
मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारले मधेश प्रदेशलाई विभेद गरिरहेको बताएका छन् । शुक्रबार जीतपुरसिमरा महोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले संघ सरकारले मधेशलाई सधैँ विभेद गरिरहेको बताएका हुन् ।संघीय सरकारमा जुन दलको नेतृत्व आए पनि मधेश प्रदेशलाई गर्ने व्यवहारमा विभेदकारी नै भएको उनको भनाइ छ । मुख्यमन्त्री यादवले केपी शर्मा ओली, शेरबहादुर देउवादेखि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसम्म आइपुग्दा मधेशलाई गर्ने व्यवहार उस्तै विभेदकारी भएको बताए । ‘संघ सरकारमा जोसुकै आए पनि मधेशलाई गर्ने विभेद उस्तै छ,’ उनले भने, ‘चाहे केपी ओलीको सरकार होस्, देउवाको होस् वा अहिलेको प्रचण्डको सरकार, बोली फरक भए पनि व्यवहार उही हो परिर्वतन छैन ।’
सम्बोधनक्रममा मुख्यमन्त्री यादवले संघका कर्मचारी मधेशमा सुशासनका लागि नभई पैसा कमाउन आउने गरेको आरोपसमेत लगाए । साथै, उनले संघीयताप्रति मधेशका सबै जनता एकजुट हुनुपर्ने र जुनसुकै दलमा भए पनि आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताए । मुख्यमन्त्री यादवले संघीय सरकारले विनियोजन गर्ने बजेटमा समेत मधेशलाई विभेद गरेको बताए । उनले संघीय सरकारले ६५ लाख जनसंख्या भएको मधेशलाई करिब १३ अर्ब रुपैयाँ अनुदान दिएको र १३ लाख जनसंख्या भएको कर्णाली प्रदेशलाई १९ अर्ब अनुदान दिएको उल्लेख गरे । संघीय सरकारले १७–१८ खर्ब रुपैयाँको बजेट ल्याउने गरेको र मधेश प्रदेशले ४३–४४ अर्ब रुपैयाँको बजेट ल्याउने गरेको जानकारी दिँदै प्रदेशको सबै बजेट सम्बन्धित मन्त्रालयमा पठाउने गरेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशको लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए । मधेशमा आउने पर्यटक भारतीय धेरै भएको उल्लेख गर्दै उनले भारतीय पर्यटकका लागि विशेष सहुलियत व्यवस्था गर्नुपर्नेमा जोड दिए । सीमा नाकादेखि विभिन्न स्थानमा चेकजाँच बढी भइरहेको र भारतीय पर्यटक नेपाल आउनलाई सहज नभएको उनको भनाइ थियो । मधेश प्रदेशका सबै सीमा नाकाबाट आउने भारतीय पर्यटकलाई एक हप्ताका लागि भन्सार छुट लगाइदिए पर्यटक बढ्न सक्ने र ६ महिनामा मधेशको मुहार फेरिने सक्ने बताए । मुख्यमन्त्री यादवले भन्सार शुल्क चाहिने नै भए प्रदेश सरकारले महसुल तिर्ने बताए ।
उनले वीरगंजदेखि पथलैयासम्म भारतीय पर्यटक आउँदा भन्सारमै दुई घण्टा कुराउने र १२ ठाउँमा चेकिङका नाममा दुःख दिइने गरिएको बताए । उनले भने, ‘२५ हजार रुपैयाँ बोकेर आउने कानुन छ, को आउँछ २५ हजार रुपैयाँ लिएर घुम्न ?’






