
सञ्जय मिश्रा
रौतहट ।
मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराएर छाड्ने उदघोष गरेकी छन् । मौलापुरले शुक्रबार पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा गरेको पत्रकार सम्मेलनमा मेयर साहले बर्सेनी हुँदै आएको महोत्सवले मौलापुरको सामाजिक, आर्थिक र धार्मिक विकास भएको चर्चा गर्दै पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदासूचीमा समावेश गराउने पहिलो लक्ष्य रहेको बताइन् ।
मौलापुरमा हुन गइरहेको मधानी महायज्ञ महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली सुपरस्टार पल शाह, अन्तर्राष्ट्रिय कुस्ती खेलाडी बबिता फोगाट आउने बताइएको हो । महोत्सवमा भारतीय भोजपुरी सिनेमाकी कलाकार निलम गिरी, रमाकान्त प्रसाद, नन्दु श्रीवास्तव, मधेश प्रदेशका चर्चित कलाकार रबिराज सुनिल पण्डित, रचना शिवाकोटीलगायत ३० जना कलाकारको प्रस्तुति हुने पत्रकार सम्मेलनमा बताइएको थियो ।
नगरपालिकाको कार्यपालिका बोर्डबाट निर्णय गरी महोत्सवका लागि ६० लाख रुपैयाँ छुट्याइएको छ । नगरको ६० लाख रुपैयाँ लगानीमा हुने महोत्सवमा १० लाख भन्दा बढी अवलोकनकर्ता आउने बताइएको छ । महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने बताइएको छ । मौलापुर नगरपालिकाले २०७४ देखि गर्दै आएको मधानी महोत्सव यसवर्ष फागुन २२ गतेदेखि २६ गतेसम्म चल्ने पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
मधानी महायज्ञलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याइने तथा पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित हुने मधानी महोत्सवमा भगवान शिव–पार्वतीको वैवाहिक उत्सवका रुपमा मनाइने तयारी छ । फागुन २३ गते साँझ ५ बजे भगवान शिवको बारात यात्रा, २५ गते सांस्कृतिक विशेष समारोह तथा २६ गते अन्तर्राष्ट्रिय कुस्ती दंगल हुनेछ । साथै, पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ देखि मौलापुर नगरपालिकामा मधानी महायज्ञ हुँदै आएको छ । पहिलो वर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञ उद्घाटन गरेकी थिइन् । महाशिवरात्रीका अवसरमा भगवान शिवको विशेष पूजा मधानी महायज्ञमा गरिनेछ ।
महायज्ञ पारेर हजारौँ भक्तजन महादेव स्थानमा जल चढाउने गर्दछन् । परापूर्वकालदेखि रौतहट, बारा, पर्सा र सर्लाहीमा मात्र मधानी महायज्ञ हुने गरेको छ । तर मौलापुरमा सप्ताहव्यापीरुपमा मधानी महायज्ञ हुनथालेपछि अहिले अन्तर्राष्ट्रियकरण भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।
मौलापुरमा हुने सप्ताहव्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि विशेष महत्व दिइने गरिन्छ । झण्डै एकसातासम्म चल्ने मौलापुर मधानी महायज्ञका अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसँगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौँ अवलोकनकर्ता आउने गर्दछन् । मौलापुरसँगै आसपासका पालिकाअन्तर्गतका प्रायः सबै घरमा पाहुनाले भरिने गरेको छ । गतवर्ष भएको मधानी महायज्ञका अवसरमा ६ लाख भन्दा बढीले अवलोकन गरेको मौलापुर नगरपालिकाले आँकलन गरेको थियो । यसपटकको महोत्सवमा १० लाख मानिस सहभागी हुने मौलापुर नगरपालिकाले लक्ष्य राखेको छ ।






