

जनकपुरधाम उपमहानगरपालिका–१ कि रामपरीको उमेर ६५÷६६ वर्ष पुगे जस्तो देखिन्छ । वडा कार्यालय नजिकै रेलवेको जग्गामा छाप्रो हालेर जीवनयापन गरिरहेकी रामपरीका पति सिंहेसर मेस्तरको एक वर्ष अगाडि मृत्यु भयो । लगत्तै छोरा बब्लुको पनि मृत्यु भयो ।
समान्य वर्षामा पनि छाना चुहिने र धेरै वर्षा हुँदा छाप्रोभित्रै भेल आउने समस्या रामपरी परिवारको लागि समान्य लाग्न थालेको छ । प्रदेश सरकारले दलितमध्ये पनि तोकेरै चार वटा जातजातिलाई घरविहीन रहन नपर्ने कार्यक्रम ल्याएको पाँच वर्ष बितिसक्यो । प्रदेश सरकारको योजनामा मेस्तर पनि पर्छ । तर, रामपरीले सरकारको त्यो योजनालाई चिन्दैन । सरकारले रामपरीलाई चिन्दैन ।
विपन्न दलित परिवारिकी रामपरीले उमेरको आधारमा वृद्धाभत्ता पाउनुपर्ने हो । उमेर नपुगेको भएपनि एकल महिलाले पाउने भत्ता एक वर्ष अगावैदेखि पाउँथे । तर, नागरिकता नभएकै कारण यस्ता सुविधाबाट पनि उनी वञ्चित छिन् । भन्छिन्, ‘नागरिकता पाउने धोको मात्रै होइन, बाध्यता छ । तर, म जस्तो गरिबले कसरी पाउनु नागरिकता ?’
सिफारिसका लागि वडा कार्यालयमा जाँदा माइती वडाबाट जन्म सिफारिस ल्याउन अह्राएको सुनाउँदै उनले भनिन्, ‘यदुकुहा (शहीदनगर नगरपालिका) मेरो माइती हो । त्यहाँ तीनपटक आउजाउ गनुप¥यो । सर्जमिन मुचुल्का र घुसघासमै पाँच हजार रुपैयाँ खर्च भइसकेपनि अहिलेसम्म नागरिकता भेटेको छैन ।’ त्यत्रो पैसा कहाँबाट जोहो गरेको भन्ने जिज्ञासामा उनले बुच्चो नाक, कान देखाउँदै भनिन्, ‘यी नाकको फुली र कानको बाली यदुकुहाकै राजकिशोरको सुन पसलमा बन्धकी राखेर दुई हजार लिएँ, सबै पैसा त्यहीँ खर्च भयो ।’
रामपरी र बुहारी अनिताले सडक किनार र नगरको फोहोरबाट पानीको पुरानो बोतल संकलन गरी बेचेर आउने पैसाले सात जनाको परिवार धानिरहेका छन् । रामपरीका पति सिंहेसर र छोरा बब्लु (अनिताका पति) एक वर्ष अगाडि सामान्य रुघाखोकी लागेर उचित उपचारको अभावमा एकै वर्ष दुवैले प्राण त्यागे ।
बब्लुका चार छोरी र एक छोरा छन् । छोरीहरु १५ वर्षीया वारुद, १२ वर्षीया कल्लो, १० वर्षीया शुभम्, ८ वर्षीया शिवानी र छोरा ६ वर्षीय ओम दिनभर टोल–सडकमै खेलेर समय बिताउँछन् । विद्यालय किन नगएको भन्ने प्रश्नमा जेठी वारुद भन्छिन्, ‘स्कुलमा जन्मदर्ता माग्छन्, त्यो नभएर हामी कोही पनि स्कुल जाँदैनौँ ।’ वडा कार्यालयको अगाडिमै रेलवे स्टेशन परिसरमा बस्ने उनीहरुको आधाभन्दा बढी समस्या त्यहीँ वडा कार्यालयबाट समाधान हुने हो । तर, उचित पहलको अभाव र उनीहरुमा सामान्य कानुनी ज्ञान नहुँदा भविष्य नै अन्धकारमा परेको छ ।
