मधेशदृष्टि
वीरगंज ।
वीरगंजमा सानो पाइला सहकारी स्थापना गरेर सर्वसाधारणको करोडौँ रुपैयाँ ठगी गरेको प्रकरण उठान भएपछि देशभरका सहकारी पीडितको निशानामा परेका गितेन्द्रबाबु (जिबी) राई र उनको टेलिभिजन साझेदार एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धिकरण आयोगले अनुसन्धान सुरु गरेको छ । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद हुनुअघि ग्यालेक्सी फोरके टेलिभिजनमा १५ प्रतिशत गोल्डेन शेयरसहितका साझेदार हुन् भने राईले वीरगंज, पोखरा, बुटवल र काठमाडौँमा सञ्चालन गरेको सहकारीको रकम लगेर टेलिभिजन सञ्चालन गरेको खुलेपछि सहकारी पीडितले लामिछानेविरुद्ध पोखरामा उजुरी दर्ता गराएपछि सहकारी प्रकरणमा लामिछाने पनि तानिएका हुन् ।
विभागले लामिछाने र राईको सम्पत्तिमाथि छानबिन सुरु गरेको छ । उसले देशभरका विभिन्न बैंकलाई पत्र लेख्दै लामिछाने र राईको नाम र समूहको आर्थिक कारोबारको विवरण माग गरेको छ । विभागले रवि–जिबीको नामका बैंकिङ विवरण उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेपछि लामिछाने पनि छानबिनको दायरामा आएका छन् ।
विभिन्न २० बैंकलाई सम्बोधन लेखिएको चिठीमा उनीहरुको बैंकिङ विवरण उपलब्ध गराउन भनिएको छ । नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई बैंक, एभरेष्ट बैंकका प्रधान कार्यालयलाई अहिलेसम्मको राई र लामिछानेको बैंकिङ कारोबारको विवरण माग गरिएको छ । त्यसैगरी, एनआइसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयलाई उत्राचार गर्दै बैंकिङ कारोबारको विवरण मागिएको छ ।
रवि–जिबी संलग्नताका सहकारीको फाइल समेत केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । सहकारी ठगीमा जोडिएका जिबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ । सहकारी ठगीका मुख्य नाइके भनिएका राई ग्यालेक्सी फोर–के टेलिभिजनका अध्यक्ष हुन् । राईविरुद्ध कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोप छ ।
लामिछानेका नाममा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिपसमेत यसअघि नै सार्वजनिक भइसकेपछि लामिछाने पनि राई समूहको १६ अर्ब रुपैयाँ ठगी प्रकरणमा जोडिएका छन् । पोखराको सूर्यदर्शन सहकारीबाट पनि रविका नाममा छुट्टै १ करोड निकालिएको पाइएको छ ।