

आजभोलि नयाँ चाडपर्वहरुले रंगीचंगी हुने अवसर पाएको छ भने केही पुराना चाडपर्वहरु रङ खुइलिएको भइसकेका छन् । रङ खुइलिएका यस्तै चाडपर्वमध्ये मधेश मनाइने धान्यपूर्णिमा पनि एक हो । अनेक नयाँ संस्कृतिको कोलाज भइसकेको वर्तमानमा कतिपय चाडपर्व हराउनुलाई भने पक्कै खल्लो लाग्नुपर्ने हो तर चाडपर्व हराउने क्रमसँगै खोजिदिने कोही नहुँदा हराउनुको पनि महत्व कम भइसकेको छ । वास्तवमा हराउनु भन्ने शब्दको महत्व जब कसैले खोजी गर्दछ, त्यहाँबाट मात्र हो । यदि कसैले खोजी गर्दैन भने हराउनु पनि महत्वहीन हुन पुग्छ । चाडपर्व हराउनु र चाडपर्वको बारेमा अर्थात् आफ्नो संस्कृतिको बारेमा चासो लिने मानिस नहुनु दुवै समान प्रकृतिका लाग्छन् तर यी दुवै एक साथ हराउँदा कालान्तरमा चर्चामा पनि नपाइन सक्छ ।
कतिपय चाडपर्वको भौगोलिक आयाम निकै सानो हुन्छ र कतिय चाडपर्वले भूगोल र जनसंख्या दुवैमा निकै विस्तार पाएका हुन्छन् । धान्यपूर्णिमाले पनि कालान्तरमा धेरै क्षेत्रमा विस्तार पाएको देखिन्छ । यसै दिन, एकै दिन विभिन्न संस्कृति मान्नेहरुले विभिन्न किसिमले संस्कृति वा चाडपर्वलाई मानेको मनाएको पाइन्छ । धान्यपूर्णिमा भन्नुको शाब्दिक अर्थ हो – मंसिर महिनाको शुक्ल पक्षको अन्तिम दिन अर्थात् मंसिर महिनाको तिथिले अन्तिम दिन । यस दिनको भोलिपल्टदेखि पुस महिना सुरु हुन्छ । मधेशी संस्कृतिमा पहिलेदेखि नै असारलाई धानको रोपाइँ गर्ने र मंसिरलाई धान काट्ने महिनाको रुपमा चिनिँदै आएको छ । मंसिरमा काटिने धानलाई यसैले अगहनी पनि भन्ने गरिन्छ । मधेशी संस्कृतिसँगै नेपालको अन्य संस्कृतिमा पनि यसलाई धानसित जोडेर हेर्ने गरिएको पाइन्छ । किराँती संस्कृतिमा धान्यपूर्णिमालाई उधौली पर्वको रुपमा बडो धुमधामसित मनाइन्छ । यसै गरी नेवारी संस्कृतिमा यःमरि पुन्ही वा ज्यापु दिवसको रुपमा मनाउने गरिन्छ । किराँतजस्तै नेवार संस्कृतिमा पनि आजको दिन अत्यन्त विशिष्ट रहेको छ ।
मधेशको भूमि कृषिको भूमि पनि हो । यहाँको माटोमा धान र गहुँजस्ता मुख्य खाद्यान्न बालीका साथै वर्षैभरि अन्य विभिन्न बाली लगाइने गरिन्छ । यहाँको संस्कृति पनि यही श्रमसित जोडिएको छ अर्थात् संस्कृतिको सम्बन्ध कृषि उपज तथा यहाँको माटोसित जोडिएको छ । मधेशी किसानको सबैभन्दा प्रिय भोजन भात नै हो । यसैले हरेकले सबैभन्दा बढी धानको खेती गर्दछन् । किसानले धानखेती गर्दा दुई किसिमका धान उब्जाउँछन् । एकथरि धानलाई गदर र अर्कोथरिलाई सरिहन भन्दछन् । गदरलाई भदैया भनिन्छ । यो अर्लि भेराइटी धान हो भने सरिहन भनेको अगहनी हो । यसलाई लेट भेराइटी धान पनि भन्न सकिन्छ । भदैयाभन्दा अगहनी धानको विशेष मूल्य हुन्छ । पूजाआजा तथा अन्य धार्मिक कार्यमा अगहनी धानको चामलकै उपयोग गरिन्छ । अर्लि भेराइटी धानको चामलको उपयोग धार्मिक काममा गर्नु हुँदैन भन्ने मान्यता अझै पनि ग्रामीण कृषि समाजमा छँदैछ । छठजस्ता अन्य सांस्कृतिक तथा धार्मिक काममा लेट भेराइटी धान जसलाई किसानहरुले सरिहन वा अगहनी भनेर मानेका हुन्छन्, तिनैको प्रयोग गर्ने चलन छ ।
