
मधेशदृष्टि
राजविराज ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगर स्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहमा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेर राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष शुभारम्भ भएको छ । रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैँक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने जानकारी क्याम्पसले दिएको छ ।
अक्षय कोषको आकार एक करोड रुपैयाँ पुर्याउने तत्कालीन लक्ष्य राखिएको क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल बताए । अक्षय कोषलाई दश करोड रुपैयाँको बनाएर क्याम्पसमा अध्ययन गर्ने सबै छात्रछात्रालाई निशुल्क शिक्षा दिने आफूहरुको सपना रहेको प्राध्यापक गजुरेलले बताए । उनले गाउँमा उच्च गुणस्तरको शिक्षा उपलब्ध गराउने लक्ष्य क्याम्पसको रहेको सुनाए । डा. राजेश अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोषमा ५१ हजार रुपियाँ थप गर्ने घोषणा गरे । राष्ट्र निर्माताका नाममा छात्रवृत्ति कोष स्थापना भएकोमा खुशी व्यक्त गर्दै क्याम्पसका अध्यक्ष संग्रौलाले शिक्षामा आफूले गरेको सानो योगदान सार्थक भएको बताए ।
अक्षय कोषमा रूपनगर निवासी राम प्रसाद खतिवडाले २१ हजार एक सय ११ रुपैयाँ, प्रमिला खतिवडाले ११ हजार एक सय ११ रुपैयाँ र दुवलक्ष्मी श्रेष्ठले १० हजार रुपैयाँ योगदान गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै डा. अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भनेर यही क्याम्पस रोजेको बताए । ‘मृत्यु पछिको जीवन समेतलाई सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनु पर्छ’ उनले भने । उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधीश डा..रत्न बहादुर बागचन्दले यो छात्रवृत्तिबाट विद्यार्थी प्रोत्साहित हुने विश्वास व्यक्त गरे ।
शिक्षा गुणस्तरीय नभएसम्म समाजले उन्नति गर्न नसक्ने भन्दै डा. बागचन्दले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता औँल्याए । कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले विद्यार्थीलाई आफूले र नगरपालिकाकातर्फबाट हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । त्यस्तै, कार्यक्रममा पूर्व प्रधानाध्यापक शम्भु प्रसाद घिमिरेले शिक्षाप्रति सरकारको व्यवहारले शिक्षाको स्तर कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे ।