बच्चालाई जन्मदर्ता गराएर विद्यालय पठाउन के समस्या भयो ? मधेशदृष्टिको प्रश्नमा मेस्तर समुदायका अगुवा इन्द्रजीत मेस्तर भन्छन्, ‘आमाकै नागरिकता छैन अनि छोराछोरीको जन्मदर्ता कसरी बन्छ ?’ नगरसफाइमा बाउको ज्यान गयो, छोरालाई वडाले पनि चिनेन
जनकपुर नगरपालिकाको फोहोर सफाइ गर्दागर्दै भोलबा मेस्तरको मृत्यु भयो । भोलबाको मृत्यु हुँदा छोरा श्रवण ३ वर्षका थिए । आज उनी ३१ वर्षका भइसके । कानुनले दिएको अधिकारलाई उपयोग गरेको भए १५ वर्ष अगावै उनले नागरिकता प्राप्त गरिसकेका हुन्थे । तर, अहिलेसम्म जन्मदर्ता प्रमाणपत्र पनि पाएका छैनन् श्रवणले ।
एक दुई होइन, तीन छोराछोरीका बाबु भइसके श्रवण । ‘छोराछोरीको जन्मदर्ता भयो ?’ मधेशदृष्टिको प्रश्नमा प्रतिप्रश्न गर्दै श्रवण भन्छन्, ‘आफ्नो जन्मदर्ता गराउन वडा कार्यालय धाउँदाधाउँदै थाकिसकेँ । मेरै जन्मदर्ता नगरिदिने वडा अध्यक्षले मेरा छोराछोरीको गरिदिन्छन् त ?’
हुन त अहिलेको कानुनमा नयाँ जन्मेका बच्चाको जन्मदर्ता गर्न बाबु, आमाको जन्मदर्ता वा नागरिकता अनिवार्य हुनुपर्ने बाध्यात्मक व्यवस्था छैन । श्रवणलाई यो विषयमा जानकारी पनि छैन । कानुनले जोसुकै र जहाँसुकैका महिलाले पनि नेपालमा बच्चाको जन्म दिएको अवस्थामा तत्काल सम्बन्धित वडा कार्यालयमा जन्मदर्ता गर्न सुविधा दिएको छ । यहाँसम्मकि, ‘कुनै बच्चा लावारिस छ भने वडा अध्यक्ष स्वयम् सूचक बसेर पनि ती बच्चाको जन्मदर्ता गरिदिनु’ भनेर कानुनले भनेको छ । तर, व्यवहारमा त्यस्तो देखिएको छैन ।
‘म सानै छँदा मेरा आमा र बाबुको मृत्यु भयो । मलाई त्यतिबेला जन्मदर्ता गराउनुपर्ने बोध थिएन, अरु कसैलाई मतलब थिएन,’ श्रवण भन्छन्, ‘सफाइ कर्मचारीका रुपमा पनि काम पाउन नागरिकता खोज्न थाल्यो, प्रक्रियामा गएपछि जन्मदर्ता नै नरहेको थाहा पाएँ ।’ एकथान नागरिकता प्रमाणपत्र भइदिए आफूलाई जागिर खान र बालबच्चाको जन्मदर्ता गराउन सहज हुने अपेक्षा उनको छ । तर, यसका लागि कहाँ जाने, कसलाई भेट्ने जानकारी नहुँदा बेसहारा भएको अनुभूति गरिरहेका छन् उनले ।
‘सर, तपाईंलाई पनि धर्म हुन्छ मलाई नागरिकता दिलाइदिनु भयो भने,’ संवाददातासँग श्रवणले गुहार लगाए, ‘मैले एकथान नागरिकता पाउने बित्तिकै मेरा लालाबालाको पनि भविष्य सुरक्षित हुन्छ ।’ आर्थिक रुपमा सबल नरहेपनि उनलाई चिन्ता छैन । दिनभर काम गरेपछि साँझ र बिहान जहान पाल्ने चिन्ता नरहेको उल्लेख गर्दै उनले भने, ‘मेरो बुवा भोलबा मेस्तरको नागरिकता महोत्तरीको भ्रमरपुरा गाउँबाट र आमा रधियादेवी मेस्तरको जनकपुरकै कुवारामपुरबाट बनेको थियो । म जन्मिनुभन्दा अगाडि नै घर डुबानमा परेको बेला बाढीले आमाबाबुको नागरिकता बगाइदियो । म सानै छँदा आमाबाबुको पनि मृत्यु भयो । अब म यो देशको नागरिक कसरी बन्ने ?’