मंसिर महिनामा धान काट्ने चलन आदिकालदेखि चलिआएको हो । अहिले प्रविधिले फड्को मारेको छ र पहिलेका धेरै धानहरु लोप भइसकेका छन् तर पनि मंसिर महिनासम्म धान काट्ने चलन रहेको छ । यस वर्ष पनि मंसिर महिनाको आधाआधीसम्म किसानहरुले धान भित्र्याएका छन् । धान काटेपछि पहिले दाइँ गर्ने चलन थियो । पहिले खेतबाट धानको बोझा खरिहानमा ल्याएर गोरुले दाइँ गर्ने चलन थियो । अहिले खरिहानको अवशेष कतै कतै भेटिन्छ तर खरिहानको मियो पूरै हराइसकेको छ । दाईमा पहिले ट्रयाक्टर र पछि हडम्मा अर्थात् विभिन्न प्रविधिको प्रयोग हुन थालेपछि मियोको कुनै आवश्यकतै रहेन । अब खेतमै दाइँ हुन थालिसकेको छ । जसै किसानहरुले धान काट्छन् र सुक्न थालेपछि खेतमै दाइँ गर्दछन् र अब धानको कटाइमा पनि प्रविधिको प्रयोग भइरहेको छ । यस वर्ष मधेशको विभिन्न गाउँका किसानहरुले खेतको धानबाली काट्नको लागि पनि प्रविधिको उपयोग गरेका छन् । धानको रोपाईँमा अझै खासै प्रविधिको उपयोग भइरहेको छैन नत्र अन्य काममा भने प्रविधिको उपयोग भइरहेको छ । प्रविधिको उपयोगले किसानलाई केही सजिलो भएको छ । यद्यपि खेती केही महँगो हुँदै गएको पनि किसानहरुकै भनाइ रहेको छ । यति हुँदाहुँदा हुँदै पनि किसानले खेतीको हरेक क्षेत्रमा प्रविधिको उपयोग गरिरहेका छन् । यसलाई सकारात्मक मान्नु पर्दछ ।
पहिले धानको दाइँ भएपछि धानलाई घरमा भित्र्याइन्थ्यो । यससित जोडिएको एउटा संस्कृति थियो । धानलाई खरिहानमा हावाले बताएर अर्थात् धानभित्रका भुस र अन्य पराल निकालेर राख्दा त्यसको वरिपरि एउटा खरानीको घेरा बनाइन्थ्यो । गाई वा गोरुको गोबर, दुबो तथा सिन्दुरले धानको पूजा हुन्थ्यो । धानलाई लक्ष्मी मानेर घरभित्र भित्र्याउनुअघि खरिहानमा धानको सम्मान वा पूजा गर्ने चलन थियो । धानलाई घरभित्र लैजानको लागि छैटा वा अन्य केही भाँडोमा उठाउँदा पहिले कुलदेवतासहित विभिन्न देवदेवीको नाम उच्चारण गर्ने चलन थियो । सम्भव भएसम्म घरपरिवारका ज्येष्ठ वा वरिष्ठ सदस्यले पहिलोचोटि धान उठाउँथे र घरमा लगेर भकारी वा अन्यत्र राख्दथे । पहिले सबैको देवताघरमा एउटा सानोतिनो भकारी वा डेहरीसम्म हुन्थ्यो । पहिलो खेप त्यहीँ लगेर राखिन्थ्यो ।
कात्तिकको अन्तिमदेखि घरमा धान पुग्न थाल्थ्यो र यो क्रम चलिरहन्थ्यो माघसम्म । जबसम्म खरिहानको सबै धानको दाइँ सकिदैनथ्यो तबसम्म खेतीहर किसान तथा मजदुरलाई फुर्सद हुँदैनथ्यो । केही धनी मानिसको धानको दार्इँ माघसम्म हुने भए पनि अधिकांशको मंसिर महिनामै सकिन्थ्यो । मंसिर महिनामा धानको काम सकिनासाथ किसानलाई अलिकति रबि बालीको काम गर्नलाई फुर्सद हुन्थ्यो । घरमा अगहनी धान भित्र्याएको भए पनि त्यसलाई कुनै काममा उपयोग गरिँदैनथ्यो । उस्तै परे कुनै साहुलाई धानको ऋण तिर्नु थियो भने खरिहानबाटै तिर्न सकिन्थ्यो वा घरमा भित्र्याइसकेको भए त्यहाँबाट तिर्दा पनि हुन्थ्यो तर अगहनी धानको उपयोग घरको अन्य प्रयोजनका लागि पूर्णिमा नभएसम्म पर्खिनुपथ्यो । मंसिर महिनाको पूर्णिमालाई विशेष दिन भनेर मनाइन्थ्यो, मानिन्थ्यो ।
