
उपमहानगरपालिकाको २०७९ असार ३२ गते सम्मको लेखापरीक्षणमा कार्यालय प्रमुखका रुपमा कार्य गरेका पूर्व प्रमुखहरू रत्ननेश शशि, विनोद कुमार खड्का, प्रद्युम्न प्रसाद उपाध्याय र कार्यरत लेखा प्रमुख नन्द कुमार झाको संयुक्त नाममा ११ करोड ३५ लाख ४ हजार ६ सय ९६ रुपैयाँ बेरुजु रहेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाका कार्यालय प्रमुख, कर्मचारीसम्मका नाममा करोडौँ रुपैयाँ बेरुजु तथा पेश्की बाँकी देखिएको छ ।
उपमहानगरपालिकाको २०७९ असार ३२ गते सम्मको लेखापरीक्षणमा कार्यालय प्रमुखका रुपमा कार्य गरेका पूर्व प्रमुखहरू रत्ननेश शशि, विनोद कुमार खड्का, प्रद्युम्न प्रसाद उपाध्याय र कार्यरत लेखा प्रमुख नन्द कुमार झाको संयुक्त नाममा ११ करोड ३५ लाख ४ हजार ६ सय ९६ रुपैयाँ बेरुजु रहेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । भिभिन्न मितिमा कार्यालयमा रहदा कुन कार्यालय प्रमुखको पालामा कति रकम बेरुजु रहेको भन्ने चैँ लेखा परीक्षण प्रतिवेदनले प्रष्ट पारेको छैन ।
यसैगरी, म्याद ननाघेको पेश्कीमा विकोइ नरनसिंह जेभी र गौरी पार्वती –महतो जेभीका नाममा १ करोड २३ लाख रुपैयाँ उल्लेख छ । जेभी र गौरी पार्वती फछर्यौटले भानुचोकमा रहेको उपमहानगरपालिकाको जग्गामा सार्वजनिक सेवा प्रवाह भवन निर्माण (बहुवर्षीय) को लागि ७८ लाख फछर्यौट गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, गौरी पार्वती–महतो जेभीले दीर्घ सागर पोखरी सौन्दर्यकरण (बहुवर्षीय)का लागि लिएको ४५ लाख रुपैयाँ फछर्यौट गर्न बाँकी रहेको देखिएको छ ।
उपमहानगरपालिकालाई म्याद ननाघेको पेश्की सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५२ मा पेश्की रकम विवरण तयार गरी म्याद नाघेको र म्याद ननाघेको छुट्टाछुट्टै अभिलेख राखी एकीकृत लगत तयार गर्न निर्दिष्ट गरिएको छ ।
आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षणले कर्मचारी तथा संघसंस्था, फर्म, उपभोक्ता समिति एवम् व्यक्तिसहित ६९ विभिन्न शीर्षकमा रहेको म्याद नाघेको पेश्की २ करोड ७ लाख ३५ हजार ८ सय ५३ रुपैयाँ रहेको देखाएको छ भने पेश्की फछर्यौट सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५० मा पेश्की दिइएको रकम तोकिएको म्यादभित्र फछर्यौट गर्न पेश्की लिने दिने दुवैको कर्तव्य हुने उल्लेख गर्दै उपमहानगरपालिकालाई लेखा परीक्षण प्रतिवेदनले निर्देश गरेको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७९ अनुसार जनकपुरधाम उपमहानगरपालिकामा आर्थिक वर्ष सम्म १ अर्ब ५ करोड ६३ लाख २७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ मा ३४ करोड १५ लाख ९० हजार रुपैयाँ बेरुजु फछर्यौट गरेर आर्थिक वर्ष २०७८–७९ सम्ममा अद्यावधिक गर्दा ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
धनुषाका कमला नगरपालिका र धनौजी गाउँपालिकाबाहेक १६ पालिकामा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिबाट ६ अर्ब ६७ करोड ७ लाख ५० हजार रुपैयाँ बेरुजु असुल गर्नु पर्ने महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले देखाएको छ ।






