
मधेशदृष्टि
काठमाडौँ ।
पर्सा मिलन केन्द्र काठमाडौँले आफ्नो २३औँ स्थापना दिवस पारेर पत्रकार ध्रुव साहलाई सम्मानित गरेको छ । रेडियो वीरगंज, टिभी वीरगंज एवम् मधेशदृष्टि दैनिकका कार्यकारी अध्यक्षसमेत रहेका साहलाई सञ्चारको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मिलन केन्द्रले सम्मान गरेको हो ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, कला, साहित्य, सञ्चार, विज्ञान, उद्योगलगायतका विभिन्न विद्यामा सक्रिय रहेर समाजलाई योगदान पु¥याइरहेका विभिन्न व्यक्तिलाई अभिनन्दन तथा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मानित हुने सबैलाई बधाई दिँदै सम्मानित हुने व्यक्तिको काँधमा समाजप्रति थप जिम्मेवारी बढेको बताए । उपराष्ट्रपति यादवले पर्सा मिलन केन्द्रको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समाजका लागि मिलन केन्द्रले गर्दै आएको सामाजिक कार्य सबैका लागि अनुकरणीय रहेको भन्दै प्रशंसा समेत गरे ।
उपराष्ट्रपति यादवले काठमाडौँ उपत्यका बाहिर पहिलो उच्च शिक्षा अध्ययन गर्ने थलो पर्सा जिल्लाको ठाकुरराम बहुमुखी क्याम्पस तराई मधेश लगायत सम्पूर्ण नेपालकै शिक्षाको केन्द्र रहिआएको बताए । वीरगंज एउटा औद्योगिक सहर भएको र शिक्षा र स्वास्थ्यको पनि सुविधा रहेकोले वीरगंजमा बारादेखि रौतहटसम्मका मान्छेको उपस्थिति देखिएको सुनाए ।
अहिले पनि कतिपय पर्साबासी अध्ययन, व्यवसाय र कामका सिलसिलामा काठमाडौँमा बस्दै आएकाले आगामी दिनमा मिलन केन्द्रले आफ्नो कार्यको दायरा फराकिलो बनाइ धेरै मान्छेलाई सहभागी गराएर समाजमा रचनात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति उपस्थित थिए । पर्सा मिलन केन्द्रले स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा रहेर समाजलाई योगदान पु¥याइरहेका व्यक्तिलाई सम्मान गर्दै आएको र मिलन केन्द्र आफैँ पनि सामाजिक कार्यमा सक्रिय रहँदै आएको अध्यक्ष उमेश कुमार गुप्ता (रौनियार)ले जानकारी दिए ।
शिक्षातर्फ प्राडा रामदेव तिवारी, स्वास्थ्यतर्फ स्त्री रोग विशेषज्ञ प्राडा अचला वैद्य, कलातर्फ लोकगायक सलीम अहमद, साहित्यतर्फ कवि दिनेश गुप्ता, उद्योगतर्फ ताराचन्द्र केडिया, व्यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधान, खेलकुदबाट कुस्तीका राष्ट्रिय खेलाडी कुन्दन साह तुरहा, सामाजिकतर्फ मनोज राम, सञ्चारतर्फ रेडियोकर्मी ध्रुवकमार साह तेली र विज्ञान तथा प्रविधितर्फ इञ्जिनियर चन्द्रेश्वर राई सम्मानित भएका छन् । विभिन्न ३४ जना विभिन्न विधाका दक्षलाई कदरपत्र प्रदान गरिएको हो । पहिलो मिस नेपाल रुवी राणा शाह, मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाह, एसिड आक्रमणविरुद्धकी सामाजिक अभियन्ता मुस्कान खातुन, बालविवाहविरुद्धको सामाजिक अभियन्ता रिन्कु ठाकुरलगायत सम्मानित भएका छन् ।






