
वीरेन्द्र रमण
जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच टकरावको अवस्था सिर्जना भएको छ । महतोले फागुन १४ गते सोमबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय मुक्ति क्रान्तिका लागि अभियानका विषयमा जानकारी दिने तयारी गरेका छन् । उनले सोही दिन राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर आफ्नो अभियानका विषयमा जानकारी दिने कार्यक्रम रहेको लोसपाका नेता केशव झाले जानकारी दिए ।
उनले फागुन १५ गते महेश्वरी सदनमा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम आयोजना गरेका छन् । फागुन १६ गते प्रशिक्षणमा आएका कार्यकर्तालाई लिएर निषेधित क्षेत्र तोड्दै विरोध प्रदर्शन गर्ने तयारी गरिएको छ । यसका लागि हरेक ठाउँबाट कार्यकर्तालाई आह्वान गरेर संघीय राजधानी काठमाडौँ बोलाएका छन् । महतोले पार्टीमा आफनो शक्ति देखाउनसमेत विरोध प्रदर्शनका नाममा कार्यकर्ता उतार्न लागेका हुन् । यसका लागि तराई मधेश र पहाडबाट कार्यकर्तालाई काठमाडौँ बोलाइएको छ ।
महतोले कार्यकर्ता बोलाएर प्रशिक्षण र शक्ति प्रदर्शनको तयारी गरेपछि अध्यक्ष महन्थ ठाकुरले महतोको प्रशिक्षणमा कार्यकर्तालाई नजान सार्वजनिकरुपमै आह्वान गरेका छन् । पार्टी प्रवक्ता डा. आभाष लाभले लोसपाको कुनै प्रकारको प्रशिक्षण राजधानी काठमाडौँमा आयोजना नगरिएको भन्दै सबै जिल्ला अध्यक्षका नाममा परिपत्र गरेका छन् । महतोको अभियान असफल पार्न आफ्नो कार्यकर्तासमेत परिचालन गरेका छन् ।
महतोले पार्टीमा ठाकुरको नेतृत्वपछि असन्तुष्ट अधिकांश कार्यकर्ता राजधानीमा बोलाएका छन् । महतोले प्रशिक्षणबाट क्रान्ति अभियान सञ्चालनको तयारी गरेका छन् । तर अध्यक्ष ठाकुर पक्षधर नेता महतोको अभियान रोक्न र निस्तेज बनाउन क्रियाशील देखिएका छन् ।






