
रौतहट ।
रौतहट । डीआईजी लालमणि आचार्यले ले प्रहरी संगठनको छवि उच्च बनाउन १० बुँदे निर्देशन दिएका छन्। मधेस प्रदेश प्रहरी प्रमुख समेत रहेका डिआईजी आचार्यले शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहट, ईलाका प्रहरी कार्यालय कटहरियाको निरीक्षण गर्ने क्रममा उक्त निर्देशन दिएका हुन् ।
पहिलो प्राथिकतामा राखेर सर्वसाधारणको गुनासो सुन्ने, महिला बालबालिका तथा विपन्नलाई विशेष ग्राह्यता दिने, सामुदायिक कार्यक्रम मार्फत समाजमा जनचेतना फैलाउने, अपराध अनुसन्धान तथा उजुरी छलफलमा बिचौलियाको प्रवेश निषेध गर्ने उनले निर्देशन दिएका हुन् ।
डीआइजी आचार्यले प्रहरी संगठनको छवि उच्च बनाउन काम गर्न प्रहरी अधिकारीहरू लाई निर्देशन दिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन् । हाल बिभिन्न प्रदेशमा प्रहरीले नागरिक संग गरेको दुर्व्यवहारको सम्झना गर्दै डिआईजी आचार्यले मधेश प्रदेशमा त्यस्तो घटना दोहोरिन नदिन सबै प्रहरी सचेत रहन निर्देशन दिएको उनले बताएका छन्।
डिआईजी लालमणि आचार्य मधेश दृष्टि संग संक्षिप्त कुरा गर्दै प्रदेशमा राम्रो काम गर्ने प्रहरी लाई पुरस्कृत र नराम्रो काम अर्थात आलोचित हुने काम गर्ने प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। उहाँले गलत काम गर्ने कैयौँ प्रहरी लाई कारवाहीको दायरामा ल्याएको बताएका थिए। बिगतको भन्दा मधेश प्रदेशको अवस्था राम्रो रहेको दाबी गरेका थिए। प्रदेशको ८ वटै जिल्लामा प्रहरीको बिशेष सक्रियताले आपराधिक क्रियाकलाप देखी तस्करी, लागुऔषध कारोवार तुलनात्मक रूपमा कमी आएको डिआईजी आचार्यले स्पष्ट पारेका थिए।
डिआईजी लालमणि आचार्यले अर्को प्रसङ्गमा २०५९१०६० मा ईलाका प्रहरी कार्यालय गरुडाको प्रमुख इन्स्पेक्टर हुँदा पटक पटक कटहरिया स्थित प्रहरी कार्यालयमा आएको स्मरण गरेका थिए। ईलाका प्रहरी कार्यालय कटहरियाको भौतिक अवस्था भने ज्युँका त्यूँ रहेको प्रति चिन्ता ब्यक्त गरेका थिए। ईलाका प्रहरी कार्यालय कटहरियाको निरीक्षण गर्दै नेपाल सरकारको मापदण्ड अनुसार भवन निर्माणको लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए। जनताको प्रत्यक्ष सेवा सुरक्षा दिने प्रहरीको भवन निर्माणका लागि स्थानिय र प्रदेश सरकार संगै सरोकारवाला सबैले चासो राख्नु पर्ने सुझाव दिएका थिए।
अपराध नियन्त्रण मात्र प्रहरीले चाहेर नहुने भएको बताउँदै अपराध मुक्त समाज निर्माणको लागि सबै नागरिकले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने आग्रह गरेका थिए । त्यस्तै उहाँले जिल्ला प्रहरी कार्यालय नवनिर्मित भवन, थुनुवा कक्ष, लगायतको निरीक्षण समेत गरेका थिए।
भेट्घाट कार्यक्रममा डिआईजी लालमणि आचार्य, प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी भीम किरण बोगटी, नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, समाजसेवी योगेन्द्र साह, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा लगायतको सहभागिता रहेको थियो।