उखु आन्दोलन अब काठमाडौँमा केन्द्रित हुने

[mashshare]

 

एसपी गौरव
सर्लाही ।

उखु उत्पादक किसानले आफ्नोे आन्दोलन तत्कालका लागि स्थगित गरेका छन् । शनिबारबाट आन्दोलन सुरु गरेका जिल्लाका उखु उत्पादक किसानले जिल्लाको आन्दोलनका कार्यक्रम स्थगित गरेर संघीय राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।

उखु किसान संयुक्त संघर्ष समितिले जिल्ला केन्द्रित आन्दोलन स्थगित गरेर संघीय राजधानी केन्द्रित आन्दोलनको तयारी गरिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष उप्रेतीले बताए । उनका अनुसार अन्य जिल्लाका उखु उत्पादक किसानका प्रतिनिधिसँग पनि समन्वय गरी अब काठमाडौँमै गएर आन्दोलन गर्ने निर्णय गरी जिल्लाको आन्दोलन तत्कालका लागि रोकिएको हो ।

काठमाडौँमा सांसदसहित सम्वद्ध मन्त्रालयमा डेलिगेसन जाने र यदि त्यसो गर्दा पनि उखु उत्पादक किसानका माग सम्बोधन नभए माइतीघर मण्डलामा धर्नामा बस्ने निर्णय गरी जिल्ला केन्द्रित आन्दोलन स्थगित गरिएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार सरकारले बुधबार चालु सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल सरकारी अनुदान ७० रुपैयाँसहित छ सय ३५ रुपैयाँ तोकेको भए पनि उखु उत्पादक किसानले असहमति जनाएका छन् ।

चिनीमा वृद्धि भएको मूल्यलाई आधार मानेर उखुको मूल्य प्रतिक्विन्टल सात सय ५० रुपैयाँ कायम गर्न उखु उत्पादक किसानले माग गरिरहेको उनले बताए ।उखु किसान संयुक्त संघर्ष समितिले घोषित अनुदानको रकम उखु उत्पादक किसानले उखु बिक्री गरेको कति समय पछि पाउने भन्ने सुनिश्चितता गर्न माग गरेको उखु किसान अगुवा ताराराज पन्त (अर्जुन)ले बताए । उनका अनुसार सरकारले उखुको मूल्य तोक्दा अनुदान रकम तोके पनि वर्ष दिन बित्दासमेत अनुदान रकम उखु उत्पादक किसानले नपाउने गरेका कारण उखु उत्पादक किसान आन्दोलित हुनु परेको हो ।

जिल्लाका उखु उत्पादक किसानले गतवर्ष बिक्री गरेको उखुको अनुदानबापतको ५२ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ भने चालु सिजनका लागि उखुको प्रतिक्विन्टल मूल्य सात सय ५० रुपैयाँ कायम गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button