
सम्पादकीय
लागुऔषधको डरलाग्दो लत
वीरगंजको बदनाम कसैले गरिरहेको छ भने लागुऔषधले गरिरहेको छ । उसो त लागुऔषध सेवन गरेर वीरगंजको बदनाम भएको पनि होइन । अनि लागुऔषध बेचेर पनि वीरगंजले बदनामी कमाएको होइन । तर मधेश प्रदेशमै वीरगंज लागुऔषधको ट्रान्जिट भइरहेको छ । वीरगंज लागुऔषधकै कारोबारसँग जोडिएर लगातार बदनामी कमाउन बाध्य छ । न यहाँकाले सेवन गरेका कारण, न बेचेका कारण वश यही बाटो भएर ठूलो मात्रामा लागुऔषध ओसारपसार भइरहेका कारण । लागुऔषध ओसारपसारको रुप पनि कति फेरिएको ? हुँदाहुँदा शरीरमा टेप बेरेर लागुऔषध भरियाले लागुऔषध वारपार गर्न थाले । सिन्धुलीमा भेटिए दुई जना । पर्सामा ४ जना । सबै पर्सा र वीरगंजसँग जोडिएका । कोही यताबाट गाँजा उता लैजाँदै गर्दा । कोही भारतीय बजारबाट लागुऔषधका ट्याब्लेट बोकेर यता आउँदै गरेका । लागुऔषध ओसारपसारमा पर्साको ग्रामीण नाकासँगै वीरगंज बजारबाटै पनि पैदल हिँड्नेहरुले गरिरहेको धन्दाले वीरगंजलाई कहिले छाड्ला ? चिन्ता बढी चिन्तन कम भएको पनि हुन सक्छ ।
खासमा बुझ्नु पर्ने विषय हो, लागुऔषध गइरहेको छ कहाँ ? हेटौँडा, नारायणगढ, पोखरा, काठमाडौँ उपत्यका । अलिअलि काभ्रेसम्म पुगेको छ । खाइरहेका छन् कसले ? कलेज पढ्ने युवा किशोर पुस्ताले । घर छाडेर सहरमा पढ्न बसेकाहरुले । धनीमानीका छोराछोरीले । नेता, जनप्रतिनिधि र कर्मचारी, प्रहरीकै पनि सन्तानहरुले । अब प्रश्न उठ्छ, यसको कारोबार गरिरहेको छ कसले ? हो, यही प्रश्नको उत्तर खोज्न प्रहरी किन चाहँदैन ? खाने थाहा छ, किन्ने थाहा छ, बोक्ने थाहा छ भने बेच्ने वा ‘सेन्टर कलेक्सन’ चलाउनेहरुसम्म प्रहरी किन पुग्न सक्दैन ? सुरुमा लहलहैमा लागुऔषधको सेवन गराएर लत बनाएपछि उसैलाई भरिया र पछि व्यापारी बनाउने काममा लागुऔषधका ‘सेन्टर कलेक्सन’ चलाउनेहरु किन प्रहरीको नजरमा पर्दैनन् ? थोरै खर्चमा ज्यान जोखिममा राखेर, मासुमा टेप टाँसेर हिँड्नेहरुको मात्र धमिलो जिन्दगीका तस्बिर किन बाहिर आइरहेको छ ? उनीहरुलाई त्यो काममा लगाउनेहरु खोज्नु प्रहरीको दायित्व होइन ? लागुऔषधरहित समाज बनाउने काम त प्रहरीकै हो । उसका अनेक सचेतना कार्यक्रमहरु पनि छन् । बजेट छन् । तर बाटोमा गाँजा भेटिन्छ, कारोबारी भेटिन्न । दुई अढाइसय ट्याब्लेट बोक्ने भेटिन्छन्, बोक्न लगाउने किन भेटिन्न ? यो प्रश्नको उत्तर खोज्न प्रहरी नलागेकै हो कि त ?

लागुऔषधमुक्त समाज बनाऔँ भन्नेहरुकै सन्तान बढी लागुऔषध सेवन गरिरहेको पाइएको छ । धनीमानीका छोराहरु मात्र होइन छोरीबुहारीहरु कुलतमा फसेका छन् । अभिभावकको माया नपाउनेहरु कुलतको सिकार भएका छन् । अभिभावकले निर्धक्क छाडेका सन्तानहरु र उनीहरुको संगतले लागुऔषध सेवन गर्नेहरुको जमात बढ्दो छ । लागुऔषधको जालो यस्तो फैलिएको छ कि, एउटै परिवारको दुई पुस्ता यसको लतमा फसेको पाइएको छ । यसले समाजमा अनेक अपारधका घटनाहरु निम्त्याइरहेका छन् । लागुऔषधको लत लागेपछि मर्न र मार्न तयार पुस्ताले परिवारको सपना पनि हत्या गरिरहेको छ । यसैले लागुऔषध बरामदका समाचार र एकाध भरियाको तस्बिर हेरेर मख्ख नपरौँ । तपाईं हाम्रो घरैसम्म यसले ‘कनेक्सन’ बनाइसकेको छ । सावधानी अपनाऔँ । सन्तानको ख्याल गरौँ । प्रहरीले भरिया र लागुऔषध मात्र समात्ने भएकाले ‘सेन्टर कलेक्सन’ चलाउनेहरुले तपाईं हाम्रा सन्तानलाई अबको ‘टार्गेट’ बनाउन सक्छन् !






