ब्रिगेडियरको छोरीज्वाइँलाई ‘बाँध्यो वीरगंजको मायाले’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

पतिः पशुपति विक्रम शाह । पत्नीः उषा शाह । वीरगंज मात्र होइन मधेश र देशमै नाम चलेको वीरगंजको सम्झना होटल । हो, यही होटलमा सञ्चालक हुन् शाह दम्पती । अर्थात् ‘वीरगंजका राजासाहेब–रानीसाहेब ।’

बारा, पर्सा, रौतहट मात्रै होइन, देशमा जानेमानेको नमूना र आदर्श जोडी शाह दम्पती विवाहबन्धनमा बाँधिएको ६१ वर्ष भयो । यो ६१ वर्षमा एकदिन दुल्हन फर्काउन उषा माइत गएपछि आजसम्म छुटेका छैनन् जोडी । बढीमा एक घण्टा सँगै नहोलान् र तर हमेसा राजा रानीसँग, रानी राजासँग ।

९० वर्षीय शाह वीरगंजकै हुन् । ७६ वर्षीय उषा काठमाडौँ थापाथलीमा जन्मिएकी । अझ राजा महेन्द्र शाहले पूर्वपश्चिम महेन्द्र राजमार्ग विस्तार गर्न लागेका बेला त्यसका कमाण्डर बनाइएका थिए ब्रिगेडियर बलदेव शमशेर जबरा । उनका आठ छोरीमध्ये एक हुन् उषा ।

हेर्दा स्वस्थ देखिने दुवैमा सुगर र प्रेसरबाहेक अरु कुनै रोग छैन । औषधी खाइरहेका छन् । दुई छोरा र एक छोरी छन् उनीहरुको । जेठो छोरा सम्झना होटलका सञ्चालक छन् । कान्छा छोरा सेनाबाट अवकाश पाएपछि भैरहवामा छन् । नाति, पनाति भइरसकेका शाह दम्पतीको जोडी वीरगंजमा नमूना मानिन्छन् ।

‘वीरगंजको मायाले हो यस्तो हिँड्न सकेको, तागत आयो नि,’ उषा भन्छिन्, ‘खुशी लाग्छ । सबै काठमाडौँ आऊ भन्छन् तर वीरगंजको जस्तो माया त्यहाँ कहाँ पाउँछौँ र ? हामीलाई वीरगंज छाड्न मनै छैन ।’ ‘बच्चैदेखि चुप लागेर बस्न मन नलाग्ने स्वभावकी थिएँ, १४ लाग्दै थिएँ,’ उषाले विगत सम्झिइन्, ‘उहाँ थापाथलीमै नजिकै घरमा राज हुन्थ्यो, मलाइ हेरिरहनु भएको रहेछ ।’

‘अब यसलाई लभ त भनिदैँन होला, तर अहिले हो भने हाम्रो विवाह हुन्थेन, कानुनले कारबाही पो गथ्र्यो,’ पशुपतिले सुनाए, ‘त्यत्रा स्टाफ हुँदा पनि हिँडिरहने, खाना पकाउने यो केटी कस्तो हो भनेर चासो लिँदालिँदै ब्रिगेडियर साबको ज्वाइँ भइयो ।’

पशुपति वीरगंज, श्रीपुर–५ मै जन्मिएका हुन् । जन्मेको घर अहिले पनि भाडामा छ । एकसय वर्ष पुरानो भयो त्यो भवन । उनले पटनामा पढे । भारत स्वतन्त्र हुनुभन्दा अगाडिको कुरा सुनाए, ‘वीरगंजबाटै एसएलसी गरेँ । भारतबाट बिकम गरेँ । त्यसबेला प्रेम भन्ने कुरा हुन्थेन, मुलुकी ऐनले मलाई १३ वर्षमै प्रेम गर्ने विवाह गर्ने भनेर कारबाही हुन्थ्यो कि, ८ दिदीबहिनीबाट उसलाई टिपेको हुँ । विवाहको एकवर्ष काठमाडौँ बसेँ । युएसएडमा काम गरेँ । १५ वर्षपछि छाडेँ । अहिले पनि अमेरिकी अफिसबाट भत्ता खान्छु, मल्टिपल भिसा छ । उसलाई यहाँ ल्याएर यतै बसेँ, काठमाडौँले तान्नै सकेन, अमेरिका त परको कुरा भयो ।’

