
मधेशदृष्टि
रौतहट ।
भारतीय फिल्मीक्षेत्रमा चर्चित र लोकप्रिय नायक गोविन्दा रौतहटको मौलापुर आउने भएका छन् । ९० को दशकमा युवा दिलको धडकन मानिने गोविन्दा मौलापुरमा फागुन २५ गते आयोजना हुन लागेको मधानी महायज्ञमा सहभागी हुन आउन लागेका हुन् । गोविन्दा धार्मिक कार्यक्रममा सहभागी हुन नेपालको मौलापुर आउन लागेको जानकारी भिडियोमार्फत दिएका छन् ।
मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बलिउड नायक गोविन्दा महायज्ञ उद्घाटनका दिन मौलापुर आउने बताए । महायज्ञमा भोजपुरी सुपरस्टार भारतीय नायिका नीलम गिरी पनि सहभागी हुनेछिन् । प्रत्येक वर्ष हुने मधानी महायज्ञमा भगवान् शिवको पूजाअर्चना गरिन्छ । २०७६ देखि मौलापुर नगरपालिकाले मधानी महायज्ञ गर्दैआएको छ ।
मधानी महायज्ञमा फागुन २६ गते कुस्ती प्रतियोगिता दंगल पनि हुनेछ । ३५ कुस्तीबाज सहभागी हुनेछन् । मौलापुरको पुरातात्विक महत्वको महादेव मन्दिर देशभरिका धार्मिक पर्यटकका लागि गन्तव्य हो । महायज्ञमा नेपाल तथा भारतका चर्चित कलाकारको सांस्कृति प्रस्तुति रहने नगर प्रमुख रिना साहले बताइन् ।






