
सञ्जय मिश्रा
रौतहट ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासुको बिक्री गर्ने व्यवसायीलाई कारबाही हुने भएको छ । बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए पछि खसीको मासुको मूल्य निर्धारण गरिएकोको छ । मासु व्यवसायी र उद्योग बाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुईथरीको भाउ निर्धारण गरेको छ । आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० रुपैयाँको दरले बिक्री गर्नु पर्ने निर्णय गरेको छ ।
निर्धारित दर भन्दा बढी भाउमा बिक्रि वितरण गर्ने व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिबाना गरिने उद्योग बाणीज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दो भाउमा खसीको मासु बिक्रि गरिरहेको गुनासो बढेपछि संघले मूल्य निर्धारण गर्न पहल गरेको हो ।
गरुडा बजार क्षेत्रमा खसीको मासुको भाउ निर्धारण गरिएपनि सदरमुकाम गौर, कटहरिया लगायतको बजारमा हुन सकेको छैन । विगतमा खसीको मासु प्रतिकिलो १ हजार रुपैयाँमा बिक्रि भइरहँदा पछिल्लो समय देशमा देखिएको आर्थिक तरलताको प्रभावले अहिले भाउ घटेको मासु व्यवसायी विजय साह बताउँछन् ।






