
महेश कठायत
काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले लोसपा परित्याग गरी नयाँ अभियान घोषणा गरेका छन् । सोमबार काठमाडौँमा विशेष पत्रकार सम्मेलन गर्दै महतोले नयाँ अभियानबारे जानकारी दिए । पत्रकार सम्मेलनमा नेता महतोले आफूले लोसपा त्यागेको औपचारिक घोषणा त गरेनन् तर, उनले ‘लोसपा पूर्व पार्टी’ भएको भन्दै कुटनीतिक भाषा प्रयोग गरे । पत्रकार सम्मेलनक्रममा झन्डै १५ मिनेट लिखित सम्बोधन गरेका नेता महतोले राष्ट्रिय मुक्ति क्रान्तिले वर्तमान शासन व्यवस्था र संविधानमा परिवर्तन ल्याउने दाबी गरे ।
‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका नेता महतोले वर्तमान राजनीतिक शक्ति संरचनाकै विकल्प खोज्नु सम्भव मात्र नभई अनिवार्य भएको बताए । नेता महतोले राज्य र समुदायबीच सम्बन्धविच्छेदको मनोविज्ञान तीव्र रूपमा बढिरहेको बताउँदै भने, ‘यसलाई नरोक्ने हो भने देश गम्भीर दुर्घटनामा कुनै पनि बेला फस्न सक्दछ । यो दलदलबाट मुलुकलाई निकाल्नु अनिवार्य बन्न गएको छ ।’
विगतमा एकलरूपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पीडा र असफलताबाट सबक लिँदै राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नरहेको उनले बताए । नेपालको संविधान २०७२ राजनीतिक सैद्धान्तिक र वैचारिक पश्चिमा ज्ञानसत्ताको जगमा जारी हुन पुगेको टिप्पणी गर्दै उनले वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र औपनिवेशिक र परशासित रहेकाले वर्तमान संविधानले नेपाली जनताको स्वाभिमान बोक्न नसक्ने दाबी गरे । एकल राष्ट्रिय राज्यको चिन्तनबाट संविधान निर्माण र राज्य सञ्चालन भएकाले नेपाल सबै नेपालीको लागि बन्न नसकेको उनको भनाइ छ ।
लोसपाभित्र बसेर राष्ट्रिय मुक्ति क्रान्तिको सम्भावना नभएको हो ? भन्ने मधेशदृष्टिको प्रश्नमा नेता महतोले लोसपाले मुलुक र जनताका लागि काम गर्न नसकेको र पार्टी सत्ता सञ्चालनमा लिप्त भएका कारण लोसपामै बसेर क्रान्ति अभियान सम्भव नभएको सुनाए । त्यसक्रममा उनले राष्ट्रिय क्रान्तिका लागि लोसपा पनि सरकार छाडेर जनतामाझ आउनुपर्ने सुझाए ।
रुपान्तरणको बहस र नयाँ दलमाथि आशंका
वर्तमान अवस्थाको अनिश्चितता र भ्रम चिर्न भन्दै उदय भएका वैकल्पिक शक्ति र पुराना पार्टीमा देखिएको रुपान्तरणको बहस अवसरवादका रुपमा देखिएको नेता महतोले टिप्पणी गरे । कांग्रेस र कम्युनिष्टका कारण सभ्यतासंस्कृतिलाई असभ्य भनिएको र बहुलता, पहिचानलाई इन्कार गर्ने काम भएको भन्दै उनले नेपालीलाई पश्चिमा र विदेशमुखी बनाइएको अरोप लगाए । लोकतन्त्र, मानवअधिकार, विकास र समाजवादको बहस सम्भ्रान्तीय झुट, जनता झुक्याउने र ठग्ने प्रपञ्च साबित भएको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेता महतोले नेपाली समाजभित्र ठूलो बिचलनको स्थिति पैदा भएको र वर्तमान अनिश्चितता तथा भ्रमको मूल कारणको विश्लेषण गर्दै नयाँ कार्यदिशा संश्लेषण गर्नु वाञ्छनीय भएको बताए । पूर्वीय सभ्यतामा आधारित रहेको स्वदेशीय दर्शनमार्फत स्वदेशवादको पुनःस्थापना जरुरी भइसकेको उनको भनाइ थियो ।
‘पहिचानको आन्दोलनबारे गलत प्रचार’
संविधान निर्माणक्रममा तराई मधेशमा भएका आन्दोलनलाई पहाडविरोधी, जातीय, साम्प्रदायिक र भारतद्वारा सञ्चालित जस्ता गतल प्रचारका कारण मधेश थरुहटका जनताको आन्दोलन तुहिन पुगेको नेता महतोले बताए । एकल नश्लीय शासन व्यवस्थाविरुद्ध विगतमा भएका आन्दोलन शासकीय षड्यन्त्रको सिकार भई अधूरो रहन पुगेको र जनताले चाहेको राजनीतिक उपलब्धी प्राप्त हुन नसकेको उनको ठहर छ । ‘उत्पीडित राष्ट्रियता तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्तरूपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणका निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अर्थात् सम्पूर्ण क्रान्ति आवश्यक भइसकेको छ,’ नेता महतोले भने । विगतमा भएका विभिन्न शासनकालबारे नेता महतोले टिप्पणी गरे, ‘शाह राजाहरूको शासन केबल वंशका निम्ति, राणाहरूको शासन जहानका निम्ति, प्रजातन्त्रदेखि गणतन्त्रसम्मको शासन केबल एउटा नश्लको निम्ति मात्र आत्मगौरवको सत्ता हुन गयो ।’
विकल्पसहितको विद्रोहः झा
नेता राजेन्द्र महतोसँगै लोसपाबाट अलग्गिएर राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा जोडिएका नेता केशव झाले आफूहरुले थालेको अभियान विकल्पसहितको विद्रोह भएको प्रतिक्रिया दिए । राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणापछि मधेशदृष्टिसँग संक्षिप्त कुराकानीमा नेता झाले आफूहरुले थालेको गतिविधि विकल्पसहितको विद्रोह भएको प्रतिक्रिया दिए । अहिलेको परम्परावादी राजनीतिक प्रणालीले कुनै समाधान दिन नसक्ने भन्दै नेता झाले अभियान, संघर्ष र निरन्तरता गरी तीन चरणमा मिसन पूरा गर्ने लक्ष्य राखेको र यही बीचमा पार्टी पनि निर्माण हुनसक्ने बताए ।






