‘द फेसबुक’देखि फेसबुकसम्म

[mashshare]

आज तीन अर्ब भन्दा बढी मानिसहरूले हरेक दिन कम्तिमा मेटाको एउटा उत्पादन प्रयोग गर्छन् । केही मानिसहरूले फेसबुक र अन्य प्रतिस्पर्धात्मक सामाजिक प्लेटफर्महरूलाई सम्पर्क निर्माण (कनेक्ट) गर्न सशक्त उपकरणको रूपमा हेर्छन् भने यसका आलोचकहरुले यी प्लेटफर्महरुलाई गलत लत निम्त्याउने विनाशको एजेन्टको रूपमा हेर्छन् ।

अफरोज अर्पण

‘द फेसबुक’ । यो २० वर्ष अघिको कुरा हो जब मार्क जुकरबर्गले आफ्ना केही साथीहरूसँग यसलाई सुरु गरेका थिए । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म त्यसयता दर्जनौं पटक पुनः डिजाइन गरिएको छ । स्थापनाको एक वर्षभित्र ‘द फेसबुक’बाट ‘फेसबुक’ बनाइएको यसको एउटै उदेश्य छ, मानिसहरुलाई अनलाइन जोड्ने अर्थात् उनीहरुबीच सम्पर्क निर्माण गर्ने र विज्ञापनमार्फत पैसाको पहाड बनाउने । फेसबुक सुरु भएको २० वर्ष पूरा भएको छ । फेसबुकसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराहरू हेरौं ।

१. फेसबुकले सामाजिक सञ्जालको खेल परिवर्तन गर्यो
MySpace जस्ता सामाजिक सञ्जालहरू फेसबुक सुरु हुनुभन्दा पहिले नै अवस्थित थियो, तर मार्क जुकरबर्गको साइटले २००४ मा फेसबुकको सुरुवात गर्यो र प्रमाणित गर्यो कि यस प्रकारको अनलाइन साइट कत्तिको प्रभावशाली हुन सक्छ । एक वर्षभन्दा कम अवधिमा फेसबुकका १० लाख प्रयोगकर्ता थिए । चार वर्ष भित्र यसले MySpace लाई पछाडि छोड्यो । तपाईंसँग डिजिटल क्यामेरा(मोबाइल) हुनु र तपाईले खिचेको तस्बिरहरुमा तपाईका साथीहरूलाई ‘ट्याग’ गर्नु, सन् २००० को दशकको उत्तरार्धमा किशोरकिशोरीहरूको जीवनको एक हिस्सा थियो । सन् २०१२ सम्ममा फेसबुकका एक अर्बभन्दा बढी प्रयोगकर्ता थिए । सन् २०२१ को अन्तिम महिनामा पहिलो पटक फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९२ करोडमा झरेको थियो । यदि हामीले यसलाई छोड्यौँ भने, यो प्लेटफर्म बाँकी समयको लागि निरन्तर उकालो चढिरहेको छ ।

फेसबुकले कनेक्टिभिटीका हिसाबले पछाडि परेका देशहरूमा पनि पुग्यो र निःशुल्क इन्टरनेट उपलब्ध गराएको थियो । यो कम्पनी लगातार फेसबुक प्रयोगकर्ताको संख्या बढाउन सफल भएको छ । २०२३ को अन्त्यमा, फेसबुकले यो सामाजिक प्लेटफर्म हरेक दिन प्रयोग गर्ने दुई अर्ब भन्दा बढी प्रयोगकर्ताहरू रहेको जानकारी दियो । यो तथ्य हो कि फेसबुक पहिलेको जस्तो युवाहरुमाझ लोकप्रिय नभएपनि यो संसारको सबैभन्दा लोकप्रिय सामाजिक नेटवर्क साइट हो र यसले अनलाइन सामाजिक गतिविधिको नयाँ युगको ढोका खोलेको छ । केही मानिसहरूले फेसबुक र अन्य प्रतिस्पर्धात्मक सामाजिक प्लेटफर्महरूलाई जोड्न (कनेक्ट गर्न) सशक्त उपकरणको रूपमा हेर्छन् भने यसका आलोचकहरुले यी प्लेटफर्महरुलाई गलत लत निम्त्याउने विनाशको एजेन्टको रूपमा हेर्छन् ।

