
मधेशदृष्टि
वीरगंज ।
पर्साको ग्रामीण क्षेत्रमा रासायनिक मल अभाव भएपछि किसानहरु मारमा परेका छन् । पालिकाले वडामा निर्धारण गरेको मलको परिणामले किसानका लागि अपुग भएको छ । गहुँ तथा मुसुरो छर्न ढिलाइ भएको छ । ६ सय देखि १ हजार २ सयसम्म घरधुरी रहेको वडामा ५० देखि १ सय बोरा मल पुग्दा किसानहरु सास्तीमा परेका हुन् ।
स्थानीय सहकारीहरुले कोटा निर्धारण गरे पनि मल बाँड्न सकिरहेका छैनन् । बाली लगाउने बेलामा मल नपाइएपछि अनाज किनेर खानु पर्ने समस्या बढिरहेको छ । पर्साका ग्रामीण भेगमा किसानले मल नपाएपछि भारतको सिमावर्ती बजार सिक्टा, भेलवा, ईनरर्वा, मैनाटाड र रक्सौल पुगेर ब्लाकमा मल किनिरहेका छन् ।
‘किसानलाई समयमा मल पुग्न सकेको छैन नि ?’ मधेशदृष्टिको प्रश्नमा मंगलबार साँझ कृषि मन्त्री गोविन्द प्रसाद न्यौपानेले भने, ‘म बुझ्छु, त्यस्तो भएको छ र ?’ पर्साका केही राजनीतिकर्मी कृषिमन्त्रीप्रति व्यंग्य गर्छन्, ‘मन्त्रीज्यू पूर्वी भूगोलको पर्नुभयो, त्यता धान भित्र्याउनै बाँकी छ, यता पर्सातिर धान काटेर अरु बाली लगाउने बेला भएको मन्त्रीज्यूलाई थाहा नहुन पनि सक्छ !’






