मधेशदृष्टिका सम्पादक एलनलाई ‘गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
झरना साहित्यिक परिवार, वकैया, मकवानपुरले यस वर्षको पत्रकारिता पुरस्कार रामकुमार एलनललाई प्रदान गर्ने भएको छ । सोमबार झरनाले हेटौँडामा पत्रकार सम्मेलन गर्दै ११ हजार एक सय ११ रुपैयाँ राशिको ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८०’, मधेशदृष्टि राष्ट्रिय दैनिकका सम्पादक एलनलाई प्रदान गर्ने निर्णय गरेको हो । यस्तै, झरनाले साहित्य विधाका विभिन्न पुरस्कारहरु पनि घोषणा गरेको छ । २१ हजार एक सय २१ रुपैयाँ राशिको ‘होमनाथ–टीकामाया प्रतिभा सम्मान’ काठमाडौँकी डा. गीता त्रिपाठीलाई प्रदान गर्ने भएको छ । १५ हजार पाँच सय ५५ रुपैयाँ राशिको ‘शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान’ मोरङका बाबुराम पोखरेललाई प्रदान गरिने भएको छ । १५ हजार पाँच सय ५५ रुपैयाँ राशिसहितको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान’ मकवानपुरका साम्ब ढकाललाई दिइने भएको छ ।

सात हजार सात सय ७७ रुपैयाँ राशिको ‘खडानन्द–मनमाया प्रतिभा सम्मान’ स्याङ्जाका मिलन समीरलाई दिइने भएको छ । सात हजार सात सय ७७ रुपैयाँ राशिको ‘सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान’ मकवानपुरकी गजलकार बिमला कार्की ‘सुसं’लाई दिइने बताइएको छ । सात हजार सात सय ७७ रुपैयाँ राशिको ‘सञ्जीवनी बुटि साहित्य सेवा सम्मान’ भरतप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ । वकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित पाँच हजार पाँच सय ५५ रुपैयाँ राशिको ‘झरना–बकैया नवप्रतिभा पुरस्कार’ गजलकार अजर फुयाँललाई दिइने भएको छ ।

वकैयामा कला क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित सात हजार सात सय ७७ रुपैयाँ राशिको ‘खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान’ बाँसुरी बादक विष्णु घतानीलाई दिइने भएको छ । पुरस्कार फागुन १२ गते वकैया–८ शिखरपुरमा हुने झरना साहित्यिक महोत्सवमा दिइने आयोजनकले जनाएको छ । फागुन ११ र १२ गते महोत्सव आयोजना साहित्य र अन्य विषयमा छलफलसमेत हुने बताइएको छ । कार्यक्रममा झरनाका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सचिव मसान उपासक, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, संरक्षक जनार्दन खनालको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button