नेपाल एकीकरण अभियानमा मधेशी भूमिबाट भएको योगदानबारे युवापुस्तालाई अध्ययन गर्न एउटा गतिलो गन्तव्यका रुपमा उद्यान स्थापना हुन लागेको हो । यसले अढाइ सय पुरानो मधेश सभ्यता, युद्धअभ्यास र नेपाल एकीकरणमा मधेशको योगदानबारे नेपाली पुस्तासँगै संसारलाई नै गतिलो दस्तावेजकै रुपमा उपस्थिति हुनसक्छ भन्ने हाम्रो विश्वास छ । यो हामीले प्रदेश र स्थानीय तहलाई नै हस्तान्तरण गर्नेछौँ ।
–राजेन्द्र गिरी, बाहिनीपति, बाहिनी २८ अड्डा
युद्धकालीन प्रस्तरकलाहरु समेटेर नेपाल एकीकरणताका भएका गतिविधिहरुलाई अध्ययन सामग्री हुने गरी एकीकरण स्मृति उद्यान निर्माण भइरहेको हो । हामीले मास्टर प्लानअनुसार काम गरिरहेका छौँ । यो निर्माणपछि स्थानीय तह या प्रदेशलाई नै हस्तान्तरण गरिएपछि सर्वसाधारणका लागि पनि खुला हुनेछ । हाम्रो निगरानी र निरीक्षणमा निर्माण भए पनि यो नेपाली जनताको अमूल्य निधि हो, हामीले निर्माण गरेका हौँ ।
–अमित श्रेष्ठ, प्रमुख सेनानी, बाहिनी २८ अड्डा
देश सबैले बनाएका हुन् । इतिहास लेख्ने क्रममा केही छुटे, कोही छुटे । सबैले सकेको लडे, ज्यान दिए, नेपाल एकीकरण अभियानका अगुवा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले समावेशिता र साझापनाको अभ्यास नेपाल एकीकरणको अभियानक्रममा सँगै थाल्नु भएको थियो । दिव्यउपदेशमै तीन मुस्लिमको नाम उल्लेख छ । नेपाल सबै समुदायको साझा लगानीमा एकीकरण भएको हो । सबैका लागि यो महत्वको हुनेछ ।
डा. राजेश अहिराज, पूर्व प्रदेश प्रमुख, मधेश प्रदेश
मधेशदृष्टि
बारा ।
नेपाल एकीकरण गर्ने अभियानमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानलाई कसैले भुल्न सक्दैनन् । गोरखाका पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरण अभियानअन्तर्गत ससाना राज्यरजौटा एकीकृत हुँदै आजको विशाल नेपाल बनेको हो । शाहीवंशको त्यही विरासत अढाइसय वर्षपछि राजतन्त्रात्मक व्यवस्था ढलेर गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक बितिसकेको छ । तर यो देश बनाउन साँच्चै विगतमा ज्यान दिने, रगत दिने, लड्ने ज्ञातअज्ञात नेपालीबारे अभिलेख के छ त ? के मधेशी जनताले मधेशमा नछेकेका भए आज नेपालको नक्सामा मधेश हुनेथियो ? पक्कै दुश्मन अझ अंग्रेजले नेपालको भूमि पनि हडप्ने थिए । तर के सबै समुदायको अभिलेख छ त ?
तपाईंलाई यस्तै लागिरहेको छ भने अब तपाईंको त्यो इच्छा पनि हेर्न, पढ्न, घुम्न, अध्ययन गर्न पाउने गरी व्यवस्था हुँदैछ । यसका लागि नेपाल सरकारले २०७७ मै शुरु गरेको ‘एकीकरण स्मृति उद्यान’ लगभग तयार हुँदैछ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित २८ नम्बर बाहिनी अड्डा परिसरमा ‘एकीकरण स्मृति उद्यान पार्क’ निर्माण भइरहेको छ । नेपाली सेनाको प्रत्यक्ष निरीक्षण र निगरानीमा कार्य भइरहेकाले सरकारले यथेष्ट बजेट दिने बित्तिकै उद्यान बन्नेमा शंका छैन । तर सरकारले नै योजना अनुसार उद्यानलाई बहुवर्षीय बनाए पनि उचित बजेट व्यवस्थापन गर्न नसक्दा काम अल्झिरहेको छ । ‘५५ प्रतिशत भन्दा बढी काम भइसकेको छ,’ बाहिनीका प्रमुख सेनानी अमित श्रेष्ठले भने, ‘भवनहरुको सिमेन्ट जम्न, बस्न समय लाग्ने बाहेक करिब ९० दिनमा हामी काम सकाउन तयार छौँ, बजेट व्यवस्था हुँदा काम रोकिने अवस्थै छैन ।’ श्रेष्ठका अनुसार, यो वर्ष बजेट कम आयो, त्यही भएर सोचेअनुसार काम हुन सकेको छैन ।
