‘वैभव’का जनक

[mashshare]

–रामकुमार एलन

हेर्दाहेर्दै वरिगंज बदलियो । वीरगंजसँगै वीरगंजबासीका आनीबानी बदलिए । शैली बदलिए । दृश्य पनि बदलियो । समय नदिने घण्टाघर समय बताउन थाल्यो । ठुस्स गन्हाउने वीरगंज सफा हुँदै गयो मानौँ उमेर पुगेकी षोडसीको तनमा बढेको मादकतासहितको सुन्दरता झैँ वीरगंज एकाएक फेरियो । वीरगंजको काया उज्यालो देखिन थाल्यो । नाला सफा हुन थाले । गन्ध हट्दै गयो । साँझ विदेशी सहर झैँ झिलिमिली हुन थाल्यो । यो झिलिमिली अझै थपिन जरुरी छ ।

चिया पसल होस् सत्तु पिउने ठाउँ । पार्क होस् या मन्दिर । छिन्द्रिङछिन्द्रिङ साइकलको घण्टी बजाउँदै हिँडेका हुन् या मोटरकारमा सवार । सबैले देखिने, अनुभूत हुने परिवर्तन देखे वीरगंजमा पछिल्लो १ वर्षमा । वीरगंज महानगरपालिकाले गरेको यो प्रयासमा पक्कै सबैले गफ गर्ने मेलो पाएका छन् । चाहे भने फरक गर्न सक्दारहेछन् त है ! हो, बदलिएको वीरगंजले काठमाडौँजसरी हल्ला गर्दैन । धरानले जसरी टिकटकमा लाइभ गरेर पनि बस्दैन । आफ्नै गतिमा लुरुलुरु वीरगंज दौडिरहेको छ ।

वीरगंज दौडाउने एउटा हुटुहुटी बोकेका पात्र हुन् मेयर राजेशमान सिंह । मधेशीको सहरमा पहाडिया मेयर । सबैले झट्ट चिन्दा यही भन्छन् । तर पछिल्लोपटक मेयर सिंहले हरेक सम्बोधनमा भन्ने गरेको एउटै शब्द छ, ‘वीरगंजको वैभव अभियानमा साथ चाहियो ।’ उनी भनिरहन्छन्, ‘वैभव वीरगंज बनाउने अभियानमा छु ।’

कहिले फोहोरको डम्फर टेलिकमतिर लगेर फोहोर फालिदिन्छन् । कहिले मालपोतका हाकिमका कमजोरी खोजेर कागज गर्न बाध्य पार्छन् । अदालतको फैसला आउनुअघि नै मन्दिर भत्काउने भनेर डोजर लिएर तैनाथ हुन्छन् । यही हप्ता पनि द क्लासिक होटलको जरोकिलो नरहने गरी पाँच वटा डोजर परिचालन भयो । शिक्षाको उज्यालो छर्ने तर वीरगंजको नाला कब्जा गर्ने हरिखेतान क्याम्पसको संरचनामा पनि ‘राजेमानको आदेश’ अनुसार डोजर दौडियो । लाग्छ, विकास र सुशासनमा पनि ‘अराजकता’ स्वीकार्य हुँदोरहेछ । राम्रो कामका लागि देखाइने अराजकता त ‘पपुलर’ हुँदोरहेछ । जुन राजेशमान आर्जन गरिरहेका छन् ।

बिहानै महानगरस्थित मेयरको कार्यकक्षमा उजुरी र गुनासोको चाङ खोतल्नेबाट सुरु हुन्छ । त्यसपछि कहीँ कतै रिबन काट्ने, बत्ती बाल्ने, दीप प्रज्ज्वलन गर्ने निम्तोहरुमा पनि पुगकै हुन्छन् । अहिले बदलिएको वीरगंजको श्रेय राजेशमानको नाममा ‘ट्रेड मार्क’ रहने भयो भन्ने धेरै राजनीतिक अनुहारहरुलाई परिरहेको छ । सबै चिनिएकै छ । नचिनिएको को छ र ? राजेशमान सिंह आफ्ना गुरुको कथा सुनाउँछन्, ‘क्राइस्टले क्रुसमा झुन्डिनु प¥यो । सबै देवताहरु लखेटिए । राजेशमान सिंह कुन खेतको मूला हो र जोगाउँछन् ?’ दुनियाँ कुरा काटुन् कि प्रशंसा गरुन् । वैभव वीरगंज बनाउने अभियानमा मेयर कहिले डोजरसहित हुन्छन्, कहिले हरिया पोशाकका नगरप्रहरीसहित । उनैले भन्ने गरेको वैभव वीरगंजकै नाममा हामीले शनिबार मधेश प्रदेशको वैभवको सपाट दृश्यहरु पस्कने प्रयार गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button