२. व्यक्तिगत डेटालाई मूल्यवान बनाइयो तर गोपनीयतामा हस्तक्षेप गरियो
फेसबुकले हाम्रो लाइक र डिसलाइकको जानकारी सङ्कलन गर्नु निकै फाइदाजनक रहेको प्रमाणित गरेको छ । आजकल, फेसबुकको मूल कम्पनी, मेटा, ‘विज्ञापनको विशाल’ अर्थात् विज्ञापन संसारको राजाको स्थितिमा छ । मेटा र गुगल जस्ता कम्पनीहरूले विश्वव्यापी रूपमा विज्ञापनमा खर्च हुने पैसाको सबैभन्दा ठूलो हिस्सा प्राप्त गर्छन् । मेटाले सन् २०२३ को तेस्रो त्रैमासिकमा ३४ अर्ब डलर अर्थात् करिब २८ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको बताएको छ । यसमध्ये ११ अर्ब ५० करोड डलर अर्थात करिब ९ खर्ब ५५ अर्ब रुपैयाँ बढी नाफा भएको छ । अधिकांश आम्दानी लक्षित विज्ञापन सेवाहरू मार्फत आयो । तर फेसबुकले डाटा सङ्कलन कसरी दुरुपयोग गर्न सकिन्छ भनेर पनि देखाएको छ । मेटालाई व्यक्तिगत डाटा सही तरिकाले प्रयोग नगरेको (गलत ह्यान्डलिङ गरेको) आरोपमा धेरै पटक जरिवाना गरिएको छ ।

सन् २०१४ को क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सबैभन्दा धेरै सार्वजनिक चर्चा भएको मुद्दा थियो । फेसबुकले यो मामिला सुल्झाउन ७२० मिलियन डलर भन्दा बढी तिर्न सहमत भएको थियो । सन् २०२२ मा फेसबुकले ईयूले लगाएको २६ करोड ५० लाख युरो जरिवाना तिरेको थियो । यो जरिवाना फेसबुकको साइटबाट व्यक्तिगत डाटा निकालेको कारण लगाइएको हो । गत वर्ष, आयरिश डाटा संरक्षण आयोगले यस कम्पनीलाई १.२ बिलियन युरोको रेकर्ड जरिवाना लगाएको थियो । यो जरिवाना युरोपेली प्रयोगकर्ताहरूको डाटा क्षेत्राधिकार बाहिर स्थानान्तरण गरेको कारण लगाइएको थियो । फेसबुकले जरिवानाविरुद्ध अपिल गरेको छ ।

३. फेसबुकले इन्टरनेटलाई राजनीतिकरण गर्यो
फेसबुकले विज्ञापनको सुविधा प्रदान गर्दछ । यसले फेसबुकलाई विश्वभर चुनाव प्रचारको लागि एक प्रमुख प्लेटफर्म बनाएको छ । उदाहरणका लागि, २०२० मा, जब अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पाँच महिना मात्र बाँकी थियो, तब राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले फेसबुकको विज्ञापनमा ४ अर्ब डलरभन्दा बढी खर्च गरेको थियो । यो तथ्यांक स्ट्याटिस्टा रिसर्चले सार्वजनिक गरेको हो । तल्लो तहको राजनीतिलाई परिवर्तन गर्न फेसबुकले पनि भूमिका खेलेको छ । यसले समूहहरूलाई सँगै आउन, अभियानहरू चलाउन र विश्वव्यापी कार्यको योजना बनाउन सहयोग गर्छ । अर्ब वसन्तको समयमा, फेसबुक र ट्विटरको भूमिकालाई विरोध प्रदर्शनहरू व्यवस्थित गर्न र भूमिमा घटेका घटनाहरूको समाचारहरू फैलाउन महत्त्वपूर्ण मानिएको थियो । तर, केही नतिजाका कारण फेसबुकको राजनीतिक प्रयोगको आलोचना पनि भइरहेको छ । मानवअधिकारमा पर्ने असर पनि यसमा समावेश छ । सन् २०१८ मा फेसबुकले संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा सहमति जनायो । यो रिपोर्टले म्यानमारमा रोहिंग्या मानिसहरू विरुद्ध हिंसा भड्काउने क्रममा प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्म प्रयोग गर्नबाट रोक्न असफल भएको जनाएको छ ।

