयार भएपनि कार्यपालिकाको बैठक बस्ने समयमा महतो गाउँपालिका नै नजाने गरेका कारण समस्या झन विकराल बन्दै गएको चन्द्रनगर गाउँपालिका ३ का वडाध्यक्ष सिताराम महतोले बताए । ‘गाउँपालिका अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकाबासीको विचमा चित्त बुझ्दो जवाफ दिनु पर्नेमा भागि भागि हिडेर चन्द्रनगर गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएका कारण बहुमत कार्यपालिका सदस्यहरुले गाउँ सभा गर्ने प्रयास गरेको’ चन्द्रनगर गाउँपालिका ७ का वडाध्यक्ष दिपेन्द्र कुमार सिंहले बताए ।

गाउँपालिकाको अध्यक्ष भएर महतो आए देखि नै कर्मचारीलाई अनावश्यक दुःख दिने, स्थायी कर्मचारीलाई गाउँपालिका शाखाबाट हटाएर वडामा पठाउने र गाउँपालिकाको शाखाहरुमा करारका कर्मचारीहरु राख्ने, अन्य जनप्रतिनिधिहरुलाई खाली पानामा हस्ताक्षर गराएर बैठकको निर्णय पछि आफैँले लेख्ने लगायतका गतिविधिहरु गर्नुले गाउँपालिका अध्यक्ष महतो चरम भ्रष्टाचारमा लागेका पाइए पछि आफुहरुले ती गतिविधिहरुको विरोध गर्दा उनी झन पन्छिन पाएका चन्द्रनगर गाउँपालिका ६ का वडाध्यक्ष राम स्वरुप कुर्मीले बताए ।

गाउँपालिकाको विकास गर्न भन्दै संघीय तथा प्रदेश सरकारबाट आएको रकम कुनै व्यक्तिले व्यक्तिगत रुपमा अनियमितता गर्दा विरोध गरेको भएपनि गाउँपालिका अध्यक्ष महतो अरु जनप्रतिनिधिहरुले गाउँ सभा गर्न नदिएको भन्दै भ्रम फैलाउँदै हिडेका चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष कुर्मीको भनाई छ । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो चरम भ्रष्टाचारमा लिप्त हुँदा कार्यालयको कामकाज पूर्ण रुपमा ठप्प भएको भन्दै स्थानीय सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरुले गाउँपालिका कार्यालय अगाडि धर्ना समेत दिएका थिए भने तलब खान नपाएको भन्दै शिक्षक तथा कर्माचारीहरुले समेत आन्दोलन गरेका थिए । आगामी आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम असार १० गते नै ल्याउनुपर्ने प्रावधान रहेको भए पनि चन्द्रनगरले सात महिना वितिसक्दा पनि चालु आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्यान नसक्दा विकास निर्माणको काम ठप्प छ भने सात महिनादेखि कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।

अध्यक्ष महतो पुगे सर्वाेच्च
बहुमत कार्यपालिका सदस्यहरुले गाउँ सभा गर्न बैठक बोलाउन भन्दै गाउँपालिका अध्यक्ष महतो र प्रमुख प्रशासकीय अधिकृत थिङ्सँग आग्रह गरी निवेदन दिएका थिए । बैठक बोलाउन दिइएको निवेदनमा तोक लगाएर सम्पर्कविहीन भएका अध्यक्ष महतो सर्वाेच्च अदालतमा उत्प्रेषण सम्बन्धी मुद्धा दायर गरेका पाइएको छ । अनौपचारिक छलफलमा गाउँकार्यपालिका बैठक बोलाउन तयार भएका गाउँपालिका अध्यक्ष महतो खुसुक्क भागेर गएर आफुहरुले निवेदन दिएको तीन दिनपछि उत्प्रेषण सम्बन्धी मुद्धा दायर गरेका चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सितारामले बताए । उनले आफैले तोक लगाएको निवेदनकाविरुद्ध तीनदिनपछि गाउँपालिका उपाध्यक्ष गीतादेवी सहित २९ जनालाई विपक्षी बनाएर उत्प्रेषण सम्बन्धी मुद्धा दायर गरेका पाइएको छ । उनी अहिले पनि गाउँपालिका गएका छैनन् ।