‘महेन्द्र सरकारका पालामा पूर्वपश्चिम राजमार्गको हेड होइसिन्थ्यो ब्रिगेडियर साहेब, २०२४ सालमा हामीले होटल खोलेका हौँ,’ पशुपतिले भने, ‘नेपाल रेल्वे चल्दा एउटा होटल हिमालय भन्ने थियो । त्यसपछि हामीले सम्झना होटल चलाउन थाल्यौँ । चारवटा कोठा लिएर सुरु गरेका हौँ, अहिले सम्झना होटल भनेपछि सबैले चिन्छन् ।’

‘वीरगंज छाड्नै सकिएन, यहाँको सम्मान र मायाले हामीलाई बाँच्न सिकायो, अब त यहीँ बस्ने हो, बाचुन्जेल,’ पशुपति थप्छन्, ‘आन्दोलनले धेरै पलायन भए, पहाडी समुदाय भागे । केही दबाब हामीलाई पनि आएको हो भगाउनु पर्छ भनेर, तर पुरानो बुढापाका मधेशी समुदायले नै हाम्रो पक्षमा बोलिदिए, उहाँहरुले अन्याय गर्नु भएको छैन भनेर हामीलाई पुराना मधेशी समुदायले नै जोगाए ।’ पशुपति सम्झन्छन्, ‘माओवादीकालमा पनि होटलमा सुतली बम पड्काउन आदेश भएछ तर स्थानीय माओवादीले उहाँहरुबाट केही बिगार भएको छैन, नबिथोलौँ भनेर हामीलाई सम्मान नै दिए र वीरगंज छाड्नै सकिएन ।’

‘एक क्रेट अण्डा ७ रुपैयाँमा आउँथ्यो, २ रुपैयाँ किलो चिनी थियो,’ उषाले सम्झिइन्, ‘राजा सामाजिक कार्यमा व्यस्त, जहाँ पनि बोलाएको ठाउँमा पुगेका छौँ । बोलाएको ठाउँमा गए माया पाइन्छ । वीरगंजकै माया लागिरहन्छ ।’ उनी सुनाउँछिन्, ‘फोन आउँछ, वीरगंजको राजारानी हजुरहरु हो, छाडेर नजानुहोस् नै भन्छन् । काठमाडौँमा हामीलाई कसले चिन्छ र ? यस्तो सम्मान कसले दिन्छ र ?’

९० वर्षीय पशुपति राति १० बजे रेडियोमा समाचार सुनेर सुत्छन्, बिहान ७ बजे उठेर रेडियोमै समाचार सुन्छन्, अनि योगा गर्छन् । ‘४० वर्ष भयो, कुर्सीमा बसेर काम गरेँ, भूइँमा बस्न सक्दिनँ, वीरगंज छाडे बाँच्ला जस्तो लाग्दैन,’ उषा सुनाउँछिन्, ‘वीरगंज छाड्ने कल्पना पनि छैन । बिहान उठेर पूजापाठ गर्छु, चिया बनाएर खान्छु ।’ दिउँसो होटलको गेस्टहरुसँग कुराकानी गर्ने, विगत सम्झनेमै दिनचर्या बित्छ । दैनिक २ वटा त कार्यक्रममा पुग्न निमन्त्रणा आएकै हुन्छ ।
‘बुद्धको शान्ति, शान्तिको देश, अहिले मारकाटको देश जस्तो भयो,’ राजपरिवारसँग पनि निकटता रहेका पशुपति भन्छन्, ‘जनतामा वितृष्णा धेरै देखिन्छ । उतारचढाव देखिन्छ, हत्पत्ति देशमा शान्ति होलाजस्तो लाग्दैन । विदेशीको गिद्धेदृष्टि छ । युरेनियम, खानीमा ठूला देशको, विदेशीको आँखा लागेर हो यस्तो भइरहेको ।’