४. फेसबुक मार्फत मेटा प्रभुत्व
फेसबुकको ठूलो सफलताको माध्यमबाट, मार्क जुकरबर्गले सामाजिक सञ्जाल बनाए र प्राविधिक साम्राज्य निर्माण गरे । प्रयोगकर्ताको संख्या र यसको माध्यमबाट प्राप्त शक्ति अतुलनीय छ । फेसबुकले ह्वाट्सएप, इन्स्टाग्राम र ओकुलस जस्ता उदीयमान कम्पनीहरू किनेको छ । यसलाई फेसबुक अन्तर्गत ल्याइएको थियो र पछि सन् २०२२ मा यस कम्पनीको नाम परिवर्तन गरी मेटा राखिएको थियो । आज तीन अर्ब भन्दा बढी मानिसहरूले हरेक दिन कम्तिमा मेटाको एउटा उत्पादन प्रयोग गर्छन् ।

जब मेटाले आफ्नो प्रतिस्पर्धीको कम्पनी किन्न असमर्थ हुन्छ, यसले प्रायः उनीहरूलाई नै प्रतिलिपि गरेको आरोप लगाउँछ । ताकि उसले आफ्नो वर्चस्व कायम राख्न सकोस् । फेसबुक र इन्स्टाग्रामको ’डिसपियरिङ स्टोरीज’ फिचर स्न्यापच्याटको महत्त्वपूर्ण फिचरसँग मिल्दोजुल्दो छ । इन्स्टाग्राम रिल्स भिडियो सेयरिङ एप टिकटकलाई टक्कटर दिन मेटाको जवाफ हो । मेटा थ्रेड्स सामाजिक प्लेटफर्म एक्स (पहिले ट्विटर) को विकल्प प्रदान गर्ने प्रयास हो ।

५. बालबालिकामा नकरात्मक असर
फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति उनीहरुका परिवारसँग माफी मागेका छन् । गत हप्ता जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै आफ्ना बच्चाहरूको तस्वीर राख्ने अभिभावकसँग अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा माफी मागेका हुन् । सिनेट सदस्यहरुले जुकरबर्गसहित अन्य सामाजिक सञ्जालहरु टिकटक, स्न्याप, एक्स र डिस्कर्डका मालिकहरूसँग बालबालिकामा हुने हानी रोक्न उनीहरू के गर्दैछन् भनेर प्रश्न गरेका थिए । त्यस क्रममा रिपब्लिकन सिनेटर जोश हलेले पीडित परिवारसँग माफी माग्नका लागि जुकरबर्गलाई बोलाइएको बताए । त्यसपछि जुकरबर्गले उठेर त्यस्ता परिवारसँग माफी मागेका हुन् । यो सुनुवाइको अवलोकनका लागि पीडित बालबालिकाका अभिभावक पनि उपस्थित थिए ।

विभिन्न प्रलोभनमा पारेर सामाजिक सञ्जालमार्फत बालबालिकाका यौन शोषणमा पर्ने गरेको, उनीहरुलाई नग्न तस्वीर शेयर गर्न लगाउने र पछि ब्ल्याकमेल गरी पैसा माग्ने र बालबालिकाहरू आत्महत्या गर्न बाध्य हुनेसम्मका घटना हुने गरेको सिनेटरहरले बताएका थिए । टिकटकका सीईओ सोउ जी चिउलाई सिनेटरहरुले उनको कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको हो कि भनेर सोधिएको थियो । जसलाई उनले अस्वीकार गरे ।

अबको २० वर्षमा के हुनेछ ?
फेसबुकको उदय र निरन्तर प्रभुत्वले साइटलाई सान्दर्भिक राख्न मार्क जुकरबर्गको क्षमता झल्काउँछ । तर आगामी २० वर्षमा यसलाई सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्मको रूपमा कायम राख्नु पहाडजस्तै चुनौती हुन सक्छ । मेटाले अब मेटाभर्सको आइडियाको वरिपरि एक व्यापार निर्माण गर्न कडा प्रयास गरिरहेको छ, एप्पल जस्ता प्रतिस्पर्धीहरू भन्दा अगाडि बढ्ने प्रयास गर्दैछ । मेटाका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) पनि ठूलो प्राथमिकता हो । र अब, यो हेर्नको लागि रोचक हुनेछ कि भविष्यमा फेसबुक जस्ता सामाजिक सञ्जालहरु कसरी आफूलाई व्यवस्थित गर्दै टिकाइराख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button