के छ नीतिगत कुरा ?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४
को १ (क)ले गाउँपालिका अध्यक्ष तथा नगर प्रमुखलाई दिएको अधिकार गाउँपालिका अध्यक्ष महतोले प्रयोग गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क) को ३ मा वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क) को ४ मा सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १ परिच्छेद ३ को दफा १६ को उपदफा ४ को १ (क)को १२ मा सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुस्थित हुनु परेमा उपा अध्यक्ष एवम् उप प्रमुखलाई कार्यभार दिने भन्ने अधिकार गाउँपालिका अध्यक्षलाई रहेको उल्लेख छ तर चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो विगत लामो समयदेखि गाउँपालिका भन्दा बाहिर हुँदा समेत उपा अध्यक्ष गीतादेवीलाई कुनै अधिकारी दिएका छैनन् ।

समस्या कहाँ छ ?
शिक्षा, स्वास्थ्य, कृषि, पशु र भौतिक पूर्वाधारमा सुधारका लागि गाउँपालिका अध्यक्ष महतोलाई पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि उनी गाउँपालिकाबासीको चाहना विपरित विभिन्न सञ्चार माध्याममा गएर झुठो प्रचार प्रसार गरेको र आर्थिक वर्ष २०७९÷०८० को आय÷व्यय प्रत्येक शाखाको छुट्टा छुट्टै बैंक स्टेटमेन्ट गाउँ कार्यपालिकाको करिब चार तिहाई कार्यपालिका सदस्यहरुले माग गर्दा पनि हालसम्म आलटाल गरिरहेका छन् ।

गाउँपालिकाको २०७९ श्रावण १ गते देखि २०८० आसार ३१ गतेसम्मको आंशिक आय÷व्यय दिँदा त्यसमा प्रत्येक एउटा शिर्षकमा तीन, चार ठाउँमा हिसाब देखाइएको, इन्धनमा ठूलो रकम देखाएको तर १ जना पनि जनप्रतिनिधीहरुले इन्धन र सरकारी सवारी साधन नलिएको र भ्रमण नै नगरेको ठाउँमा २ पटक भ्रमण र अन्य भ्रमण शीर्षक राखी ठूलो रकम देखाएको लगायतका कारण गाउँ सभा हुन नसकेको गाउँपालिकाकी उपाध्यक्ष गीता देवीले बताईन् । गाउँपालिकाको भौतिक तथा गाउँपालिकाबासीका दैनिकीसँग जोडिएका विषयहरुमा गाउँपालिकाको रकम खर्च नगरी गाउँपालिका अध्यक्ष महतोले अन्य व्यानरका कार्यक्रमहरुमा ठूलो रकम खर्च गरेका, औषधि खरिदमा ठूलो रकम लगानी गरिएको देखिए पनि गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सामान्य औषधी समेत छैन।

आर्थिक अनियमितता गरेका गाउँपालिका अध्यक्ष महतोले गाउँ घरमा गएर अनावश्यक भ्रामक प्रचारबाजी गरेको उपाध्यक्ष गीता देवीको आरोप छ । ३ जना कार्यपालिका सदस्य र १० जना गाउँ सभाका सदस्यहरुको साथमा रहेका गाउँपालिका अध्यक्ष महतोले बहुमतलाई बेवास्था गर्दै आफूखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफूखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिने र त्यसको आरोप चाहि गाउँपालिका उपाध्यक्ष गीतादेवी लगायतका बहुमत जनप्रतिनिधिहरुलाई लगाउने गरेका छन् । आफुहरुले रहरले नभई बाध्य भएर गाउँपालिका अध्यक्ष महतोको विपक्षमा बोल्नु परेको चन्द्रनगर गाउँपालिकाका वडा अध्यक्षहरुले बताएका छन् । चालु आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रमहरु असार १० गते नै गाउँसभा गरेर ल्याउनुपर्नेमा अध्यक्ष महतोले गाउँपालिकालाई कब्जा गरी आफ्नो स्वार्थ शिद्ध नहुँदासम्म गाउँ सभा हुन नदिएको उपाध्यक्ष गीता देवीको आरोप छ । गाउँपालिका अध्यक्ष महतोले आफूहरु बहुमतमा रहेको भएपनि कुनै सल्लाह नगरी आफुखुसी काम गर्ने गरेका कारण विरोध गर्नु परेको उनको भनाई छ । गाउँपालिकामा कर्माचारीहरु हुँदा हुँदै आसेपासेलाई पोस्न करारका कर्माचारीलाई योजना शाखाको जिम्मा दिएका गाउँपालिका अध्यक्ष महतोले आफ्नो स्वामित्वमा राखेको रकम कुन कुन शिर्षकमा खर्च गरे भन्ने हर हिसाब देखाउन नसकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button