‘हाम्री नातिनी हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । हिरोइन छे, २० वटा फिल्म खेलेकी छे,’ उषाले भनिन्, ‘झगडा हुन्छ, एकवर्षमा एकदुई पटक हुन्छ, एक घण्टा पनि नबोली बस्न सकिन्न । उहाँ नै फकाउनु हुन्छ, सामान सोध्दै आउनुहुन्छ । मैले पनि आजसम्म एकदिन मात्रै माइती बसेर राजाकै सेवा गरेँ नि त ।’

पशुपति जेसीज, रोटरी, लायन्सलगायतका सामाजिक संस्थाका वीरगंजमा संस्थापक हुन् । ‘बिमल श्रीवास्तवका पालामा नारायणी स्टेडियम बनायौँ, घण्टाघरको घडी बाहिरबाट ल्यायौँ,’ पशुपतिले सुनाए, ‘अहिले नारायणी स्टेडियम जस्तो छ, देशको हालत पनि उस्तै छ ।’

उनले सुनाए, ‘त्यतिखेर शरच्चन्द्र शाहको खेलकुदमा एकलौटीजस्तै थियो, लक्ष्यबहादुर गुरुङ अञ्चलाधीश थिए, जेलखानाको सबै कैदीलाई ट्रकमा हालेर ल्याएर श्रम गराएर स्टेडियम बनाइएको हो ।’ २० बिघामा स्टेडियम, कभर्ड हर्ल, होस्टल राख्ने, स्विमिङ पुलको त्यतिखेरै योजना थियो । उनी भन्छन्, ‘छतबाट सिमेन्ट झरिरहेको देख्छु र सम्झन्छु, खण्डहर बताती हे कि इमारत बुलन्द होना चाहिए ।’ यतिखेर अञ्चलाधीश लक्ष्यबहालुर गुरुङले भनेका थिए, ‘जग्गाजमीन जोड्नू ।’ आफ्नो पुस्तौनी छदैँथियो । थप जोड्न मन लागेन । पैसा कमाउन पर्छ जस्तै लागेन । उनले सुनाए, ‘हीरामोती खाने होइन, दालभात रोटी खानलाई पुगेकै छ ।’

पशुपतिले पूर्वराजा ज्ञानेन्द्र शाहसँगका सम्झना सुनाए, ‘सरकारमा हुँदा उहाँ दुईपटक सवारी भइसक्यो, परिवार नै सवारी भयो । ब्रेकफास्ट र लन्च व्यवस्था गरिदिनु भन्नुभयो । डेरीको दूधको खोज्नु है भनेर राति ९ बजेतिर फोन आएको थियो ।’ भोलिपल्ट आर्मी आएर छामछुम गर्न थालिहाले, हाम्रो पारिवारिक नाता नजिक भए पनि सरकारको सवारी न थियो ।’ उनले सुनाए, ‘लञ्चपछि बडामहारानीबाट पानको हुकुम भयो । हतारहतार माइस्थानबाट पान ल्याएर महारानीलाई दियौँ ।’ उनले सुनाए, ‘पछि सिमरामा पनि बोलावट भयो । गफगाफ भयो । बगैँचामा सरकार र म मात्रै बसेर आधाघण्टा गफ ग¥यौँ ।’

अहिले विवाह र सम्बन्ध विच्छेदको बाढी चलेको बेला छ । पशुपति सुझाव दिन्छन्, ‘पकाइदिन्छ उसैले । हेर्छ उसैले, ए नून किन चर्को भन्नुको साटो सभ्य बोलीमा तिमीले बनाएको खाना त भएन नै है भन्यो भने झगडै पर्दैन नि, सम्बन्धमा मिठास रहन्छ, सहनै सक्तैनन् अचेलका पुस्ता ।’

पशुपतिले वीरगंजमा मन पर्ने दुई नेतामा बिमल श्रीवास्तव र वर्तमान मेयर राजेशमान सिंहको नाम लिए । भने, ‘बिमलको पालामा त्यही किसिमको परिस्थिति थियो, अहिले युवा पुस्तामा राजेशमानजीले नयाँ उचाइ बनाउनु भएको छ ।’ दुई मिलनसार साथीको नाममा पशुपतिले भने, ‘उटा साथी ध्रुव साह, एउटा जीवन साथी उषा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button