संघीयता कार्यान्वयनमा जनसहभागिता जोडौँः प्रदेश प्रमुख मिश्र

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले संघीयता सहिदहरुको त्याग र बलिदानीबाट आएको कारणल कसैले चाहेर पनि खोस्न नसक्ने बताएका छन् । मधेश प्रदेश सभाको छैठौँ वार्षिकोत्सवमा मिश्रले मधेश प्रदेश संघीयताको जननी भएका कारणले कसैको चाहनामा संघीयता हरण नहुने दोहोर्याए । उनले संघीयता शासनको सर्वोच्च विकल्प भएकाले कसैले खोस्न नसक्ने बताए । उनले संघीयता जोगाउने दायित्वसमेत मधेशको रहेको बताउँदै संघीयताका लागि धेरै जनताले बलिदानी दिएकाले बलिदानी पूरा गर्ने दायित्व पूरा गर्नु पर्ने बताए । मिश्रले भने, ‘सबैको साथ सहयोगबाट नै विकास सम्भव छ, विकास भए संघीयताप्रति जनताको भरोसा जाग्छ, जनताको भरोसा भए कुनै पनि हालतमा संघीयता जान सक्दैन ।’

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक वर्षमा सरकारले अपेक्षाकृत राम्रो काम गर्न नसकेको बताए । उनले सरकार गठन भएको एक वर्ष बितिसक्दा चार वटा निर्वाचन भएको कारण दलहरुका नेता यसमै खटिएकाले समस्या आएको बताए । यादवले अहिले विगतको जस्तो बजेट बिक्री भएको सुन्न नपायएकोमा खुसी लागेको बताउँदै जनतामा जाने बजेटमा जनताले नै निगरानी गर्नुपर्ने बताए । यादवले प्रदेश सरकारका योजना र बजेटमा कुनै पनि बदमासी भएको पाइए कडा कारबाही गरिने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयतालाई बलियो बनाउन लागिपरेको आफूले अनुभूति गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीजी संघीयता बलियो बनाउन निकै गम्भीर देखिनु भएको छ, आशा गरौँ,छिट्टै प्रदेशले पाउने अधिकार आउने छ, सबल संघीयता निर्माण हुनेछ ।’

मुख्मयन्त्री यादवले केही विधेयक प्रदेश सभाको समितिमा रहेको र केही तयारी अवस्थामा रहेकाले आउने मन्त्रिपरिषद्बाट पारित गरेर प्रदेशसभामा पठाइने जानकारी दिए । उनले समितिमा रहेको विधेयक अविलम्ब पारित गर्नसमेत आग्रह गरे । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संघीयता स्वायत्तताको अनभूति भएको बताउँदै सबैले जनतालाई संघीयताको अनुभूति दिलाउनुपर्ने आवश्यकता रहेको बताए । उनले संघीयतामा जनताले स्वशासनको अनुभूति गर्नु पर्ने बताए । ‘विना स्वशासन संघीयताको औचित्यसमेत रहन्न,’ उनले भने ।

यस्तै, मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेश प्रदेश विना प्राकृतिक स्रोतसाधनको प्रदेश भएकाले काम गर्न चुनौती रहेको बताए । उनले संघीयता कार्यान्वयन गराउने र जनताका आकांक्षा पूरा गराउने दायित्वमा चुनौती रहेको बताए । उनले जनताका अपेक्षा पुरा गराउन नसकिए असफलता आइलाग्ने बताए । नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले सरकारले अधिकार पाइएन भनेर अधिकार नदिनेकै गबठनधनमा समेत बसेर दोहारो चरित्र देखाइरहेको बताए । उनले यस्ता दललाई जनताले तह लगाउने चेतावनी दिए । उनले आफूहरुले अधिकार दिन नरोकेको बताउदै संघीय सरकारको गबठन्धनमा समेत प्रदेशमा रहेको गठबन्धन दल नै रहेकाले उनीहरुले नै अधिकार विनियोजन गर्न नचाहेको र संघीयता सबल नहोस भन्न देखाउन खोजेको बताए ।

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले सीमित साधनस्रोत परिचालित गरेर भए पनि जनताका अपेक्षा पूरा गर्न महत्वपूर्ण काम गरिएको जिकिर गरे । उनले सरकार गठन भएको एक वर्षमा आफूहरुले जनता निरासा बनाउने कुनै कार्य नगरेको बताउँदै बरु सरकारको कामबाट जनतामा संघीयताप्रति आशा र भरोसा थपिएको बताए । माओवादी केन्द्रका प्रदेश सभा सदस्य मालाकुमारी कर्णले सरकारले सुशासनयुक्त काम गर्न आवश्यक रहेको बताइन् । लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य उपेन्द्र महतोले संघीयता बलियो बनाउने दायित्व मधेश प्रदेशका सबै प्रदेश सभा सदस्यको काँधमा रहेको बताए । उनले सबैले जनतालाई अनुभूति हुने गरी सेवा दिन सकिए संघीयता आफैँ बलियो बन्ने बताए ।

ठाकुर र साह उत्कृष्ट
मधेश प्रदेश सभाले छैठौँ वाषिकोत्सवमा प्रदान गर्दै आएको उत्कृष्ट प्रदेश सभा सदस्य र कर्मचारीको नाम घोषणा गरेर पुरस्कृत गरेको छ । प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर उत्कृष्ट प्रदेश सभा सदस्य भएका छन् भने कर्मचारीतर्फ जानकारी प्रसाद साह उत्कृष्ट भएका छन् । दुवैलाई प्रदेश प्रमुख हरिशंकर साहले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

प्रदेश सभाको ६ वर्ष
मधेश प्रदेशको प्रदेश सभाले ६ वर्ष पूरा गरेको छ । स्थापनाकालदेखि २ सय ७५ बैठक बस्दा कुल ३ सय ८६ घण्टा ३१ मिनेट ५६ सेकेन्ड बैठक चलेको प्रदेशसभा सचिवालयले जनाएको छ । पहिलो कार्यकाल २०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेशसभाको २०७९ असार ३२ गतेसम्म ९ अधिवेशनमा २ सय २८ बैठक बसेको थियो । दोस्रो कार्यकालमा २ वटा अधिवेशनमा ४७ बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । पहिलो कार्यकालमा प्रदेश सभाको ९ वटा अधिवेशनमा २ सय २८ बैठक बस्दा ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड प्रदेशसभा सञ्चालन भएको थियो । दोस्रो कार्यकालको पहिलो वर्षमा भने प्रदेशसभाको २ वटा अधिवेशनमा ४७ वटा बैठक बस्दा ७५ घण्टा ३१ मिनेट बैठक चलेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button