
मिधेशदृष्टि
वीरगंज ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध लिखत कसुरसम्बन्धी (किर्ते) मुद्दा दर्ता भएको छ । फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता भएको हो । निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध मेडिकल कलेजका नवनियुक्त प्रबन्ध निर्देशक शाहनबाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएको पर्सा जिल्ला अदालत प्रशासनले जनाएको छ ।
अदालतका अधिकृतका अनुसार, अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिनविरुद्ध मिसिल नम्बर ०८०–सिपी–०८७१ मुद्दा दर्ता भएको छ । मुद्दामा तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दिनले अस्पतालका कर्मचारीलाई उचालेर श्रम कार्यालय वीरगंजमा ट्रेड युनियन दर्ता गराउन लगाएको उल्लेख छ । श्रम कार्यालय वीरगंजले ट्रेड युनियन दर्ता किन गर्ने भनी अस्पतालबाट जवाफ माग गरेपछि फागुन ४ गते प्रबन्ध निर्देशकबाट हटिसकेका बसरुद्दिनले अस्पतालको छाप र हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको छ ।
कलेज सञ्चालक समितिले पदबाट हटाइसकेपछि पनि बसरुद्दिनले फागुन १० गते प्रबन्ध निर्देशककै रूपमा श्रम कार्यालय वीरगंजमा अस्पतालका तर्फबाट हस्ताक्षर गरेर पत्र बुझाएपछि किर्ते मुद्दा दर्ता भएको हो । यसैबीच, अस्पताल व्यवस्थापन समूहबीच विवाद भएपछि मौकामा फाइदा लिने उद्देश्यले नेशनल मेडिकल कलेज व्यवस्थापनविरुद्ध कर्मचारीहरु दुई दिनदेखि आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले आन्दोलनमार्फत ८ कर्मचारीको निलम्बन फुकुवा मागसहित १२ बुँदे माग अघि सारेका छन् ।
कर्मचारीले नेशनल मेडिकल नाफामा भए १५ प्रतिशत बोनस उपलब्ध गराउन, कार्यरत कर्मचारीको बुवाआमा, श्रीमानश्रीमती, छोराछोरीलाई अस्पतालमा उपचार गराउँदा खर्चमा ९० प्रतिशत छुट दिन, कर्मचारीलाई पोशाक भत्ताबापत वार्षिक डेढ लाख रुपैयाँ उपलब्ध गराउनसहित १२ बुँदे माग अघि सारेका छन् । यसअघि चुपचाप कर्मचारी अन्सारी दाजुभाइबीच सम्पत्तिमा विवादमा मुछिएपछि आन्दोलनमा उत्रिएका हुन् ।