यस दिन पहिलोचोटि सरिहन अर्थात् अगहनी धानको भात पकाउने चलन थियो । सम्भव हुँदा धान कुटाएपछि अलिकति गाउँका बाहुन वा मठमा दान दिइन्थ्यो वा नभए साँझ आफ्नो घरमा सरिहनको पहिलोचोटि भात पाक्दथ्यो । हुनेखाने हरेकको घरमा सरिहन धानको भात पहिलोचोटि पाक्ने भनेकै यसै दिन हो । सरिहन धानको भात पाकेपछि सबैभन्दा पहिलो गाँस बरद अर्थात् गोरुलाई खुवाउने चलन थियो । पहिलो गाँसमा गोरुको हक हुन्छ भन्ने मान्यता रहेको थियो । यसको पछाडि दुई किसिमको तर्क दिइन्थ्यो । पहिलो, गोरुले उब्जाएको वा गोरुबिना धानखेती सम्भव छैन, त्यसैले पहिलो गाँसको हक गोरुलाई रहेको छ । दोस्रो, गोरुलाई बरद मानिन्छ । बरद भन्नासाथ किसानको मनमा गोरुको सम्बन्ध भगवान शिवसित जोडिन पुग्छ । पहिलो गाँस गोरुलाई खुवाउनुको अर्थ हो किसानले उब्जाएको धानको पहिलो गाँस शिवको बाहन बसाहा बरदमार्फत भगवान शिवलाई खुसी तुल्याउनु । भगवानलाई समर्पण गरेर किसानले आफ्नो गाँसको सुरुआत गर्नुलाई अस्वाभाविक मान्न सकिन्न । धार्मिक तथा सांस्कृतिक समाजमा यो निकै स्वाभाविक हो ।
सरिहन धानको भातसँगै सम्भव भएसम्म मिठो पकवान पाक्दथ्यो । अहिलेको जस्तो माछामासुको प्रचलन पहिले त्यत्ति थिएन । चाडपर्वहरु साकाहारी हुन्थे । धान्यपूर्णिमा पनि मधेशी जीवनमा साकाहारी पर्व थियो । यसैले यस दिन साँझ अधिकांशको घरमा विभिन्न किसिमका तरुवा पाक्थ्यो । भात, दाल र तरुवासँगै कुनै तरकारी वा आलुको झुरी अर्थात् भुजिया हुन्थ्यो । तरुवाको गमकले धान्यपूर्णिमाको साँझ सारा गाउँ नै सुगन्धित बन्दथ्यो । गोरुलाई पहिलो गाँस खान दिँदा कतिपयले भातसँगै तरुवा पनि खुवाउँथे । गोरुको स्याहार अलिकति बढी हुन्थ्यो साँझतिर । पाक्दापाक्दैको तात्तातो तरुवा खाँदै केटाकेटीहरु रमाइरहेका हुन्थे । तरुवामा प्रयोग गरिने चामलको पिठो पनि सम्भव भएसम्म नयाँ चामलकै हुने गर्दथ्यो । चामललाई दिउँसै पानीमा भिजाएर राखिन्थ्यो र साँझ त्यसलाई सिलौटोमा पिनेर गिलो पिठो बनाइने गरिन्थ्यो जसबाट तरुवाको पिठोको काम चल्दथ्यो । घरमा जब खाना खाने बेला हुन्थ्यो । सम्भव भएसम्म घरका सबै पुरुषहरु र घरका सबै केटाकेटीहरु एकसाथ बस्थे । सबैभन्दा पहिले घरका ज्येष्ठ वा वरिष्ठ सदस्यले कुलदेवता र अन्य देवीदेवताको स्मरण गरी पहिलो गाँस मुखमा हाल्थे । अनि सुरु हुन्थ्यो गज्जबको खुसियाली । खान बसेका घरका सबै सदस्य यस वर्षको सरिहन अर्थात् अगहनी धानबाट बनेको चामलको पहिलो गाँस मुखमा हाल्दथे । अर्थात्, यस दिनदेखि मात्र अगहनी धानको चामलबाट बनेको भात खाने सुरुआत हुने चलन थियो ।
