
मिश्रीलाल मधुकर
जनकपुरधाम ।
सन्त शिरोमणि रविदासको ६४७ औँ जन्मजयन्ती जनकपुरधामको बाह्रविघा मैदानमा प्रकाश मेहराको अध्यक्षतामा भव्यताका साथ मनाइएको छ । जयन्ती समारोहमा प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश अध्यक्ष रामचन्द्र मण्डल रहेका थिए । प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने, ‘नेपालमा मोचीको जनसंख्या ३ लाख ९३ हजार २५५ रहेको छ, जुन कुल जनसंख्याको १ दशमलव ३५ प्रतिशत हो । तर सामाजिक, आर्थिक र शैक्षिक हिसाबले निकै पिछडिएको छ । साक्षरता कम छ । चमार जातिमा अझै पनि छुवाछुत, अन्धविश्वास र लागुऔषध दुव्र्यसन व्याप्त छ, त्यसलाई हटाउन जनचेतना ल्याउनु पर्छ ।’
१५औँ शताब्दीमा जन्मेका रवि दासले नै यी सबै विभेद विरुछ लडेको मण्डलले बताए । मण्डलले भने, ‘समाजमा उनले दोहोरी र भजन मार्फत जनतालाई जागृत गर्ने काम गरे । मन चंगा तो कटौती मे गंगा । यो भनाइ आज जनमानसमा प्रचलित छ । उहाँको मार्गमा हिँड्नुपर्ने आजको आवश्यकता छ ।’ उनले भने, ‘जबसम्म चमारलगायत सबै दलितले भारतमा जस्तो आरक्षण नपाए दलित समाज बिकास हुदैन् । आज दलितहरुमा पहिले जस्तो छुवाछुत छैन तर विभेद कायमै छ ।’
कार्यक्रममा सञ्जय कुमार यादव, विधायक लखन दास, रामनाथ मेहरा, विपत्ती मानव, दिनेश पुर्वे लगायतको उपस्थिति थियो । रवि दास जयन्तीको कार्यक्रममा गाउँ–गाउँबाट ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।





