
सञ्जय मिश्रा
रौतहट ।
सदरमुकाम गौरका युवकको भारत, बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ ।
वीरगंजसँगै जोडिएको भारतीय सहर रक्सौलबाट १३ किलोमिटर मोतीहारी जाने मूलसडकमा पर्ने रमगढ्वामा मंगलबार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।
रमगढवा बजारस्थित शिवशक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीका रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हानेर हत्या गरिएको अनुमान गरिएको छ।
भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम संकलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको आफन्त गौर–९ का वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उदृत गर्दै बताए ।
गोली लागेर सिंह ढलेपछि उनले संकलन गरी ल्याएको २९ लाख भारतीय रुपैयाँ समूहले लुटेर भाग्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। चार जनाको संख्यामा आएका लुटेरा समूहले सिंहमाथि गोली प्रहार गरेको थियो ।
समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो गाडी प्रहरीले घटनास्थलबाट बरामद गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै, मृतकको शव मंगलबार साँझ पीडित परिवारको जिम्मा लगाइएको तथा थप अनुसन्धान भारतीय प्रहरीले गरिरहेको जानकारी दिए ।






