सप्तरी जसपामा फेरि असन्तुष्टि

[mashshare]

मधेशदृष्टि
सप्तरी ।
सप्तरीको निर्वाचन क्षेत्र ४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अनिरूद्व प्रसाद सिंह यादव अघिल्लो शनिबार जनता समााजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेपछि स्थानीय भूगोलमा भने जसपाकै पुराना नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । बोदेबर्साइन नगरपालिकामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा यादव जसपामा औपचारिक रुपमा प्रवेश गर्दा पार्टी अध्यक्ष उपेन्द्र यादव, पार्टीका नेता एवम् मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य एवम् जसपा मधेश प्रदेश इञ्चार्ज मृगेन्द्र कुमार सिंह यादव पनि उपस्थिति थिए । तर यसले खडकपुर र बोदेबर्साइनमा भने असन्तुष्टि फेरि बढेको पाइएको छ ।

२०७९ मंसिरमा भएको निर्वाचनमा जसपाबाट टिकट नपाएपछि यादव स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका आधिकारिक उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरे । मधेश प्रदेशमा रहेका तीन स्वतन्त्र सांसद जसपामा प्रवेश गराउने जसपा अध्यक्ष उपेन्द्र यादवको योजना सफल भए पनि अनिरुद्धको प्रवेशपछि भने सप्तरी जसपामा फेरि असन्तुष्टि देखिएको हो ।

प्रदेश सभामा जसपाबाट निर्वाचित अभिषेक यादव दोस्रो पटक उम्मेदवार बन्दा पराजित भएका हुन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका अनिरुद्धलाई सहयोग गरेको भन्दै जसपा स्थानीय नेतृत्वले मृगेन्द्रकुमार सिंह यादवलगायतलाई कारबाहीको माग पनि गरेको थियो । तर मृगेन्द्र नै मधेश प्रदेश इञ्चार्ज छन् । पार्टीमा बढेको असन्तुष्टि चुलिँदा सप्तरीमा रेणु यादवलगायतका नेताहरुले समानान्तर जिल्ला कमिटी पनि बनाएका थिए । पछि उपेन्द्र यादव आफैँ सप्तरी बसेर विवाद मिलाएका थिए । तर पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर जितेका उम्मेदवारलाई पार्टीमा प्रवेश गराउँदा पुराना नेता कार्यकर्तासँग सल्लाह नभएको भन्दै जसपामा असन्तुष्टि चुलिएको छ ।

‘भव्य कार्यक्रम गरेर बागी उम्मेदवारलाई भित्र्याइयो, केही छलफल र सरसल्लाह नै भएन,’ नेतृ रेणु यादवले भनिन्, ‘यो विषयमा कुनै छलफल नगरेकाले पार्टी भनेर लागेका स्थानीय पुराना नेता कार्यकर्तामा असन्तुष्टि हुनु स्वाभाविकै हो, कम्तीमा उहाँसँग पुराना नेता कार्यकर्ताहरुलाई हात मात्र मिलाएको भए पनि हुने थियो ।’ ‘पार्टीका उम्मेदवार हार्ने, बागीले जित्ने, पार्टीका नेता नै जिताउन लाग्ने घटनामा अनुशासनको कारबाही माग भइरहँदा पार्टीमा अरु नेता थपिनु नराम्रो होइन,’ यादवले थपिन्, ‘तर एकतर्फी प्रवेश कार्यक्रम राखियो, संघ, प्रदेश, पालिकामा हारको चोट कायमै भएको अवस्थामा देखिएको असहजता मिलाउने कामसमेत नेतृत्वले नगरेकाले स्थानीय नेता कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।’ पार्टी अध्यक्ष नै हार्नु भएको क्षेत्रमा नैतिकताको जिम्मेवारी लिनु पर्ने व्यक्तिहरु नै कुनै कारबाहीमा नपरेपछि यसले इमान्दार नेता कार्यकर्तामा असन्तुष्टि बढ्नु सामान्य भएको यादवले बताइन् ।

मृगेन्द्र सिंह परिवार र रेणु यादव परिवारबीच पुरानो घरानियाँ द्वन्द्वले पनि जसपाका नेताकार्यकर्ता विभाजित भएको भन्दै अध्यक्ष उपेन्द्र यादवले मिलाउने प्रयत्न गरेको बुझिएको छ । तर अनिरुद्ध सिंहको प्रवेशले पार्टीमा प्रदेश सांसद बढेपछि अध्यक्ष यादवकै गृहजिल्लामा मत्थर भएको विवाद भने भित्रभित्रै फेरि बढेको छ । लोसपाबाट जसपा बन्दा राजेन्द्र महतो खेमाका मृगेन्द्र यादव जसपामा बसेर पार्टीको मधेश प्रदेश इञ्चार्ज, राष्ट्रिय सभा सदस्य बन्दा रेणु यादव र उनी पक्षधर भने पाखा पारिएका हुन् । मृगेन्द्रजस्तै महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा समेटिएका छन् । यो पनि तपाईंहरुलाई जानकारी होस् कि, सप्तरीको निर्वाचन क्षेत्र ४ (ख) बाट प्रदेश सभामा हारेका अभिषेक यादव रेणु यादवकी छोरा हुन् भने बागी उठेर जितेका अनिरुद्ध सिंह यादव, मृगेन्द्र सिंह यादवका भाइ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button