अहिले खरिहान हराइसक्यो । अब गोरु पनि लोप हुँदैछ । गोरु र किसानको सम्बन्ध विच्छेद हुने अवस्था आइरहेको छ । यस समयमा गोरुसित सम्बन्धित पर्वहरुमा पनि विराम लागिरहेको छ । अब समयको निरन्तर परिवर्तनशील गतिसँगै विस्तारै गोरुलाई कुन दिन विशेष खाना दिनुपर्छ भन्ने कुरा किसानहरुले समेत बिर्सिइसके । जब खरिहानको रीति र विधि समाप्त भयो तब धानसित सम्बन्धित धेरै सांस्कृतिक मान्यताहरु हराइसके । यसैले आजको दिनमा धानको भात खानुपर्छ भन्दा अब सर्वसाधारणले सोझै बुझ्ने गर्दछन् – सधैँ धानकै भात खाइएको हो । वास्तवमा पहिले पबनी भनेर एउटा छठलाई बुझाउने जुन विशिष्टता थियो त्यसै गरी धान भनेर विशेष अर्थमा अगहनी वा सरिहनलाई मात्र बुझाउँथ्यो । बाँकी धानलाई त्यसको आफ्नो विशेष नामले बोलाउने गरिन्थ्यो । अब धानको परिभाषामा सबै किमिसका धान आएसँगै मंसिर पूर्णिमा अर्थात् धान्यपूर्णिमा मधेशमा लगभग लोप भइसक्यो । यद्यपि अझै पनि कतै कतै निकै धेरै वर्ष उमेर भएका बूढापाकाहरुले भने कमसेकम आफ्नो लागि आजको दिनसम्म अगहनी धानको चामल पहिलो दिन खानको लागि जोगाइराखेको सुनिन्छ । आजभोलि चामल किनेर खाने चलन पनि बढ्दै गएकोले धान्यपूर्णिमाको परम्परागत संस्कृति हराउन लागेको हो । अब समय यस्तो आइसकेको छ कि नवयुवा तथा कतिपय अवस्थामा सहरी प्रौढहरुले पनि धान्यपूर्णिको दिन हाम्रो संस्कृतिमा केही हुन्छ वा पहिले केही हुन्थ्यो वा हामीले केही गर्नुपर्ने हुन्छ कि भनेर विचार पनि गरिन्न । विचार पनि गरिन्न र यदि कसैले आजको दिन यस्तो हुन्थ्यो भनेर बताउँदा विश्वासै नगर्ने परिस्थिति आइसक्यो । यसले हाम्रो संस्कृतिमा भइरहेको ह्रासको एउटा बलियो दृष्टान्त पेश गरेको छ भन्दा अत्युक्ति नहोला ।
हामीले आफ्नो चाडपर्वमा चासो राख्नैपर्छ । आफ्नो संस्कृति र संस्कारलाई बिर्सनु हुँदैन । कतै पलायन भएर कुनै संस्कृतिलाई बिर्सनु फरक परिवेश हो तर आफ्नै गाउँठाउँमा संस्कृति हराउन, खिइनु दुर्भाग्य हो । संस्कृतिलाई विस्मृतिले छोपिनु दुर्भाग्य हो । नयाँ संस्कृतिलाई मान्नुपर्छ तर आफ्नो पुराना संस्कृतिलाई महत्वहीन बन्न दिनुहुँदैन । भनिन्छ, जुन संस्कृतिको सम्बन्ध अर्थसित जोडिँदैन, त्यो हराएर जान्छ । सम्भवत धान्यपूर्णिमाको मधेश सम्बन्ध पनि यस्तै हुनुपर्छ । यद्यपि अहिले संस्कृतिप्रति सबैतिर चासो बढेको छ । चासो बढेसँगै कम्तीमा मौलिकताको खोजी भइरहेको छ । चाडपर्वको मौलिकता त मान्नेहरुलाई नै बढी थाहा हुन्छ र मौलिकताको खोजी गर्दै जाँदा वर्तमानको स्वरुपलाई हेरेर मात्रै पुग्दैन । सम्भव भयो भने किन वा कुन परिस्थितिमा चाडको सुरुआत हुन पुगेको होला भन्ने विचार गरिनु पर्छ । कतिपय चाडपर्वमा अन्धविश्वास छैन र अर्थसित सम्बन्ध छैन, यसकारण लोपको किनारमा पुगेको हो तर अब शिक्षित समुदायले भने यस्ताको खोजी र संरक्षण गर्नुपर्छ । कम्तीमा यसको महत्वको बारेमा बुझ्ने वा बुझाउने प्रयास गरिनु पर्छ । लोप भइसकेपछि कसैले चर्चा पनि गर्दैनन् । बुद्धिजीवीहरुले भने चाडपर्वलाई मर्न नदीन कम्तीमा त्यस दिन वा अघिपछि केही मानिसमा पु¥याउनु पर्छ । कुनै कुरो धेरैपटक सुनेपछि गल्ती पनि सही हो जस्तो लाग्न थाल्छ भने आफ्नो संस्कृतिको बारेमा सुन्दै जाँदा मानिस अभ्यस्त भइरहन सक्छन् ।