नेपाल एकीकरणक्रममा मधेशले दिएको योगदान, मधेशी, मुस्लिम, चौधरी समुदायको तत्कालीन युद्धकला, हातहतियार, इतिहास, धार्मिक मान्यता, कथन, नेपाल आमाका सन्तानहरुको प्रतिनिधिमूलक झलकसहित पूर्णरुपमा जोकोहीलाई अध्ययन गर्न मिल्ने गरी उद्यान निर्माण भइरहेको छ । उद्यानको नारै छ, ‘नेपालको शानः मधेशको पहिचान ।’ ‘दुश्मनसँग लडेर भूमि जोगाएका हुन्, के हतियार थियो होला र ? दुश्मन आए भनेपछि खेतमा काम गर्दागर्दै लडे होलान्, ज्यानको बाजी राखेर लडेर दुश्मनबाट देश जोगाए,’ बाहिनीपति राजेन्द्र गिरीले भने, ‘बाहिनीकै स्वामित्वमा रहेको जग्गामध्ये २ बिघा २ कठ्ठा ३ धुर उद्यानलाई दिएका हौँ, त्यो कालको युद्ध र मधेशी नागरिकले देखाएको वीरताबारे अढाइ शताब्दीपछिका युवापुस्तालाई अध्ययनयोग्य हुने गरी उद्यान निर्माणको काम अघि बढेको छ ।’
उद्यानमा तलेजु भवानीको मन्दिरलाई प्राथमिकतामा राखिएको छ । मधेशका बारा, रौतहटलगायतका गढीहरु, धार्मिक स्थलहरु, युद्धकालीन इतिहासहरु पनि उद्यानमा अभिलेखीकरण हुने छ । उद्यानमा भगवान गौतम बुद्ध, नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता बडामहाराजधिराज पृथ्वी नारायण शाह, मानकका रुपमा नेपाल आमा, त्यतिखेर लड्ने मधेशी भूमिपुत्र चौधरी लडाकु, मैथिली लडाकु, भोजपुरी लडाकु, मुस्लिम लडाकु र गोर्खाली लडाकुको ढलोटको शालिक राखिने छ । यस्तै, थिएटर, फ्लागल्याण्ड, प्रदर्शनी भवन पनि बन्ने छ । मिथिला आर्ट पनि रहनेछ । आकर्षक लाइटहरु जडान गरिने उद्यान निर्माणपछि देशभरका नागरिकका लागि अध्ययन, अवलोकन, भ्रमण तथा नेपालको मधेशी पाटोबारे अझ तथ्य बाहिर आउने बताइएको छ । ‘नेपाली सेनासँग भएको ऐतिहासिक तस्बिर, हतियार, इतिहास, डकुमेन्ट जे जति छन्, अध्ययनका लागि प्रदर्शन भवनमा राखिनेछ,’ प्रमुख सेनानी श्रेष्ठले भने, ‘यो नेपाल एकीकरणमा मधेश भूमिबाट भएको कार्यको उत्खनन् र प्रकाश पार्ने एउटा कोशेढुगो बनाउने नेपाली सेनाको प्रयास हो ।’
२०७७ वैशाख २७ गते मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेको उद्यान पछिल्लो वर्ष बजेट अभावमा खास काम हुन नसकेको पाइएको छ । जीतपुर सिमरा उपमहागरपालिकाले २५ लाख रुपैयाँ उपलब्ध गराएको उद्यानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि ५० लाख रुपैयाँ विनियोजन गरेको पाइएको छ । तर उपमहानगरले पैसा ल्याउन सकेको छैन, प्रक्रियामा रहेको बताइएको छ । अघिल्लो वर्ष २ करोड रुपैयाँ प्रदेश सरकारले दिएको थियो । यो वर्ष बजेट अभावले काम प्रभावित भएको छ । २१ करोड ९५ लाख रुपैयाँमा उद्यान बन्ने परियोजना बनाइएको छ ।
‘उद्यान निर्माणको परिकल्पना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हो । पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानमा सबै भूगोलका नागरिकको उत्तिकै योगदान छ,’ मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले भने, ‘मधेशी, मुस्लिम समुदायको पनि देश निर्माणमा योगदान छ, उनीहरुलाई देशका अन्य भूगोलमा लगेर काम लगाउने, सिकाउने नेपाली समुदाय घुलमिल गराउने काम भएको हो, उद्यानमा यसको झलक पनि देख्न पाइनेछ, यो नेपाली पुस्ताका लागि एउटा नयाँ उपलब्धी हुनेछ ।’
तस्बिरहरुः उद्यानबारे जानकारी दिँदै प्रमुख सेनानी अमित श्रेष्ठ । प्रदर्शनी भवन । उद्यान निर्माण हुन लागेको स्थान तस्बिरहरुः रामकुमार एलन/मधेशदृष्टि