दर्जनौं अवैध अस्पताल सञ्चालनमा, हुँदैन अनुगमन

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
रौतहटमा मापदण्ड पुरा नगरी खोलिएका दर्जनौं निजी अवैध अस्पतालमा झोले डाक्टरहरुले उपचार गरी एकतर्फ सयौं नेपालीको ज्यानसँग खेलवाड गरिरहेका छन् । उपचारको नाममा त्यस्ता अस्पतालमा बिरामीसँग लाखौं रुपैयाँ लुटिरहेका छन् तर नियमनकारी निकाय मौन बसेको गुनासो बढ्दै गएको छ । नियमनकारी कुनै पनि निकायबाट उक्त अवैध अस्पतालको अनुगमन निरीक्षण भएको देखिएको छैन । त्यसको ज्वलन्त उदाहरणको रुपमा रहेको छ शिवनगरस्थित आनन्द होस्पिटल । जिल्लाको मध्यभाग गरुडा नगरपालिका शिवनगर स्थित बर्षौदेखि अवैधरुपमा मापदण्ड पुरा नगरी आनन्द होस्पिटल प्राली सञ्चालनमा रहेको छ ।

प्यारालाइसिस पक्षाघात (लकवा) रोगको ग्यारेन्टी उपचारको नाममा झोले डाक्टर उमेश प्रसाद जैसवालले प्रत्येक विरामीसँग एक देखि डेढ लाख रुपैयाँसम्म लुट्दै आएका छन् । तर नियमनकारी कुनै पनि निकायले हालसम्म नियमन अनुगमन गरेको छैन । स्थानीय प्रशासन, स्थानीय निकाय अथवा औषधी व्यवस्था विभाग वीरगंज मुकदर्शक बनेको छ । आनन्द पोलिक्लिनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएर २०७६ फागुन १३ गते गरुडा नगरपालिकामा नविकरण गरेको तथ्यांक रहेको छ । तथ्यांकमा आनन्द पोलिक्लिनिक एक्युपञ्चर रहेको छ तर यथार्थमा आनन्द होस्पिटल प्रा लि नाम राखेर बर्षौदेखि संचालन गर्दै आएका जैसवालले विरामीहरुसँग लाखौं रकम लुट्दै आएका छन् । अस्पतालमा बेड राख्ने प्रक्रिया पुरा नै नगरी दर्जनौ बेड राखेर नक्कली डाक्टर उमेश प्रसाद जयसवालले विरामीहरुको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलवाड गरिरहेका छन् ।

स्थानीय स्रोतका अनुसार जैसवालले नियमनकारी निकायलाई पैसाको प्रभाव र राजनीतिक दवाबमा पारेर अहिलेसम्म विरामीलाई उपचार गर्ने निहुँमा लुट्दै आएका छन् । गाउँ गाउँमा दलाल राखेर पक्षाघात भएका विरामीहरुलाई आफ्नो हस्पिटलमा ल्याएर उपचारको नाममा उनले आर्थिक लुट मच्चाउँदै आएका छन् । झण्डै एक दशकदेखि उनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित गैरकानुनी रुपमा होस्पिटल संचालन गर्दै आएको स्थानीयहरूले बताएका छन् । निजी स्तरको होस्पिटल संचालन गर्न नेपाल सरकारको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागद्धारा निर्धारण गरिएको परिपत्र अनुसार २८ वटा बुँदामा लेखिएकका पूर्वाधार पूरा गर्नुपर्दछ । तर बिना पूर्वाधार आनन्द होस्पिटल प्रा लि गैरकानुनी रुपमा संचालन रहँदा कुनै पनि निकायबाट कारवाही नगरिएको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । आनन्द हस्पिटल एउटा उदाहरण मात्र हो रौतहट जिल्लाको प्रायः सबै पालिकामा मापदण्ड विपरित दर्जनौं निजी अस्पताल सञ्चालनमा रहेका छन् ।

अवैध रुपमा सञ्चालित त्यस्ता अस्पतालहरुमा एकातर्फ विरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् भने अर्को तर्फ उपचारको नाममा बिरामीसँग लाखौं लाख असुल गरिरहेका छन् । यस्तै गुनासो आएपछि केही महिना अघि जिल्ला प्रशासन र जिल्ला प्रहरीको संयुक्त टोलीले शुकदेव चौक स्थित एक निजी अस्पतालमा छापामारी तीनजना भारतीय नक्कली डाक्टरलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याएको थियो । पालिका भित्र कसैले पनि बिना मापदण्ड पुरा गरी अस्पताल, क्लिनिक, मेडिकल सञ्चालन गरेर नागरिकको स्वास्थसँग खेलवाड गर्छ भने त्यस्तालाई कारवाहीको दायरामा ल्याउने अधिकार स्थानीय निकायसँग रहेको छ । तर विभिन्न राजनीतिक प्रभावको कारण जिल्लाको १८ स्थानीय तह मध्ये प्रायः कुनै पनि पालिकाले अहिलेसम्म अनुगमनको पहल गरेको देखिएन ।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैरकानुनी रुपमा जिल्लामा सञ्चालनमा रहेको निजी अस्पतालहरूमा अनुगमन गर्ने पहिलो अधिकार स्थानीय निकायको रहेको बताए । तर स्थानीय तहसँगै अन्य निकायले ध्यान नदिँदा जिल्ला प्रशासनबाट चाँडै अनुगमन शुरु गर्ने तयारी भइरहेको प्रजिअ रेग्मीले बताए । शिक्षा र स्वास्थ्य जस्ता नागरिकसँग प्रत्यक्ष सरोकारको विषयमा स्थानीय प्रशासनसँगै स्थानीय निकायका प्रमुखहरुको पनि ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button